रक क्लाइम्बिङको ट्रेनिङ सेन्टर चुन पहरा

|

तनहुँ : अहिले चट्टान आरोहण गर्ने पर्यटकको उपयुक्त गन्तव्य बन्दै गएको बन्दीपुर गाउँपालिका- ४ विमलनगरस्थित चुन पहरा रक क्लाइम्बिङको ट्रेनिङ सेन्टर बन्ने भएको छ। साहसिक खेलको रूपमा लिइने रक क्लाइम्बिङका लागि विभिन्न क्षेत्रका व्यक्तिहरू ट्रेनिङ लिन आउने क्रम बढेसँगै यस क्षेत्रलाई ट्रेनिङ सेन्टरको रूपमा विकास गर्ने भएको हो। विभिन्न हिमाल चढ्नका लागि चुन पहरामा तालिम लिन आउने र ठूला हिमालहरू आरोहण गर्ने गरेको विमलनगर सिद्ध गुफा विकास समितिले जनाएको छ।

हिमाल चढ्नका लागिसमेत यहाँ तालिम लिन आउने गरेको विमलनगर सिद्ध गुफा समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए। ‘यो क्षेत्र तालिमका लागि उपयुक्त रहेको छ’, श्रेष्ठले भने, ‘सशस्त्र प्रहरी बल, प्रहरी यहाँ तालिम लिन आइसकेका छन्, अब नेपाली सेनाले यहीँ तालिम लिन आउँदैछ। यो क्षेत्रमा तालिम लिएर अन्य विभिन्न अग्ला हिमालहरूमा चढ्ने गरेका छन्। अब केही समयमा यसलाई ट्रेनिङ सेन्टरको रूपमा स्थापित गर्नेछौँ।’ रक क्लाइम्बिङको सिजन सुरु भएसँगै चट्टान आरोहण गर्न आउनेको संख्या दिनानुदिन बढ्दो छ। साहसिक खेलको माध्यमबाट अनुभव बटुल्न पछिल्लो समय मानिसहरूको यसतर्फ आकर्षण बढेको श्रेष्ठको भनाइ छ।

चुन पहरालाई ट्रेनिङ सेन्टरको रूपमा स्थापित गर्न विभिन्न क्षेत्रले सहयोग र दर्ताका लागि प्रक्रिया अगाडि बढाएको उनले बताए। यसका लागि विभिन्न मापदण्ड निर्धारण गर्ने कार्यहरू भइरहेको उनले बताए। चुन पहरामा रक क्लाइम्बिङ सिकेर ठूला चट्टान चढ्ने गरेको उनको भनाइ छ। चट्टान आरोहणका लागि चुन पहरामा स्वदेश तथा विदेशबाट पर्यटकहरू आउने गरेको उनले जानकारी दिए। ‘पर्यटक आकर्षित गर्न केही समय अगाडि रक क्लाइम्बिङ प्रतियोगितासमेत गरेका थियौँ, त्यसपछि प्रचार प्रसार भएको हो’, उनले भने, ‘अहिले आरोहण गर्नेहरूले पहिलेदेखि नै सम्पर्क गरी आउने गर्छन्, जसले गर्दा आरोहीको भीड बढ्दै गएको छ।’

पृथ्वी राजमार्गदेखि करिव ७५ मिटरको दूरीमा रहेको चुन पहरामा आरोहणका लागि टाढाटाढाबाट प्रशिक्षार्थीहरू आउने गरेका छन्। प्रशिक्षक भीष्मराज थपलियाले १२ जना आरोही टोली लिएर शनिबार विमलनगर आएको बताए। चट्टान आरोहण रमाइलो र साहसिक खेल मानिन्छ। यो पहाडमा डोरीको सहायताले चढ्ने गरिन्छ। स्रोत र साधन मिलाएर होसियारीपूर्वक पहरा सुरक्षित साथ चढ्नुपर्छ। ‘चुन पहरालाई चट्टान आरोहणका लागि उपयुक्त ठाउँ बनाउन सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ’, श्रेष्ठले भने, ‘बन्दीपुरको आम्दानीको स्रोत बन्नुका साथै पर्यटक वृद्धिसमेत हुनेछ।’

