|

काठमाडौंः महासमिति बैठक सकिएसँगै नेपाली कांग्रेस१४औँ महाविधेशनको रापले तातिएको छ। महासमिति बैठक सकिएको एक साता पनि पूरा हुन नपाउँदै कांग्रेसका शीर्ष नेताहरूले १४औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने बेला आएको बताएका हुन्। 

असन्तुष्ट समूहका नेताहरूले पार्टीमा पछिल्लो समय महाधिवेशनको माग गर्न थालेका छन्। विधान संघीय संरचनाअनुसार बनेको भन्दै पार्टीलाई संघीय संरचनामा ढाल्न तल्लो तहबाट महाधिवेशन गर्नुपर्ने माग उठ्न थालेको हो।

महासमिति बैठकमै अर्ली महाधिवेशनको माग गरेका नेताहरूले महासमिति बैठक सकिएसँगै महाधिवेशनका विषयमा खुलेर बोल्न थालेका हुन्। पार्टीको समग्र सुधारका निम्ति भन्दै पार्टी नेताहरूले अर्लि महाधिवेशनको कुरा उठाउन थालेका हुन्। 

यसअघि महासमिति बैठकको बीचमै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महाधिवेशनका लागि भन्दै पार्टी केन्द्रीय समितिमा कार्यतालिका प्रस्तुत गरेका थिए। उनले पार्टीलाई सुधार गरेर आउने निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि भन्दै उक्त कार्यतालिका केन्द्रीय समितिमा पेस गरेका हुन। यो कार्यतालिकाका विषयमा अहिले पनि नेता पौडेलले बेलाबेला संस्थापन समूहलाई जानकारी गराइरहेका छन्। 

पौडेलले पुस १६ देखि २०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियाने’ चलाउने, २०७६ असोज मसान्तसम्म ‘क्रियाशील सदस्यता वितरण र नविकरण’ सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने प्रस्ताव अघि सारेका छन्। 
यस्तै, २०७६ मंसिर मसान्तसम्म टोलदेखि स्थानीय तहका अधिवेशन गर्ने, २०७६ पुस मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र/प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्ने, २०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने र २०७६ फागुन ७ पार्टीको महाधिवेशन गर्ने र आउने निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन २०७८ बैशाखबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्न प्रस्तावअघि सारेका छन्। 

महासमिति बैठकपछि सभापति शेरबहादु देउवासँग नजिकिएका वरिष्ठ नेता पौडेलले आफूले दिएको कार्यतालिकाअनुसार महाधिवेशनका कार्यक्रम सञ्चालन गर्न दबाब दिइरहेका छन्। उनले केही दिन अघि पार्टी महामन्त्री पूर्णबहादुर खड्कालाई फोन गरेर आफ्नो कार्यतालिका के भयो? भनेरसमेत सोधेका थिए।
‘मैले बुझाएको सेड्युल के हुँदैछ’, खड्कासँगको वार्तालाई उदृत गर्दै स्रोतले भन्यो, ‘त्यो तालिका कार्यान्वयन गर्नुप¥यो। कि सभापति हाम्रो सेड्युलमा हिँड्नुप¥यो होइन भने सभापतिले सेड्युल ल्याएर हामीलाई त्यसमा हिँडाउनुप¥यो।’

पछिल्लो समय पार्टीभित्र तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौलाले पनि ‘अर्ली’ महाधिवेशनको माग गरेका छन्। उनले महासमतिले नयाँ विधान पारित गरेको भन्दै नयाँ विधानअनुसार पार्टीको महाधिवेशन ६ महिनाभित्र गर्न प्रस्ताव गरेका छन्।

देश संघीय संरचनामा गइसकेको भन्दै नेता सिटौलाले पार्टीको संरचना कहीँ पनि बाँकी नरहेका कारण महाधिवेशनको प्रस्ताव गरेका हुन्। सिटौलाले ६ महिनामा महाधिवेशन गर्न नसक्ने भए संक्रमणकालीन व्यवस्थाको प्रयोग गर्दै चैतभित्र महाधिवेशन गर्न माग गरेका छन्।

‘महाधिवेशनमाबाट नयाँ समिति आयो भने यसले उत्साहका साथ काम गर्न सक्छ’, उनले भने, ‘नभए विधानअनुसार समय थप्दै गर्ने हो भने अझै दुई वर्ष लाग्छ। त्यसबेला फेरि चुनाव आउँछ। कसरी निर्वाचन जित्न सकिन्छ?’

तर संस्थापन समूह भने तत्काल महाधिवेशनको पक्षमा देखिएको छैन। नेताहरूले महाधिवेशनको कुरा उठाइरहेका बेला संस्थापन समूह भने मौन छ। वरिष्ठ नेता पौडेलले बैठकमा उनको प्रस्ताव पेस गर्दा संस्थापन समूहले भने आपत्ति जनाएको थियो। उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेताले प्रस्ताव ल्याउन नमिल्ने बताएका थिए। अहिले पनि निधिले महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिले नै ल्याउने बताए।

‘महासमितिको कार्यतालिका केन्द्रीय समितिबाट आउने हो’, उनले भने, ‘रामचन्द्रजीले किन ल्याउनुभयो त्यो उहाँलाई नै सोध्नुहोस्।’ युवा नेताहरूसँगै पार्टीको तेस्रो धारले ‘अर्ली’ महाधिवेशनको विषय उठाइरहँदा उपसभापति निधिले भने ‘अर्लि’ महाधिवेशन हुन नसक्ने बताए। ‘अर्लि, डिले महाधिवेशन भन्ने नै हुँदैन’, उनले भने, ‘हामी विधानअनुसार समयमै १४औँ महाधिवेशन गर्छौँ।’ विधानतः कांग्रेसमा एक वर्ष पार्टीको महाधिवेशनका लागि म्याद थप्न पाइन्छ। सभापति देउवाको चार वर्षे कार्यकाल आउने फागुनमा सकिँदैछ। 

यस्तै, संस्थापन समूहका सहमहामन्त्री डा.प्रकाशशरण महतले अहिले अर्ली महाधिवेशको विषय उठान गर्नु नै उपयुक्त नभएको बताए। ‘यो विषय महासमितिमा पनि उठेन। महासमितिमा उहाँले पनि उठाउनुभएन’, उनले, ‘अब यो विषय अहिले उठाउनु पनि उचित छैन।’ उनले वरिष्ठ नेता पौडेलको पनि सुझाव मात्र भएकाले सुझाव जसले पनि दिन मिल्ने बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.