|

हिमालमा हिउँको आयु अनि समुद्रमा पानीको आयु जसरी तय हुँदैन हो त्यसरी नै जीवनका अनेकौँ मोडमा जोडिएका सम्बन्धको आयु पनि निर्धारित हुँदैनन्। हिमालको हिउँलाई पग्लेर पानी बन्नुपर्ने दिन थाहा हुँदैन, समुद्रको पानीलाई वाफका रूपमा बादल बन्नुपर्ने दिन पनि थाहा हुँदैन। अनि कसरी थाहा होस् त हामीलाई सम्बन्धका कसिला बन्धन कहिले कमजोर बन्लान् भन्ने। कहाँ भेटिएका दौँतरी कता छुट्लान् भन्ने!

जीवनमा जोडिएका कतिपय सम्बन्ध हतारोमा लेखिएका उपन्यासझैँ हुन्छन्- अपूर्ण। नुनबिनाको तिहुनझैँ। कहिले त कुनै समय कुनै मोडमा ठोक्किएर गाँसिएका सम्बन्धले सधैँका लागि नमीठो घाउ पनि दिँदारहेछन्- स्वार्थका खातिर जोडिएका सम्बन्धले। त्यस्ता सम्बन्धहरू त प्राणविहीन आफ्नै छाया जस्तै हुँदारहेछन्, जसका नमीठा सम्झनाबाट भाग्नै सकिँदैन, न दिनमा, न त रातमा। त्यसैले त्यस्ता धेरै नातालाई मैले अन्धकारको सहारामा भए पनि आफूभन्दा टाढा पन्छाउने प्रसास गरिरहेकै छु।

कतिपय सम्बन्ध भने विल्कुल उल्टा हुँदारहेछन्- बादल र आकाशझैँ। चाहेर पनि एकै स्थानमा कहिल्यै जम्न नसक्ने। हावाको कुनै चोटिलो प्रहारसँगै बग्दै जानुपर्ने। तर कतिपय सम्बन्ध तलाउका पानी जस्ता पनि हुन्छन्- गाँसिएपछि छुट्टिनै नमिल्ने। बाबुआमा, छोराछोरी र पत्नीलाई छाड्ने हो भने इष्टमित्र साथीभाइ भनेका मरुभूमिका ‘मृगतृष्णा’ जस्तै लाग्छन् मलाई। यस्ता सम्बन्धलाई कतिपय अवस्थामा बिर्सन सकिन्नँ त कति सम्झनै मन लाग्दैन। तर पनि सदा सम्बन्धमा मिठासको भ्रम भने रहिरहन्छ।

लाग्छ, हरेक मानिसको जीवनशैली र उद्देश्य ‘माथिबाटै’ तय भएर आएको हुन्छ। सेक्सपियरले धेरै अगाडि भनेकै हुन् क्यारे- हामी रंगमंचमा अभिनय मात्र गरिरहेका छौँ भनेर। कतिपयलाई जीवनमा भोग्नुपर्ने बन्धनले आनन्द पनि दिन्छ, कतिलाई पीडा। वास्तवमा मैले यस्ता बन्धनबाट आनन्द पाएको छु कि पीडा, अहिले नै भन्न सक्दिनँ। सायद यो क्षणको अन्त्यसँगै बितेको क्षणको विवेचना गर्न भने सकिन्छ। आखिर बोल्ने भनेको अतीत नै त हो। वर्तमान त भोग्ने मात्र न हो। 