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले प्रचार प्रसार अझै कम भएको र यसको प्रचार प्रसार गर्न सके गण्डकी प्रदेशकै उपयुक्त गन्तव्य बन्ने बताए। ‘यसको प्रचारका लागि सबै जुट्नुपर्छ’, उनले भने। हेलमेट, हाडनेस, विले, डिभाइस, लक र अनलक क्याराविन, क्विक डु, डाइनामिक रोप, टेप सिलिङलगायतका सहायताले आरोहीले चट्टान आरोहण गर्छन्। सिनियर माउन्टेन गाइडहरू पदम घले, प्रेम गुरुङ, सुनार गुरुङ र श्री महर्जनले स्वर्गीय गाइड इमानसिंह गुरुङको स्मृतिमा ०६३ साउन ९ गते रुट तयार गरी चुन पहरामा चट्टान आरोहण सुरु गरेको सिद्ध गुफा विकास समितिले जनाएको छ। माघ ४ गते १०० जनाको टिम लिएर पर्साको जर्घाबाट कमाण्डो टोली चट्टान आरोहण तालिमका लागि चुन पहरा आउने अध्यक्ष श्रेष्ठले बताए।

पृथ्वी राजमार्ग छेउमै रहेको चुन पहरामा रक क्लाइम्बिङ गर्नेको उत्साहजनक सहभागिता हुने गरेको छ। विशेषगरी असोज, कार्तिक, मंसिर, पुस, माघ, फागुन र चैत महिना रक क्लाइम्बिङका लागि उपयुक्त सिजन मानिन्छ। एकैचोटि ६० जना आरोहीले पहरामा अभ्यास गर्न मिल्ने प्राकृतिक ठाउँ भएकाले यो धेरै जना अभ्यास गर्न मिल्ने नेपालमै पहिलो ठाउँ भएको दाबी गरिएको छ। आरोहणका लागि संघसंस्थाले पहिल्यै सम्पर्क गरी आएको खण्डमा नि:शुल्क अभ्यासको समेत व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए। एक्लै आएमा रक क्लाइम्बिङ गरेको १०० रुपैयाँ तिर्नुपर्ने र पहरो चढ्दा चाहिने स्रोत साधन आफैँले व्यवस्था गर्नुपर्नेछ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैंस गुरुङले स्थानीय, राजनीतिक दल र गाउँपालिका सबै मिलेर यसको प्रचार प्रसार गर्नुपर्ने बताए। ‘आरोहीहरू पहरामा कमिलाझैँ चढ्ने र झर्ने गर्छन्, कमिलाको जस्तै मानिसको ताँती पहरामा डोरीको सहायताले चढेको देख्दा राजमार्गमा गुड्ने सवारी साधनसमेत रोकेर हेर्ने गर्छन्', उनले भने। नेपाल सरकारबाट गृह मन्त्रालय अन्तर्गत प्रहरी युक्ति तालिम शाखाबाट कमाण्डो तालिमका लागि प्रत्येक वर्ष विमलनगर चुन पहरा आउने गरेका छन्। उक्त पहरामा चट्टानसम्बन्धी व्यावहारिक ज्ञान लिनका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी गणको टोली तीन पटक आइसकेको छ।

त्यस्तै, नवलपरासीको रामनगरस्थित प्रहरी युक्ति तालिम महाविद्यालयले प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमका लागि चुन पहरालाई छनोट गरी तालिम लिएको श्रेष्ठको भनाइ छ। त्यहाँ आरोहण गर्नेको संख्या वार्षिक एक हजारदेखि एक हजार २०० सम्म पुग्ने गरेको छ। ०६४ बाट संचालनमा आएको चुन पहरामा हालसम्म करिव १० हजार आरोहीले आरोहण गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.