एक नभएको तेस्रो धारको सन्देश

|

काठमाडौं : नेपाली कांग्रेसभित्र अहिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको ‘डिप लभ’ले निकै चर्चा पाएको छ। महासमिति बैठकअघि संवादहीनताको अवस्थामा रहेका देउवा–पौडेलबीचको एकतालाई लिएर अहिले विभिन्न चर्चा चल्न थालेको छ। 

देउवा–पौडेलको ‘लभ’ पछिल्लो समय निकै ‘डिप’ देखिएको छ। उनीहरू प्रत्येक दिन सँगसँगै देखिन थालेका छन्। महासमिति बैठकपछि देउवा र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई ‘डिनर’को आयोजना गरिरहेका छन्। त्यहाँ देउवा, पौडेलसँगै यसअघि देउवाविरुद्धको मोर्चामा रहेका महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवको पनि सहभागिता हुने गरेको छ। 

महासमिति बैठकअघि बोल्न पनि मध्यस्थकर्ता चाहिने यी दुई नेताबीच अहिले निकटता बढ्दो छ। यो निकटताका लागि उपसभापति विमलेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्माको हात रहेको छ। उनीहरूले बोलचालसमेत बन्द भएका यी दुई नेतालाई आफूभित्र ‘इमोसनल अट्याचमेट’ छ भन्ने बनाएका हुन्। 

पार्टीको १३औँ महाधिवेशनमा पौडेलले आफू निकट मानिएका कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले दिएको धोकाका कारण फेरि पनि यस्तै हुने आंशकाले उनी देउवासँग नजिक हुन पुगेको स्रोतको दाबी छ। ‘एउटा बैठकमा सुजाता कोइरालाले बरु देउवालाई नेतृत्व मान्न सकिन्छ, पौडेलसँग नेतृत्वको क्षमता छैन भन्नुभएको थियो’, स्रोतले भन्यो, ‘त्यो बेलादेखि रामचन्द्रजी झस्कनुभएको थियो।’ महासमिति बैठकको समापनमा पनि सुजाताले देउवाको पक्षमा नै बोलेकी थिइन्। 

यस्तै, नेता कृष्णप्रसाद सिटौलाले पनि पटक पटक पौडेललाई नेतृत्व मान्न नसकिने बताउँदै आएका छन्। उनले पौडेलमा नेतृत्वमा हुनुपर्ने गुण नभएको दाबी गर्दै आएका छन्। 

१३औँ महाधिवेशनमा पौडेलसँग भएका नेताहरू अहिले कोही पनि सँगै नभएका कारण पौडेल झस्किएको स्रोतको दाबी छ। ‘१३औँ महाधिवेशनमा सँगै भएका अहिले रामचन्द्रजीसँग कोही पनि छैन। रामशरण महत र नवीन्द्रराज जोशी मात्र अहिले छन्’, स्रोतले भन्यो, ‘प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला आफ्नै लाइनमा छन्। केही कृष्णप्रसाद सिटौलासँग टाँसिएका छन् त केही दोधारमा छन्।’

देउवा र पौडेलबीच एकअर्कालाई सहयोग गरेर अघि बढ्ने सहमति भएको छ। देउवा अप्ठ्यारो अवस्थामा आए १४औँ महाधिवेशनमा पौडेललाई सहयोग गरेर सभापतिमा उठाउने आन्तरिक सहमति भएको स्रोतको दाबी छ। यस्तै, २०५५ सालमा भएको गोदवारी संझौतालाई व्यूँताउने देउवा र पौडेलबीच सहमति भएको स्रोतको दाबी छ।

तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला र नेता कृष्णप्रसाद भट्टराईबीचको विवादका कारण पार्टी कमजोर भएको भन्दै २०५५ मंसिरमा ललिपुरको गोदावरीमा पार्टीको जिम्मेवारी कोइरालाले लिने र निर्वाचनमा पार्टी बलियो भए प्रधानमन्त्री भट्टराई हुने समहति भयो। त्यसपछि २०५६ को निर्वाचनमा पार्टीले बहुमत प्राप्त गरेको थियो। त्यस्तै सम्झौता गरेर देउवा र पौडेल पनि अघि बढेको स्रोतको दाबी छ। ‘रामचन्द्रजी फुर्के हुनुहुन्छ’, स्रोतले भन्यो, ‘त्यस कारण उहाँले शेरबहादुरजीको प्रस्तावलाई सहजै स्वीकार गर्नुभयो।’

