|

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ की कमला थरुनी गत पुस ४ गते श्रीमानसँगै जंगलमा घाँसदाउरा खोज्न गएको वेलाहराइन्। श्रीमान् सुनिल चौधरी श्रीमती जंगलमा हराएको र खोज्दा नभेटिएको भन्दै घर फर्किए। 

सुनिल र परिवारका अन्य सदस्य खोजी गर्न पुनः जंगल गए तर कमला फेला परिनन्। परिवारले अन्य ठाउँमा पनि खोजी गर्दै सञ्चारमाध्यममा कमला हराएको सूचना प्रसारण गरे तर, पत्तो लागेन। 

१३ दिनपछि १७ गते चिसापानी जंगलमा घाँसदाउरा गर्न गएका महिलाहरूले एक महिलाको शव देखे। महिलाहरूले शव देखेपछि गाउँले र प्रहरीलाई समेत खबर गरे। खबर पाउनासाथ  घटनास्थलमा पुगेको प्रहरीले घटनास्थलको मुचुल्का उठाएर १८ गते शवको पोष्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा पठायो। त्यो शव पुस ४ गते हराएकी २१ वर्षीया कमलाको थियो।  

घटनास्थलमा शवको प्रकृति हेर्दा कसैले हत्या गरेको जस्तो प्रकृतिमा देखिएको र शरीरको तल्लो भागको कपडा समेत नरहेको अवस्था देखिएपछि प्रहरीले उनका श्रीमान् सुनिललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गर्‍यो। 

अनुसन्धानका क्रममा सुनिलले कमलाको हत्या आफैँले गरेको स्वीकार गरे। आपसी मनमुटावका कारण श्रीमतीको हत्या गरेको प्रहरीको बयानका क्रममा सुनिलले बताएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिम (नवलपरासी) का प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

मनमुटावकै कारण हत्या

१४ वर्षको उमेरमा प्रेम विवाह गरेका सुनिल र कमला बीच पछिल्लो समय मनमुटाव सुरु भएको थियो। सुनिलले कमलाको गतिविधिप्रति शंका गर्दै आएका थिए। उनीहरूबीच समय–समयमा झगडा समेत हुने गरेको सुनिलले प्रहरी बयानमा बताएका छन्। पुस ४ गते आफूले श्रीमतीलाई फकाएर जंगल लगेको र त्यहीँ हत्या गरेको बताएका छन्। 

हत्या गरेर हराएको नाटक

पारिवारिक मनमुटावका कारण सुनिलले जंगलमै श्रीमती कमलाको हत्या गरेर फर्किएपछि कमला जंगलबाटै हराएको र खोज गर्दा समेत नभेटिएको बताएका थिए।कमला हराएको भन्दै परिवारले स्थानीय सञ्चारमाध्यममा सूचना समेत प्रसारण गर्‍यो। शव भेटिएपछि मृत्यु शंकास्पद देखिएको भन्दै परिवारजनसँग प्रतिक्रिया लिएको थियो।

घटना लुकाउनका लागि गरिएको प्रयास प्रहरीको गम्भीर अनुसन्धानका कारण सफल हुन सकेन। प्रहरीले घटनाको प्रकृति हेरसकेपछि सुनिललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। प्रहरी अनुसन्धानका क्रममा सुनिलले  पारिवारिक मनमुटावकै कारण कमलाको हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.