|

दयाराम विष्ट, एक निष्ठावान र परिवर्तनको पक्षमा काम गर्ने पुराना पत्रकारको नाम हो। पुस १२ गते उनको ८६ वर्षको उमेरमा निधन भयो। उनले पटनाबाट स्नातक उत्तीर्ण गर्नुभएको हो। सुरुमा उहाँले फिल्म हलमा म्यानेजरको काम गर्नुभयो, अरूको नोकरी पनि गर्नुभयो।

उहाँले जीवनको आधा उमेरमा पुगेर छापाखाना चलाउन थाल्नुभएको थियो। नयाँसडकमा रहेको उहाँको छापाखानामा राजनीतिक व्यक्तित्वको जम्काभेट हुने गर्दथ्यो। उहाँको संगत रूपचन्द्र विष्ट, नरहरी आचार्य जस्ता निष्ठावान नेताहरूसँग थियो। राजनीतिक रूपमा आफू कहीँ आवद्ध नभए पनि सबै पार्टीका नेतासँग नजिक हुनुहुन्थ्यो दयाराम विष्ट ।

रूपचन्द्र विष्टसँग पनि राम्रै दोस्ती भएका दयारामको एउटा प्रेस सञ्चालक भएका कारण ‘थाहा अभियान’ का धेरै प्रचारहरू पनि त्यहीँ छापिन्थे। म पनि थाहा अभियानको एउटा सिपाही भएका कारण दयारामसँग मेरो राम्रै सम्बन्ध भयो। ‘थाहा’ पुस्तक पनि मैले त्यहीँ छापेको हो। उनका चार जना छोराहरू छन्। उनहरूसँग पनि मेरो अत्यन्तै राम्रो सम्बन्ध छ। उमेरले मभन्दा धेरै अगाडिकाे भए पनि राम्रो मित्रता रह्यो।

दयाराम नामअनुसार नै दयालु धेरै मिलनसार, सहयोगी, सालिन र सरल हुनुहुन्थ्यो। राजनीतिक चेतना भएको र लोकतन्त्रिक विचार राख्ने मान्छे हुनुका साथै कसैलाई अप्ठ्यारो नबनाई आफ्नो जीवन बिताउनुभयो।

थाहा अभियानमा उहाँको प्रत्यक्ष संलग्नता थिएन। तर हामी जे छाप्नु पर्दा पनि उहाँकै प्रेसमा हामी पर्चा छाप्ने गर्थ्यौं । उहाँले थाहा अभियानमा मानसिक पूर्णरूपले सहयोग गर्नुहुन्थ्यो। आफूले संलग्न हुन नसकेका काममा  छोराहरू रवीन र नवीनलाई भौतिक सहभागीताका लागि अभियानमा सामेल गराउनुभयो। दुई छोरा मदन र प्रकाश भने थाहा अभियानका समर्थक हुनुहुन्थ्यो।

रूपचन्द्र विष्ट ‘थाहा’ अभियानमार्फत् तत्कालीन बेठीक राजनीतिक व्यवस्थामाथि जनमुखी राजनीतिको नामबाट ठाडो प्रहार गर्ने , भलै थाहा दर्शनको विषय राजनीतिमा सीमित थिएन। तर, समुन्नत समाजका सूत्रधार मानिने राजनीतिको मुहान नै दूषित भएका कारण उनका अधिकांश विचारहरू यही फोहोर सफा गर्नमा केन्द्रित थियो। थाहा दर्शनको माध्यमबाट उनी समस्त मानव जातिलाई व्युँझाउन खोज्थे। अझ खासगरी श्रमिक र नारीको सम्बन्धमा उनको बढी चासो थियो। राजनीतिबारे उनको बडो सरल बुझाइ थियो।

रूपचन्द्रको विष्टका यो सिद्धान्तमा दयारामको झुकाव थियो। थाहा आन्दोलनलाई नजिकबाट नियाल्न पाउनुभएको थियो दयारामले। ‘राजनीतिक स्वतन्त्रता हरेकलाई आर्थिक विकास समाजलाई’ रूपचन्द्र विष्टको यो नारामा उनले पनि समर्थन गर्नुभएको थियो। उन देशमा लोकतान्त्रिक पद्धति स्थापना हुनुपर्छ भन्ने दृष्टिकोण राख्नुहुन्थ्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.