देउवा र पौडेलबीचको भावनात्मक सम्बन्ध जतिबेला पनि टुट्न सक्ने नेता गगन थापा बताउँछन्। ‘शेरबहादुर र रामचन्द्र दाईको लभ भावनात्मक हो। भावनात्मक लभ सानो तलमाथि भयो भने टुट्न सक्छ’, बिहीबार भएको एक कार्यक्रममा उनले भने। थापासँगै रहेका नेता सिटौलाले उनको कुरामा थप्दै भने, ‘लभमा लस्ट भयो भने कुरा बिग्रन्छ। शेरबहादुरजी र रामचन्द्रजीको लभ कहिले लस्ट हुन्छ हेर्न बाँकी छ।’

देउवा र पौडेलबीचको एकतामा महामन्त्री डा. कोइराला पनि मिसिएका छन्। उनी पनि पछिल्लो समय देउवा र पौडेलसँगै ‘डिनर’का कार्यक्रमहरूमा व्यस्त छन्। यो एकतासँग नेताहरू प्रकाशमान सिंह, सिटौला, अर्जुननरसिंह केसी, शेखर कोइरालालगायत असन्तुष्ट रहेको बताइएको छ। 

तेस्रो धार कायम रहेको सन्देश

महासमिति बैठकको अन्त्यसँगै पार्टीमा एकताको सन्देश दिइएको नेताहरूले बताएका थिए। उनीहरूले उठेर हातेमाले गर्दै पार्टी एक भएको घोषणा गरे। त्यसपछि रामचन्द्र पौडेलले त देउवासँग दैनिकजसो नै भेटघाट गर्न थालेका छन्। तर महासमिति बैठकले पार्टीभित्र एकता नभएको र तेस्रो धार कायमै रहेको देखाउन तेस्रो धार सक्रिय भएको छ। नेता सिटौलाको नेतृत्वमा रहेको यो धारले बिहीबार पत्रकारसँग अन्तर्क्रिया गर्दै यस्तो सन्देश दिएको हो। 

नेता गगन थापा, उमाकान्त चौधरी र शिव हुमागाईंलाई छेउमै राखेर पत्रकार सम्मेलन गरेका सिटौलाले आफ्नो छुट्टै लाइन भएको दाबी गरे। ‘तपाईंहरू अहिले पनि पौडेल–सिटौला लाइन भनेर लेख्नुहुन्छ’, उनले भने, ‘अब त यति भएपछि बुझ्नुभयो होला नि! मैले भनिरहनुपर्दैन।’

उनले पौडेलसँग छलफल गर्दैमा एक भएको नहुने बताए। ‘सुजताजीको लंच बैठकको फोटो समाजिक संजालमा आयो। म शेरबहादुरजीकहाँ गएँ। उहाँले तपाईंहरू एक भएको हो भनेर सोध्नुभयो। मैले तपाईं पनि फोटो खिचेर हाल्नुहोस् अनि एक भएँ भन्नुहोस्। छलफल गर्दैमा एक होइँदैन’, उनले भने, ‘म केही दिनअघि प्रचण्डसँग सिक्लेस गएँ। त्यसो भए म प्रचण्डको पार्टीमा गएको हो?’

नेता सिटौलाले एकता अनुहार हेरेर नहुने भन्दै एक हुन सिद्धान्त, नीति र व्यवहार अवश्यक रहेको बताए। उनले आउने महाधिवेशनमा देउवा र पौडेललाई सहयोग नगर्ने संकेत पनि गरे। ‘१३औँ महाधिवेशनमा सुशीलदा' हुनुभएको भए म उहाँलाई समर्थन गर्थें तर मैले शेरबहादुर र रामचन्द्रजीमा नेतृत्वमा हुने क्षमता देखिनँ’, उनले भने, ‘यसको अर्थ सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्षको पदलाई सम्मान गर्दिनँ भन्ने होइन।’

नेता सिटौलाले १३औँ महमाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने/नहुने भन्ने विषयमा भने केही बोल्न चाहेनन्। पत्रकारले तपाईं उम्मेदवार हो? भनेर गरेको प्रश्नमा उनले भने, ‘यो विषयमा किन हतार गर्नु? पहिला महाधिवेशनको मिति तय होस्, त्यसपछि म बोल्छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.