वास्तवमा भन्ने हो भने मैले पनि क्षणिक रूपमा भए पनि तनावका पहाड काटेको छु। घर परिवारलाई तनावमा पुर्‍याएको छु। तर आफूलाई कहिल्यै दुखी देखिनँ। वरिपरि एक पटक नजर घुमाउने हो भने मात्र पनि मभन्दा दुखीको पंक्ति भयंकर नै छ जस्तो लाग्छ। त्यसैले म आफूभन्दा सुखीको होइन, दुखीको जीवन नियाल्छु अनि भगवानलाई एक पटक धन्यवाद भन्छु- कमसेकम मलाई यो लोकका धेरै दुखी मानिसहरूभन्दा सुखी नै बनायौ भनेर। आङ ढाक्न कहिल्यै दु:ख भएन, पेट भर्न कहिल्यै तनाव भएन। सुत्ने छत छ, माया गर्ने आफन्तहरू छन्। माया गर्ने बाबुआमा, पत्नी र मायालु सन्तान पनि पाएँ नै भाग्यले। नोटको सगरमाथाको आरोहण गर्ने लालसा कहिल्यै मनमा पलाएन। त्यसैले गर्वसाथ भन्छु, दुखी भएको भए त पशुपतिनाथमा धुनी जगाएर बसिन्थ्यो होला नि! अनि लाग्छ पनि, जीवनमा कुनै बेला गाँसिएका सम्बन्ध साथीभाइ, प्रेमिका भनेको त हिमालका चट्टान र हिउँझैँ हुँदारहेछन्। एक पटक पग्लेर गएपछि फेरि त्यही चट्टानमा दोहर्‍याएर नजम्ने। मानिसका सम्बन्धहरू पनि त्यस्तै हुँदारहेछन् तर जीवनका मीठा दिनहरूलाई फेरि भोग्न पाए हुन्थ्यो भन्ने लालसा भने मनमा रहिरहँदोरहेछ। आफू बाँचेको परिवेश फेरि पुरानै अवस्थामा फर्कियोस् भन्ने चाहना पनि छ नै। 

मलाई फेरि त्यही बागमतीमा पौडी खेल्न मन लाग्छ बेला बेला। तर हामीलाई मीठो सम्झना सँगाल्न लगाएर बागमती मरिसकेकी छन्। घरबाट भागीभागी पौडी खेलेको त्यो बागमती अहिले मृत छ। आफैँले डुबुल्की मारेको खोलाको अगाडि पुगेर नाक थुन्नुपर्दा कसलाई पीडा नहोला! आफूले हामफालेको भकारीसम्म फोहोरका डंगुर देख्दा कसको मन नरोला! 

बागमतीमा पौडी खेल्दाका दिनका पनि आफ्नै रमाइला थिए। बागमतीमा पौडी खेल्न घरबाट अनुमति पाइँदैनथ्यो। बालाजुको पौडी पोखरीमा खेल्न जान्छु भनेर पैसा लियो अनि बागमतीतिर लाग्यो। घर फर्कंदा आँखा रातो अनि जिउमा बालुवा टाँसिएको। मुहार नै टलक्क। सबैको घरमा सजिलै थाहै पाइहाल्ने। तर हामी साथीभाइलाई भने झूठ राम्रोसँग बोल्न नआएको पछुतो सधैँ रह्यो। मुहारबाट त्यो टल्कने बालुवा हटाउने तरिका कहिल्यै सिकिएन। बरु आफ्नै बाउआमालाई बुद्धिमान ठानियो। अहँ, आफूलाई कहिल्यै मूर्खको श्रेणीमा राखिएन। त्यही बागमतीमा बल्छी हानेर माछासमेत मारियो। खाइयो। अब त सिनो मात्र भेटिन्छ त्यहाँ। अब त बागमतीका सुन्दरताझैँ मसँगै पौडी खेलेका साथीहरूलाई समयको भेलले अनेकौँ कुनामा हुत्याइदिएको छ। अहिले उनीहरूको सम्झना नै मुस्कुराउने बहाना बनेको छ।

जीवनमा आफैँले गरेका कतिपय गल्ती सम्झँदा अहिले पनि खित्का छाडेर हाँस्न मन लाग्छ। अहिले आफैँलाई विश्वास लाग्दैन। एक कक्षा पढ्दा म पहिलो पटक स्कुलबाट ‘हाफ टाइम’मा भागेर घर आएको थिएँ। मन्दबुद्धि! पानीपोखरीमा रहेको भानुभक्त मेमोरियलमा पढिन्थ्यो वा पढ्न भनेर गइन्थ्यो। स्कुलका सरभन्दा बसको ड्राइभर निकै कडा। विद्यार्थी तर्साउन लठ्ठी बोकेरै बस्ने। कम रिस उठ्दो थिएनन्। केही दिनअघि उनलाई भेटेको थिएँ। अहिले त बुढा भएछन्। ज्ञानी पनि भएछन्। के छ बाबु भनेर नरम बनेर बोले। सायद जीवनमा उसको नरम मिजाज पहिलो पटक त्यही बेला देखेँ। ढल्कँदो उमेरले ल्याएको परिवर्तन थियो त्यो वा मेरो बढ्दो उमेरको प्रभाव।

