|

ओखलढुंगा : ओखलढुंगाको मोलुंग गाउँपालिका- १ (साविकको कुन्तादेवी- ७) की कल्पना कार्की कटुवालको १५ वर्ष नपुग्दै विवाह भयो। हुर्के बढेका छोरीचेली राख्नुहुन्न भन्ने परम्परावादी सोचकै कारण १५ वर्षमै विवाह गर्न बाध्य भइन् कल्पना। ०५६ फागुनमा सिद्धिचरण नगरपालिका- ११ सोब्रुका डम्बरबहादुर कटुवालसँग घर परिवारले नै परम्परागत ढंगबाट विवाह गरिदिएका हुन् उनको। विवाहपछि पनि उनी परिवारसँग खुसीसाथ जीवन बिताइरहेकी थिइन्।

विवाहपछि ०५७ मै उनीहरूकी पहिलो सन्तान छोरी जन्मिइन्। छोरी जन्मिएपछि पारिवारिक जिम्मेवारी थपिएको भन्दै डम्बर ०५८ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गए। वैदेशिक रोजगारीका लागि मलेसिया जाँदा उनले आफू विदेश जाँदाको ऋण तिरेर घरखर्चसमेत पठाइरहेका थिए।जेनतेन परिवार चली नै रहेको थियो। उनी ०६१ मा नेपाल फर्किए। नेपाल आएलगत्तै उनी फेरि वैदेशिक रोजगारीका लागि विदेश जाने भनेर काठमाडौं गए र ०६१ भदौमै कतार गए। उनी कतार गएको डेढ वर्षसम्म घर खर्च गर्न र आफू गएको ऋण तिर्न केही पैसा पठाए पनि त्यसपछि न पैसा न त फोन, न मान्छे जिउँदो छ या मरेको, केही पत्तो छैन।

वैदेसिक रोजगारीको सिलसिलामा ०६१ सालमा कतार पुगेका श्रीमान डम्बरबहादुर कटुवाल हालसम्म घर फर्किएका छैनन्। लामो समयदेखि श्रीमान घर नफर्किएपछि परिवार बिचल्लीमा परेको छ। विवाह गरेर पहिली छोरी सात वर्षकी र दास्री छोरी पेटमा हुँदा कतार भासिएका डम्बरबहादुरको हालसम्म अत्तोपत्तो छैन। कतार पुगेको डेढ वर्षसम्म आफूहरूबीच कुराकानी हुने गरेको श्रीमती कप्पनाले बताइन्। श्रीमान विदेश हिँडेको सात महिनापछि कान्छी छोरी जन्मिइन्। कुरा गर्दै गर्दा उनी भावुक बनिन् र आँखाभरी आँसु पारेर ०६२ मा एकाएक आफू सिकिस्त बिरामी परेर ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा भर्ना हुँदा श्रीमानसँग अन्तिम पटक कुरा गरेको कल्पनाले स्मरण गरिन्। आफू अस्पतालमा छँदा पैसा पठाइदिनु भनेर कुरा भएको तर त्यसपछि आजसम्म अत्तोपत्तो नभएको उनले बताइन्।

श्रीमानकै खोजीमा १२ वर्षदेखि 

०६२ देखि हालसम्म उनका श्रीमान सम्पर्कमा आएका छैनन्। काठमाडौं तीनकुनेस्थित स्लेन्डिड जब सोलुसन प्रा.लि.मार्फत् कतार गएका डम्बरबहादुरलाई कम्पनीले भने स्वदेश फर्किसकेको बताउने गरेको छ। श्रीमानको खोजीमा धेरै पटक काठमाडौं गएको तर कम्पनीले नेपाल फर्किसकेको बताएपछि आफूलाई नरमाइलो लागेको उनले बताइन्। खोजीका लागि आफू कम्पनीभन्दा अन्य स्थानमा नपुगेका कारण अझै विदेशमै पो हुनुहुन्छ कि भनेर मन बुझाउने गरेको उनले बताइन्।

