डिप बाेरिङ प्रविधिबाट डाँडामा पानी

|

पाँचथर : कुम्मायक गाउँपालिकाको रानीगाउँका ८१ वर्षीय तिलकबहादुर सम्बाहाम्फे लौरो टेक्दै उत्तिसे आइपुगे। त्यहाँ मंसिर २९ मा डिप बोरिङ प्रविधिबाट पानी निकालिएको छ। लौरोको सहारामा उभिएर केही भनौँला जसो गरेपछि उनलाई ‘के छ बाजे?’ भनी सोधेँ। ‘खोइ भगवानले मनुषे एकछिन् बाँचोस् भनेर होला, जमिनमुनिबाट पानी निकाल्द्यो,’ अनि उनले खर्रर भन्न थाले, ‘८१ वर्षको भएँ। अचम्मै भो। के के अचम्म देख्न परेको। यस्तो सामान पनि देखेकै थिइनँ। कसरी निस्केको पानी?’

सम्बाहाम्फेले १०० वर्षसम्म बाँचेर तमोरको पानी खाएर मात्रै मर्न पाउँ भनेर दुई हजार ६०० रूपैयाँ तमोर लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समितिलाई बुझाएको तीन वर्ष हुन लाग्यो। यस वर्ष पुनः थप तीन हजार रूपैयाँ बुझाए। ‘हिमालबाट बग्दै आएको तमोरको पानी नखाई नमर्ने भनेर माङ (भगवान)सँग सेवा गरेर पैसा समितिलाई दिएँ,’ उनले भने, ‘तमोरको भन्दा पहिले यहाँ पानी निस्क्यो। गज्जब भो। तर, तमोरको पानी नखाइ चाहिँ मर्दिन।’

कुम्मायक–१ की सोममाया लावती पनि इन्द्रमाने बरछेवैको मल्लिडेँमा डिप बोरिङ प्रविधिबाटै पानी निकाल्न मेसिनले खनाउँदा दिनभर रमिता हेरेर बसिन्। दोस्रो दिन पानी निस्कँदा खुशीसँगै अचम्मित पनि भइन्। ‘यस्तो सुक्खा ठाउँमा कसरी पानी निस्क्यो! के गरी निस्क्यो!’ अचम्मित हुँदै भनिन्, ‘यासोक बजारवासी र हामी (सुब्जनीवासी) एक दिन बिराएर पालैपालो देउरालीको पानी खान्छौँ। अब चाँहिँ ढुक्क भो।’

कुम्मायक–४ को उत्तिसेमा निकालिएको पानी यासोक बजारवासीले पुस २ देखि उपभोग गर्दै आएका छन्। उनीहरूले खानेसँगै भाँडाकुँडा र लत्ताकपडा धुन त्यही पानी प्रयोग गर्दै आएका छन्। बजारका होटल व्यवसायीलाई यो पानीले बढी राहत मिलेको देखिन्छ। ‘जमिनमुनीबाट पानी निकाल्ने भन्दा कथाजस्तो लाग्थ्यो तर सरहरूले निकाल्नु भो,’ यासोक बजारमा झम्के गुलेली होटल सञ्चालन गर्दै आएकी पार्वती बिमली काफ्लेले भनिन्, ‘व्यवसाय गर्न सहज हुने भो। पानी किन्ने दिन गयो।’

कुम्मायक गाउँपालिकाको उत्तिसेसँगै मल्लीडेँ र निगालेमा डिप बोरिङ प्रविधिबाट पानी निकालिएको छ। तिङदेन बजार, देवल क्षेत्र र गैरी कुवामा पनि पानी निकाल्न प्रदेश १ को भूगर्भ विभागका भूगर्भविद्हरूले अध्ययन गरेका छन्। तर, पहिलो चरणमा तीन ठाउँमा मात्रै पानी निकालिएको हो। पानी निकालिएको ठाउँहरूमा न्युनतम २०० देखि २४० मिटर गहिराइमा पानीको मुहान छ। ती ठाउँमा दुईदेखि तीन दिनसम्म मेसिनले खनिएको थियो। ती ठाउँमा पानी निकाल्न प्रदेश १ सरकारको एक करोड रुपैयाँ लगानी गरेको बताइएको छ।