त्यही ड्राइभरको डरले दुई-चार जना साथी मिलेर हाफ टाइममै भाग्ने योजना बनायौँ। पानीपोखरीदेखि चाबहिलसम्म नजिकको बाटो पनि थाहा थिएन। बसको रुट मात्र थाहा थियो। पानीपोखरी-लाजिम्पाट-जय नेपाल-कमलपोखरी-मैतीदेवी-पुरानो बानेश्वर-कोटेश्वरसम्म पुगेर गौशाला-चाबहिल अनि बौद्धसम्म पुग्ने। स्कुलबाट हामी पनि त्यही बाटो हिँड्यौँ। पुरानो बानेश्वरबाट चाबहिल आउने बाटो भने थाहा थियो। कोटेश्वर जाने साथीहरूलाई बिदा गरेर म त्यतैबाट घरतिर लागेँ। घर आइपुग्दा स्कुलको बस मभन्दा केही अगाडि पो आइसकेको रहेछ। हैट! रमाइला थिए- बाल्यवस्थाका यस्ता केही घटना। 

स्वच्छन्द समुद्रले केके न पाउँछु भनेर किनारासँगै अत्तालिएर ठोक्किएझैँ अनि किनारामा मस्त पसारिएको ढुंगामा ठोक्किएर फेरि पुरानै लय समात्ने हतारो गरेझैँ। मानिसको जीवन पनि त्यही समुद्रको पानी जस्तै हुँदोरहेछ। जति उच्छृंखल बनेर बगे पनि अन्ततः किनारासँग बजारिनु नै पर्ने! त्यो दिन घरमा खाइएको गालीले स्कुलबाट दोहर्‍याएर भाग्ने कोसिस कहिल्यै गरिएन। तर मसँग भाग्ने साथीहरू अहिले कहाँ छन्, थाहा छैन। बस् सम्झना छ- हिमाल र हिउँलाईझैँ। 

त्यो दिनपछि स्कुललाई ठग्ने नयाँनयाँ बहाना सोचिन्थ्यो। विशेष गरेर आइतबार भारतीय टेलिभिजन च्यानल दूरदर्शनबाट आउने रामायण हेर्नका लागि। 

नौ-दस कक्षामा पढ्थेँ। साथीभाईसँग मिलेर पोखरा जाने योजना बनाइयो। आफैँ केही जान्ने बुझ्ने भएँजस्तो लाग्ने उमेर थियो त्यो। हामी पोखरा जानु केही महिनाअघि धादिङको जोगिमारामा निकै ठूलै बस दुर्घटना भएको थियो। निकैले ज्यान गुमाएका थिए। त्यसबेला मानिसको ज्यानको मूल्य हिजोआज जस्तो सस्तो थिएन। देशव्यापी रूपमा निकै चर्चा चलेको थियो, त्यो दुर्घटनाको। हामी पर्‍यौँ अल्लारे। रात्रि बस चढेर पोखरा गइयो। हामी चढेको बस जोगिमारा पुग्दा रमाइलो मान्दै ‘आयो जोगिमारा’ भनेर चिच्यायौँ। बसका अरू यात्रुले झन्डै नकुटेका!

जीवनमा गरेका सबै गल्तीलाई कहिल्यै ‘रिकभर' गर्न नसकिने गरेर ‘डिलिट’ गरिदिन्थेँ। राम्रा सम्बन्धलाई सधैँका लागि ‘गुगल ड्राइभमा स्टोर’ गरेर राख्थेँ। यसको अर्थ आफ्नो जन्मने अधिकारमै पूर्णबिराम लगाउँथे भन्ने पनि होइन। एउटा मानिसले गर्ने सबै कार्य गर्थें, जीवनलाई मीठैसँग भोग्थेँ तर अहिले पनि मेरो जीवन नमीठो छैन।

