|
फाइल तस्बिर

पोखरा :  मनास्लु पदमार्गको पुङ्गेन क्षेत्रमा रहेको जंगलमा आगलागी हुँदा त्यहाँ रहेका जीवजन्तु  सखाप भएका छन्।

टुरिस्ट गाइडले चुरोटको ठुटो फाल्दा मनास्लुको फेदीको सामाउँको एक मात्र जंगलमा आगलागी भएको हो। आइतबार दिउँसोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको स्थानीय मिङ्मार लामाले जानकारी दिए। ‘गाइडले चुरोटको ठुटो फालेछ। आगो सल्कियो,’ उनले भने, ‘बाउबाजेको पालादेखि जोगाउँदै आएको जंगल सखाप भयो। जंगलमा रहेका मृग कस्तुरी, डाँफेहरू सबै सखाप भए। आगो नियन्त्रण बाहिर छ। निभाउन जान सकिँदैन।’

चुरोटको ठुटो फाल्ने टुरिस्ट गाइडलाई गाउँलेले नियन्त्रणमा लिई सामागाउँ प्रहरी चौकीमा बुझाएको उनले बताए। ‘टुरिस्ट गाइडले चुरोट खाएर ठुटो जंगलमा फालेपछि आगो सल्केको रहेछ,’ लामाले भने, ‘हिजो आइतबारदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। गाउँलेहरुले हिजोदेखि आगो निभाउने प्रयास गरे पनि सकेको छैन।’ तिब्बतसँग सिमाना जोडिएको सामागाउँका एक मात्र जंगलमा आगलागी भएपछि गाउँलेहरू चिन्तित छन्।  

उक्त जंगलमा धुपी, सल्लोलगायतका बहुमूल्य जडीबुटीसमेत रहेको लामाले जानकारी दिए। उक्त गाउँ पुग्नको लागि गोरखा सदरमुकाम देखि एक हप्ताको पैदलयात्रा गर्नुपर्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.