फाल्गुनन्द गाउँपालिकाको सुक्खाग्रस्त वडा नवमीडाँडाको तल्लो क्षेत्रमा पानी निकालिने तयारी छ। डिप बोरिङ प्रविधिबाट पानी निकाल्ने कम्पनीहरुमध्येको एक कम्पनी नीर ड्रिलिङ कम्पनी काठमाडौंका सञ्चालक निरोज खड्काले ती क्षेत्रमा चालू आर्थिक वर्षमै पानी निकालिने बताए।

मेची कन्स्ट्रक्सनका सञ्चालक नरेन्द्र चम्लागाईले यस्तो प्रविधिबाट निकालिएको पानी कम्तीमा २० वर्ष रहने बताए। ‘हामीले भौगर्भिक मापदण्डलाई फलो गरेका छौँ,’ उनले भने, ‘पानीको तल्लो सतहसम्मै पुगेर मेसिन गाडेकाले कम्तीमा पनि २० वर्ष ढुक्क हुन्छ।’

डिप बोरिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष अमरसिं थापाले पानीको चर्को समस्या रहेका ४ वडामा तत्कालका लागि समस्या समाधान भएको बताए। उनका अनुसार तीन ठाउँमा निकालिएको पानीबाट करिब ९०० घरपरिवार लाभान्वित हुनेछन्। यसका लागि पाइपलाइन बिस्तारको काम सुरू भएको छ। ‘दीर्घकालिन कति हुन्छ? त्यो त भन्न सकिएन तर तत्कालका लागि चाहिँ समस्या टर्ने भो,’ उनले भने, ‘गाउँपालिकाले प्रसारण लाइन विस्तारदेखि वितरणसम्मको सबै जिम्मा लिनेछ। अव उपभोक्ताहरूले पानी निकाल्दा भएको विद्युत खपत बापतको महसुल तिर्नुपर्छ होला।’

हाल गाउँपालिकाले एउटा ट्रयाक्टर र एउटा ट्याङ्करबाट गाउँपालिकावासीको खानेपानी समस्यालाई अल्पकालीन रूपमा समाधान गर्न प्रतिलिटर ६० पैसाका दरले पानी उपलव्ध गराउँदै आएको छ। त्यसअघि भने प्रतिलिटर दुई रूपैयाँसम्म लाएर पनि गाउँपालिकावासीले पानी उपभोग गर्दै आएका थिए।

योजनामन्त्रीलाई धन्यवाद

पूर्व राजपरिषद सदस्य बमबहादुर सम्बाहाम्फे गाउँमा पानी निकालिएको थाहा पाएपछि गाउँ हान्निएको निक्कै भयो। राजतन्त्र ढलेपछि प्रायः काठमाडौंमा बसोबास गर्दै आएका उनी घरिघरी गाउँ (रानीगाउँ) आउँथे। अनि पुराना राजनीतिक सहयात्रीदेखि शुभेच्छुकहरूसँग भेटघाट गरेर फर्किन्थे। तर यसपालको उनको गाउँ बसाइ अलि लम्बिएको छ। कारण अरू केही नभई सुक्खा ठाउँमा पानी निकालेकाले हो।

वृद्ध भइसकेकका उनी पुस १४ मा यासोक बजारमा भेटिए। त्यो बेला उनले भने, ‘म योजनामन्त्री इन्द्रबहादुर आङबोलाई धन्यवाद दिन्छु। उनले राम्रो काम गरेछन्। हाम्रो पालामा डिप बोरिङ र तमोरबाट पानी ल्याउने कुनै योजना थिएन। त्यतिबेला जतातै कुवैकुवा थिए।’ ती कुवाहरुबाट खेतमा सिँचाइ गरेको स्मरण सम्बाहाम्फेले गरे।

पाँचथरको समग्र विकासमा पूर्वमन्त्री स्वर्गीय पद्मसुन्दर लावतीले महत्वपूर्ण योगदान दिएको जिल्लावासी स्मरण गर्दछन्। उनीपछि लावतीपछि विकासे नेता आङ्बो भएको हुने जिल्लावासी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.