पोखरा जाँदा सबैले घरबाट १५ सय रुपैयाँ मागेका थियौँ। दुई दिन पोखरा घुमेर मनकामना पनि गइयो। थोरै पैसा बचेका कारण नारायणघाट जाने योजना पनि बनायौँ- बस्, रात्रि बस चढ्नका लागि मात्र। मुग्लिनबाट भैँसी बोक्ने ट्रकको पछाडि बसेर नारायणघाट जाँदा नाकमा ठोक्किएको राँगाको मलको गन्ध कहिलेकाहीँ अहिले पनि ठुस्स गह्नाउँछ। पिछा छाडेको छैन, त्यो गन्ध र सम्झनाले। हामीले खाएको वा खाने मम पनि त्यही ट्रक चढेर काठमाडौं पुगेको होला भन्दै नारायणघाट पुगियो। त्यो बेला नारायणघाटको पुल्चोक अहिले जस्तो विकसित थिएन। त्यहीँ एक जना भारतीयले खेलको नाममा जुवा खेलाइरहेका रहेछन्। सरर्र घुम्ने चक्कामा नम्बर लेख्यो अनि चक्का जुन नम्बरमा अडिन्छ, त्यसैले पैसा जित्यो। हामी त्यही खेल हेरेर रात्रि बसको प्रतीक्षा गरिरहेका थियौँ। खेल्ने सामर्थ्य भने पोखरा र मनकामना यात्राले रित्याइसकेको थियो।

केही बेरमा एक जना महानुभावले ५०० रुपैयाँ जितेको बताए। वाक्क न व्याक्क भइयो। पैसा मागियो। तर खेलाउनेको एउटै सर्त थियो- हामीले पहिले उसलाई ५०० रुपैयाँ देखाउनुपर्ने। हामीले देखाउन सकेनौँ। जितेको पैसा पनि पाएनौँ। खास कुरो एक भलाद्‍मीले बताइदिए। हामीले पैसा देखाएको भए उसले हामीलाई त्यो खेलमा टाट नै पार्थ्यो। मुग्लानबाट आएका धेरै जना त्यो खेलको सिकार भएका रहेछन्। धन्य! नभएको पैसा लुटिनबाट जोगियौँ हामी। तर त्यसबेला हामीले ५०० रुपयाँ उठाउन नसकेको झोँकमा एक जना साथीले नारायणीमा हामफाल्छु भनेर धम्की पनि दियो।

नभन्दै, हामीलाई छाडेर हिँड्यो। निकै बेर खोज्यौँ, भेटिएन। नारायणी नदीमा देखिएको बत्तीको छाया पनि उसकै लासझैँ पो लाग्यो एकछिन त। लौ हाम फाल्यो ‘मोरो’ भन्ने लाग्यो। अब के गर्ने भनेर सल्लाह गरिरहेका बेला ऊ टुप्लुक्क आइपुग्यो- हाँस्दै। चड्काउन मन लाग्यो। अलिकति सोमरस चढाएको रहेछ। तर जे भए पनि हामी ढुक्क भयौँ। ‘उद्धव’को त्यो धम्की कहिल्यै बिर्सन्नँ म। पछि ऊ माओवादी सशस्त्र द्वन्द्वमा लाग्यो। भूमिगत भयो। अहिले कहाँ छ, थाहा छैन। अज्ञात शहीद पो बनिसक्यो कि! नत्र ठूलै नेता भएर देखापर्नुपर्ने थियो।

जीवनका कुनै मोडमा हराएका इष्टमित्रसँग भेट्ने लालसामा कहिलेकाहीँ त्यही बाल्यावस्थामा फर्कने हुटहुटी मनमा पलाउँछ। तर समयको चाल कहाँ आफ्नो बसमा हुन्छ र! जो बित्यो, बित्यो। हावाझैँ। जीवनमा सबैभन्दा असल मित्र पत्नी हुन्छिन् रे अनि असल शिक्षक बाबुआमा। होला पनि। त्यही गुरुहरूले आफ्नै अनुभवका आधारका विवाह गरेपछि थाहा पाउलास् भनेको ठट्टा जस्तो लाग्थ्यो। तर चन्द्रमुखीको रूपमा भित्र्याएकी त्यही पत्नी कहिलेकाहीँ ज्वालामुखीझैँ रौद्र रूपमा देखा पर्दा भने यकिन लाग्छ। सायद म जस्तै संसारका हरेक विवाहित पुरुष त्यस्तो समयमा न बहादुर बन्न सक्छन्, न त पुरुषत्वको दम्भ नै देखाउन सक्छन्। अनि त्यो बेला लाग्छ, जीवनका दिगो सम्बन्धले पनि कहिलेकाहीँ काँडा बनेर घोच्दोरहेछ।