श्रीमानकै खोजीका लागि श्रीमती कल्पनाले हालसम्म आफ्नो अचल सम्पत्तिदेखी लिएर डेढ लाख रुपैयाँ बढी नगद ऋण गरेर खर्च गरिसकेको बताइन्। उनले श्रीमनको खोजीका लागि काठमाडौं प्रहरीलाई समेत गुहारका लागि आग्रह गरे पनि फेला पार्न नसकेको बताइन्। श्रीमानको खोजीकै लागि कल्पनाले जग्गाजमिनसमेत सकिसकेकी छन्। ‘अझै पनि उहाँ आउनुहुन्छ भन्ने आशामा छु’, उनले भनिन्, ‘सबैतिर खोजियो, उहाँलाई खोज्दा लागेको ऋणसमेत तिर्न सकेको छैन।’ हाल कटुवालका छोरीहरू शोभा कटुवाल १८ वर्ष र सपना कटुवाल ११ वर्षका छन्। जेठी छोरी शोभा सगरमाथा जनता मावि ओखलढुंगामा कक्षा ११ मा अध्यनरत गरिरहेकी छन् भने सानी छोरी सपना सोब्रुकै एक विद्यालयमा अध्यनरत छन्।

'बाबाको आश छैन'

कल्पना र डम्बरका दुई छोरी शोभा र सपना आफूले बाबाको आश मारिसकेको बताउँछन्। आफू सानो छँदा बाबाको न्यास्रो लाग्ने गरेको भए पनि अहिले त बानी परिसकेको शोभा बताउँछिन्। 'बाबा हाम्रालागि मरिसक्नुभयो, जुन बेला आवश्यकता थियो, त्यो बेला बाबा नभएपछि अब किन चाहियो?', रुँदै शोभाले भनिन्, 'सबैका घरमा चाडवाड आउँदा हाम्रो घरमा भने सधैँ बाबाको सम्झनामा रुवाबासी हुने गर्थ्यो।' उनले कहिलेकाहीँ बहिनीले बाबाको कुरा गर्दा पनि आफूलाई रिस मात्रै उठ्ने गरेको पनि बताइन्। तर पनि बाबा भएको भए आफूहरूले यति धेरै दु:ख गर्नु नपर्ने र ममीलाई पनि दुःख नहुने थियो भनेर कल्पना मात्रै गर्ने गरेको उनको भनाइ छ। कान्छी छोरी सपनालाई त बुबाको अनुहार नै थाहा छैन।

भूकम्पले झनै ण बढादियो

०७२ को विनासकारी भूकम्पले कल्पनाको घर सबै भत्काइदियो। दिउँसो भएका कारण उनीहरू बाँच्न त सफल भए तर बेलुकादेखि बस्ने बास थिएन। श्रीमानको खोजीमा लाग्दा कल्पनाले भएको एक टुक्रो जमिनबाहेक सबै श्री सम्पत्ति सकिन्।

भूकम्पपछिका दिनहरू कष्टकर भए कसरी बाँच्ने, कहाँ बस्ने, के खाने? भनेर सधैँ चिन्तित हुने गर्थिन् कल्पना। आफू मात्रै भए त जसोतसो हुन्थ्यो होला, छोरीहरू पनि भएका कारण आफू कहाँ जाने, के गर्ने भन्ने अन्योलमा परेको उनले बताइन्। सुरुमा सरकारले उपलब्ध गराएको पैसाले सामान्य टहरो बनाएर दुई वर्षसम्म बसेको अनुभव सुनाउँदै उनले घर बनाउँदा धरै ऋणसमेत लागेको बताइन्। 'घर त जसोतसो बनाएँ तर श्रीमान खोजेको पैसा तिर्न नसक्दै घरले अर्को चार लाख ऋणमा पारिदियो', उनले भनिन्, 'श्रीमान खोज्दा विभिन्न लघुवित्तहरूमा लिएको ऋण कसरी तिर्नु भनिरहेको अवस्थामा घर बनाउँदा सात लाख लाग्यो, अब झन चिन्ताले सताएको छ।

एकल महिला जीविका कसरी चलाउने भन्ने चिन्ता त छँदै छ कल्पनालाई, छोरीहरूलाई कसरी शिक्षादीक्षा दिने भन्ने झनै चिन्ता भएको छ। छिमेकी भीमकुमारी खत्रीले कल्पनाको परिवार बिचल्लीमा परेको र घर व्यवहार धान्ने मान्छे नहुँदा कल्पनाका परिवारको बिजोग रहेको उनले सुनाइन्। छिमेकीहरू कतै डम्बर अर्कै घरबार गरेर त बसेको छैन भन्ने आशंकासमेत रहेको बताउँछन्। कल्पनाले विभिन्न संचार माध्यमबाट आफ्ना श्रीमान खोजिदिनसमेत आग्रह गरेकी छन्। हाल दुई छोरीसँगै बस्दै आएकी कल्पना स्थानीय शान्तिसुर होटलमा भाँडा माझेर गुजारा चलाउँदै आएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.