|

काठमाडौं : कवि जीवन खत्रीको कविता कविता सङ्ग्रह 'आगोको वर्णमाला' शनिबार सर्वनाम थिएटरमा लोकार्पण गरिएको छ। कृतिलाई वरिष्ठ कवि तुलसी दिवस, मोमिला, बिमल आचार्य, दीपक सापकोटा र जीवनका बुबा आमाले संयुक्त रुपमा विमोचन गरेका हुन्।

कार्यक्रममा पहिलो सेसनअन्तर्गत कवि मोमिला, विमल आचार्य र दीपक सापकोटाले आगोको वर्णमालामाथि अन्तरसंवाद गरेका थिए। अन्तरसंवादमा बोल्दै दीपक सापकोटाले जीवनका कविताहरू क‍ोमल र आमाका बिम्बहरूमा बडो कलात्मक र गहिरो अर्थका साथ खेल्ने कवि भएको बताए। उनले थपे, 'वास्तवमा उनको यो कृतिले उनलाई नयाँ उचाई दिनेछ।'

कविहरूको भीडमा प्रष्ट चिनाउन सक्ने कृति भएको बताए। समालोचक तथा पत्रकार विमल आचार्यले नेपाली कविता क्षेत्रमा जीवन खत्रीको कविताहरू फरक र बलशाली कविता भएको दाबी गरे। उनले भने, 'उनको कविता लेखनको शैली बिशिष्ट छ।' उनका कविता पढ्दा उनी प्रगतीबादी कवि हुन भन्ने कुरामा शंका नरहेको जिकिर गरे।

कवि म‍ोमिलाले जीवनका कविताहरू सुन्दर र सरल रहेको भए पनि आगोजस्तै रापिलो समेत रहेको बताइन्। उनले कविता लेख्नु सामान्य कुरा हाेइनतर यो कुरा जीवनले मनन गरेर लेखेका बताइन्। उनले खत्रीका केही कविता असाध्यै उत्कृष्ट रहेको दावी गरिन्। 'उनका कविताको क्राफ्ट असाध्यै उत्कृष्ट छ। विषयको गहिराइमा प्रवेश गर्ने तरिका पनि राम्रो छ। अझ अन्तर बिरोधसहित कविताको इन्डिङ दिने शैलीले जीवन कवि जीवननै भएर बाँच्ने छन्।' उनले थपिन्, 'केही कविताका विषय दोहोरिएका हुन् कि भन्ने लागे पनि कवि भूपिका कविता समेत केही कविता झुर भए पनि जीवनलाई पनि कम आक्न हुन्न।'

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वरिष्ठ कवि तुलसी दिवसले आगोको वर्णमाला कविता संग्रह राम्रो रहेको बताउँदै कमजोरी सबैमा हुने र त्यही कमजोरी नै कविका विशेषता हुने बताए। कविले तालीका लागि नभई कविताका लागि कविता लेख्नुपर्नेमा उनले जोड दिए। 'नेपाली कविता निकै कम लेखिएका छन्। तर जीवन खत्रीले साँच्चिकै पहाडी क्षेत्रका बिम्बहरू टिपेर नेपाली कविता लेखेका छन्' उनले भने, 'जीवनले कविताका लागि कविता लेखेका छन् र नेपाली साहित्यमा खत्री चम्किने तारा हुन्।'

कवि जीवनका कवितामा फूलमा जस्तो कोमलता रहेको तर चट्टानी चोट दिन सक्ने क्षमता भएको समेत बताए। यूरेका प्रकाशनले आयोजना गरेको कार्यक्रमलाई बाबु त्रिपाठीले सहजकर्ताको भूमिका निभाएका थिए। कार्यक्रममा कवि जीवन खत्रीले आफ्नो कृतिबाट ‘आमाहरूको गन्थन’, ‘नानीबाबुहरू, पात र प्रेम’ कविता वाचन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.