|

काठमाडौं : महासमिति बैठक सकिएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँमा देखिएका छन्। महासमिति बैठकको पूर्वसन्ध्यासम्म दुई ध्रुवमा विभाजित भएको प्रस्ट देखिने नेताहरू बैठकलगत्तै एक ठाउँमा देखिएका हुन्।

महासमितिको बैठक सुरु हुँदासम्म देउवा र पौडेलको बोलचाल पनि राम्रो थिएन। महासमिति बैठकको उद्घाटन समारोहमा देउवा र पौडेल एउटै स्टेजमा भए पनि एकअर्काको अनुहारसम्म हेरेनन्।

उद्घाटन समारोहमा छेउमै बसेका पौडेललाई छाडेर देउवाले पौडेलको बायाँ बसेका महामन्त्री डा. शशांक कोइरालासँग गफ गरेका थिए। उद्‍घाटन कार्यक्रमको अन्त्यमा भएको हातेमालोमा पनि उनले आफू असन्तुष्ट भएको बताए।

यति मात्र होइन महासमितिको बैठक चलिरहँदा विधान मस्यौदामा सहमति जुटाउन बसेको केन्द्रीय समिति बैठकमा देउवा र पौडेलबीच चर्काचर्कीसमेत भएको थियो। गत बुधबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको केन्द्रीय समितिको बैठक असन्तुष्ट समूहका शीर्ष नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुनरसिंह केसी, डा. शेखर कोइरालालगायतले बहिष्कार गरे।

बैठकै नबसी पौडेल पनि बाहिरिन लागेका थिए। तर महामन्त्री डा.शशांक कोइरालाले उनी बसेको कोठामै लिन आएपछि पौडेल बैठक स्थल गए।

बैठक स्थलमा पनि उनले गाली खानुपर्‍यो। पौडेलले पार्टीको महाधिवेशनको कार्यतालिका पेस गरेपछि देउवाका विश्वास पात्र उपसभापति विमलेन्द्र निधिले ‘कार्यतालिका तपाईंले ल्याउने होइन’ भन्दै हप्काए। जब गत शुक्रबार विधान मस्यौदामाथि पार्टीभित्र सहमति जुट्यो तब देउवा र पौडेलबीच निकटता देखियो। बैठकको समापन समारोहमा उनीहरू एकअर्काले आफूहरूबीच ‘डिप लभ’ परेको बताए।

‘हामीसँगै संघर्ष गरेका हौँ। जेलनेल सँगै भोग्यौँ। सँगै उर्किएका मानिसबीचको इमोसनल अट्याजमेन्टले मात्र पार्टी चल्छ’, वरिष्ठ नेता पौडेलले भने, ‘इमोसनल अट्याजमेन्टले जतिसुकै विमति भए पनि रसायनको काम गर्छ।’

समापन समारोहमा निकै उत्साहित देखिएका देउवाले पनि आफूहरूबीच ‘डिप लभ’भएको बताएका थिए। ‘इमोसनल अट्याजमेन्ट त केटाकेटीको डिप लभमा सुनेको थिएँ। तर राचन्द्रजीले हामीमा पनि यो लभ भएको बताउनुभयो। हामीबीचमा पनि यो लभ छ।’

देउवा र पौडेलले यो भनेको भोलिपल्ट सोमबार नै उनीहरू सँगै देखिएका छन्। महासमिति बैठकअघिसम्म बोलचालका लागि पनि मध्यस्तकर्ता चाहिने यी दुई नेता सोमबार भने एक ठाउँमा देखिए। महासमिति बैठक सकिएपछि देउवाले आफ्नो निवास बूढानीलकण्ढमा आयोजना गरेको चियापानको निम्तोलाई सहजै स्वीकार गरे।

करिब दुई घण्टासम्म चलेको चियापान कार्यक्रममा सापति देउवा, वरिष्ठ नेता पौडेलसँगै पार्टी पदाधिकारी र करिब ४० जिल्लाका सभापतिको उपस्थिति रहेको नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए।

देउवा र पौडेलले जिल्ला सभापतिहरूलाई एकताको सन्देश लिएर गाउँगाउँमा संगठन विस्तारका लागि जानसमेत निर्देशन दिए। ‘उहाँहरू खुसी र साँच्चै एक भएको जस्तो देखिनु भएको थियो’, केसीले भने, ‘उहाँहरूको एकताले हामीलाई पनि गाउँमा गएर संगठन विस्तार गर्न उत्साह जागेको छ।’

सभापति देउवाले जिल्ला सभापतिहरूको माग पूरा गरिदिने बताउँदै विधान चाँडै छापेर गाउँ–गाउँ पठाउने आश्वासन दिए। जिल्ला सभापतिहरूले केन्द्रीय सदस्य पनि बुथबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि हुनुपर्ने, समानुपातिकमा एक पटक अवसर पाएकालाई अर्को पटकदेखि अवसर दिन नहुने माग राखेका छन्। यसमा देउवाले ‘म तयार छु, तपाईंहरूको माग पूरा हुन्छ’ भन्दै आश्वासन दिएको बताइएको छ।

सभापतिको आश्वासनपछि जिल्ला सभापति पनि विश्वस्त देखिन्छन्। ‘समापन समारोहमा सभापति र वरिष्ठ नेताले सबै महासमिति सदस्य र मिडियाको सामुन्ने बोलेका छन्’, नुवाकोट सभापति केसीले भने, ‘उहाँहरूले बोलेपछि पुर्‍याउनुहुन्छ। हामी विश्वस्त छौँ।’

चियापान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुस १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसको दिनदेखि नयाँ जागरण लिएर आउँमा संगठन विस्तारमा जान जिल्ला सभापतिहरूलाई निर्देशन दिएका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.