|

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाहीका समर लामाले एक दशक समय विदेशमै काम गरेर बिताए। करिब १० वर्ष विदेशमा काम गरेर स्वदेश फर्किएका लामा विदेशमा सिकेको अनुभव आफ्नै गाउँमा सदुपोग गर्दै अहिले बाख्रापालन व्यवसायमा लागेका छन्। गत वर्षबाट व्यवसाय सुरु गरेका लामाको खोरमा अहिले खपारी जातका ११० वटा बाख्रा छन्।

बाँझो खेतलाई सदुपयोग गर्दै बाख्रापालन व्यवसाय सुरु गरेको लामाले बताए। उनले भने, ‘जग्गा जति सबै बाँझै थियो। यत्रो जग्गा बाँझै छाड्नुभन्दा घाँस लगाएर बाख्रा पालन गर्छु भन्ने सोचेर व्यवसाय सुरु गरेँ।’

लामाले आफ्नो बाँझो जग्गामा बाख्राको चरिचरणका लागि घेराबेरा गरेर घाँस लगाए छन्। उत्पादन कम तर मिहिनेत धेरै हुने भएपछि खेत बाँझै छाडेर लामा विदेश गएका थिए। १० वर्ष विदेशमा दुःख गर्दा पनि सोचेजस्तो आम्दानी नभएपछि आफ्नै बाँझो खेतलाई आम्दानीको स्रोत बनाउन सक्छु भन्ने अठोटका साथ घर फर्केर बाख्रापालन व्यवसाय सुरु गरेको लामाको भनाइ छ। ‘पहिले पहिले खेती गर्दा मिहिनेत धेरै गर्नुपर्ने तर उत्पादन कम हुने भएपछि हामीले खेती नै गर्न छाडेका थियौँ। अहिले बाँझो जमिनमा घाँसखेती गरेको छु’ उनले भने। लामाले झण्डै १५ लाख रुपैयाँ लगानी गरेर बाख्राको खोर, चरिचरण क्षेत्र, आहारा लगायतका संरचना निर्माण गरी व्यवसाय सुरु गरेका हुन्।

अहिले उनीसँगै परिवारका अन्य सदस्य र एकजना स्थानीय युवा पनि सँगसँगै खट्छन्। एक जनाले मात्र भ्याइँदैन, बाख्रा धेरै छन्। लामाले भने, ‘हामी सबैजना मिलेर स्याहार गर्छौं।’ भएका जनशक्तिलाई पनि काम गर्न भ्याइनभ्याई भएपछि उनले दुई वटा ट्याक्टर किनेका छन्।

व्यवसायबाट नाम र दाम दुवै

घाँस बोकेर ल्याउँदा समय धेरै लाग्ने र घाँस बोक्न मान्छे पनि नपाइने भएकाले उनले दुईवटा ट्याक्टर किनेको हुन्। ‘घाँस बोकेर ल्याउन सम्भव नभएपछि दुईवटा ट्याक्टरबाट घाँस ल्याउँछु। समयको पनि बचत भएको छ’ उनले भने। आफ्नै ठाउँमा बसेर व्यवसाय गर्दा त्यसबाट पनि नाम र दाम दुवै कमाउन सकिने उनको बुझाइ छ।

सही ठाउँमा लगानी गरे पनि काम गर्ने मान्छे भने भेटाउनै मुस्किल परेको उनले बताए। राम्रो तलब सेवा सुविधा दिन्छु भन्दा पनि काम गर्ने मान्छे भेटिँदैन। उनले गुनासो गर्दै भने, ‘हाम्रो समाजले अझै पनि कृषि पेसालाई सम्मान गर्न सकेकै छैन। ट्याक्टरमा काम गर्छौंभन्दा मान्न तयार तर बाख्रा हेर्छौं भन्दा नाक खुम्च्याउँछन्।’

मिहिनेत गर्ने हो भने बाख्रापालनबाट पनि राम्रो आम्दानी गर्न सकिने भन्दै उनले उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको बताए। नगरपालिकाका विभिन्न वडा तथा जिल्लामै पनि बजार, मेला लाग्छ। व्यापारीहरू बाख्रा किन्न घरमै आउँछन्। उनले भने, 'खसीको माग धेरै छ, चलेकै भाउ दिएर लान्छन् अहिलेसम्म बजारमा लैजानु परेको छैन।‘

बाख्रापालनबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने लामाले बताए। व्यवसायबाट राम्रो आम्दानी भएपछि घर परिवार चलाउन सजिलो भएको उनले सुनाए। श्रम गरे आफ्नै ठाउँमा राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेका लामा अहिले आफ्नो व्यवसायबाट सन्तुष्ट छन्। आफ्नै ठाउँमा केही गरी आत्मनिर्भर बन्न चाहनेका लागि बाख्रापालन राम्रो माध्याम बन्ने उनले बताए। कामलाई ठूलो–सानो भनेर वर्गीकरण नगरी आत्मनिर्भर बन्नेतर्फ सोच्ने हो भने गाउँमै मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.