धेरैजसो समय जुन आँखाको मट्काइमा मख्ख परिन्छ, त्यही मट्काइ कहिलेकाहीँ रौद्रताको प्रतीक पनि बन्दोरहेछ। जीवनमा धेरै पटक पत्नीजीको त्यही मट्काइमा तैरिइयो पनि, डुबियो पनि। अनि कहिले त्यही शैली फलाम पगाल्ने भट्टीको राप पनि बन्यो नै। प्रस्तुति एउटै, अर्थ मात्र फरक। वाह! कस्तो हेराइ। भोगाइ न हो। पत्नी त अचम्मकी संगी पो हुँदीरहिछन्। कहिले ठुस्किँदा तनाव त कहिले मीठो बोल्दा पनि तनाव। कहिले त मुसुक्क मुस्कुराउँदासमेत मनै थरर्र हुने। हरेक अवस्थामा आफू अब कसरी सिकार बन्नुपर्ने हो भन्ने झन् ठूलो तनाव।

त्यसैले हिजोआज लाग्छ, विवाहपछि पो सुरु हुँदोरहेछ, जीवनको वास्तविक इनिङ। वास्तविक जीवनमा थ्रिलरको रोमांचकता। जीवनको कुन मोडमा कहिले कस्तो ‘ट्विस्ट’ आउने हो, थाहै नहुने। तर पत्नीसँगको संगतले एउटा ज्ञान भने प्राप्त भयो- जीवनमा कहिल्यै झूटो बोल्नुहुँदैन। जे बोले पनि झूटै बोलेको हो कि जस्तो शंकालु नजरले हेर्ने बानी भएका पत्नीसँग झूट बोलेर किन यमराजको बहीखातामा समेत पाप चढाउनु! त्यसैले आजकाल मैले पत्नीसँग झूटो बोल्न छाडेको छु। धर्मको मिटर बढाइरहेकै छु। 

पत्नीजीसँग रोमान्सका क्षणलाई केही बेर बिर्सने हो भने आखिर जीवनको अतिउत्तम समय भनेको बालापन नै हुँदोरहेछ। के गर्नु, त्यो ज्ञान, त्यो समय बितेपछि मात्र प्राप्त भयो। के गर्नु बगेको खोला फर्कने भए पो! त्यसैले त मलाई जस्तै अरूलाई पनि लाग्दो हो- बाबुआमालाई कजाएर खाएको दिनतिर फेरि फर्कुंफर्कुंझैँ लाग्ने तर नसकिने रहेछ। जसरी जतिसुकै गरे पनि पहिरो गएपछि त्यही माटोलाई फेरि त्यही भीरमा टाँसेर पुरानो स्वरूपमा फर्काउन सकिँदैन। जसरी बगेको पानी र समयलाई फेरि ‘रिबाइन्ड’ गर्न सकिँदैन, त्यस्तै रहेछ मानिसको चोला। नत्र म अहिले नै बालक बनिदिन्थेँ, कस्सम! मेरै छोरा जत्रो।

जीवनमा गरेका सबै गल्तीलाई कहिल्यै ‘रिकभर' गर्न नसकिने गरेर ‘डिलिट’ गरिदिन्थेँ। राम्रा सम्बन्धलाई सधैँका लागि ‘गुगल ड्राइभमा स्टोर’ गरेर राख्थेँ। यसको अर्थ आफ्नो जन्मने अधिकारमै पूर्णबिराम लगाउँथे भन्ने पनि होइन। एउटा मानिसले गर्ने सबै कार्य गर्थें, जीवनलाई मीठैसँग भोग्थेँ तर अहिले पनि मेरो जीवन नमीठो छैन। राजभोग र रसवरीमा कुन मीठो भनेर खुट्याउन नसकेको मात्र हो। अहिले भोगिरहेको जिन्दगीमा मिठास थप्ने चाहना त सबैको हुँदो हो, मेरै जस्तो- थोरै गुलाबजल छर्केर।

जीवनका कुनै मोडमा गाँसिएका कतिपय सम्बन्ध समयसँगै टाढा बन्दै गए। कति नजिक हुँदै गए। म पनि त्यसरी नै मुस्कुराउँदै छु, त्यो हिमालझैँ अहिले, जो बादललाई स्पर्श गर्दै आफ्नै जीवनको अंशसँग लुटपुटिएको भ्रम पाल्छ। अनि कुनै दिन पग्लेर जाने हिउँलाई च्यापेर आफ्नोपन खोजिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.