विचार

मर्दै छ मेरो बस्ती
SHARES

पुस २६, २०७५

    वास्तवमा बाबुआमाको रहरभन्दा बाध्यताले परिवारमा तेस्रो सन्तान जन्मन्छन्। समाज अहिले जस्तो खुला बनिसकेको भए सायद मेरो अस्तित्व आमाको गर्भमा नै तुहिन्थ्यो। तर पनि काठमाडौं उपत्यकाको जनसंख्या चार लाखको नजिक पुग्दा म पनि त्यो गणनाको एउटा अंक बन्न पुगेँ। हरेकतिरबाट लुटिएको काठमाडौं हेर्नुपर्ने लेखिएको रहेछ र पो आज आधा करोड बढीको गणनामा पनि अटाइरहनुपरेको रहेछ। मेरा बाबुआमाको सोचले मूर्तरूप लिन सकेन वा योजनालाई अगाडि बढाएनन् वा गर्भमा आइसकेका सन्तानको माया पलायो, मैले अहिलेभन्दा सफा अकाशमुनि पहिलो पटक आँखा खोलेंँ अनि राजधानीमा हिजोआज जन्मने बालबालिकाभन्दा मीठो र स्वच्छ श्वास फेरेँ। म जन्मँदाताका यो शहरको वातावरण प्रदूषित थिएन।

    ‘तेरा बाउले त पेटमै हुँदा फाल्दे भनेका हुन्’, आवेगमा ममीले भन्दा बाबा ङिच्च पर्थे। जसरी यो मुलुकलाई स्वर्गझैँ बनाउँछौँ भन्नेहरू लाजशरमबिना डिङ हाँक्छन् नि! हो, गर्न नसक्दा हाँस्छन् नि! त्यसैगरी ङिच्च पर्दै। तर पेटमा हुँदा मलाई नरुचाएका बाबाले नै जीवनमा सबैभन्दा बढी माया पोखे मलाई। आमाको गर्भमा नै मेरो अस्तित्व तुहाउन चाहने बाबाको मृत्युको दिन जति पीडा कहिल्यै व्यहोरेको थिइनँ। आखिर जिन्दगीको ‘क्यानभास’ नै यस्तै हुन्छ। कहिले कस्तो रङ पोखिन्छ अनि कस्तो आकार लिन्छ, सधैँ बेखबर। मलाई थाहा भएसम्म, कहिलेकाहीँ तालिम अध्ययनका लागि बाहिर गएबाहेक मेरा बाबाको अधिकांश समय बालुवाटार (नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय)मा नै बित्यो। स्कुल नभएका बेला मलाई बाबासँगै अफिस जान साह्रै मन लाग्ने। बाबासँग समय बिताउने चाहना अनि त्यहाँको क्यान्टिनका मीठा परिकार। बालुवाटारले मेरो मन तान्ने बहाना बस् त्यही थिए।

    प्राय: शनिबार काम परेर जाँदा बाबा मलाई पनि सँगै लान्थे। राष्ट्र बैंकको क्यान्टिनमा पाक्ने मासु साह्रै मीठो हुन्थ्यो। मासु नपाक्दा आलु पाक्थ्यो। बाबाका दौँतरीहरू मलाई झुक्याएर आलुलाई मासु भनेर खुवाउँथे। त्यसमध्ये एक जना थिइन्, चण्डिका अन्टी। मैले उनको नाम नै ‘आलुलाई मासु भनेर खुवाउने अन्टी' राखेको थिएँ। राष्ट्र बैंकमा जाँदाजाँदा त्यहाँको दरबारझैँ विशाल भवनले मलाई आकर्षित गरेकै थियो। त्यो भवनको हरेक कुनाकुनासँग म जानकार थिएँ। त्यसैले कहिलेकाहीँ बाबालाई ‘सरप्राइज’ दिन पनि एक्लै पुगिदिन्थेँ, खाजा खाने समयमा। सबैले चिन्थे। क्यान्टिनमा गए खाजा पनि दिन्थे। सायद बाबाले पछि पैसा तिर्थे होलान्। फोकटमै खाएँ कि कतिपय बेला। राम जानोस्। जे भए पनि मलाई त्यहाँ बरालिन कुनै रोकटोक थिएन।

    अहिले राष्ट्र बैंकको त्यो दरबारको इतिहास पनि मरेछ। भत्किएछ। केही दिनअघि काम विशेषले त्यहाँ पुग्दा कताकता नरमाइलो लाग्यो। इतिहासको एउटा बुढो साक्षी ढलेछ। दु:ख लाग्यो। हजारौँको लास हेरेको हामीलाई त्यो बुढो भवनको अस्तित्व मेटिँदा माया जाग्नु नपर्ने हो तर बाल्यकालका जस्ता मीठा सम्झना अरू कतै भेटिँदैनरहेछ। त्यसैले होला, त्यसको अलिक बढी नै माया लाग्यो।

    कुनै बेला मन लोभ्याउने बगैँचाहरू बनेका जग्गामा अहिले आधुनिक भवनहरू उम्रिएका रहेछन् अनि त्यो मनमोहक भवन रहेको स्थानमा घाँस। ती बगैँचामा रमाउने पुतलीका हुल पनि लोप भए होलान् तर मलाई त्यो विषयमा गम्न मन लागेन। आखिर यो मुलुक र यो शहरलाई पनि त मनमोहक बगैँचाबाट खण्डहर बनाइँदै छ। हुनत त्यो जग्गामा चाँडै त्यही स्वरूपको भवन बन्नेछ रे! सायद त्यसको भुइँ मैले टेकेझैँ हुनेछैन। भित्ता मैले हात घिसार्दै अगाडि बढेजस्ता हुँदैनन् होला। भवनमा आधुनिकता थपिन्छ नै। हिँड्दा ड्याङड्याङ आवाज निस्कने काठका पुराना भर्‍याङ पनि हुँदैनन् होला। किनकि हाम्रो स्वभाव नै यस्तो बनिसक्यो। जुन भर्‍याङमा टेकेर माथि पुगिएको छ, दोहोर्‍याएर तल फर्केर हेर्न मन नलाग्ने। नत्र शासनकर्ताका लागि यो मुलुक र उनका हरेक आन्दोलन पनि पुराना भर्‍याङ बराबर नहुनुपर्ने हो अनि जनता सफलताका सिँढी।

    त्यो भवन ठडिएको स्थानमा आएको परिवर्तनझैँ यो मुलुक अनि काठमाडौं उपत्यकामा निकै परिवर्तन आएको छ। यो शहर पनि त हाम्रै बालमनझैँ सफा थियो। बेलाबेला काठमाडौंको त्यो सुन्दर रूपमा एक पटक टहलिन्छु, हराउँछु। कल्पनामै सही। सम्झनामै सही।

    पानीले बादल बनेर पानीकै स्वरूपमा फेरि वर्षिनुको त केही अर्थ छ। हावाको बहावमा पनि अर्थ छ। खोलाको बग्नुमा पनि अर्थ छ। चराको चिरिबिरमा पनि अर्थ छ। तर परिवर्तनका नाममा विनाश गरेर विकास गर्नुको कुनै अर्थ छैन। जसरी बादल पनि मन्द वर्षिएको रमाइलो हुन्छ, झरीका रूपमा होइन। हावा पनि सुस्त बहँदा आनन्द मिल्छ, आँधीका रूपमा होइन। अनि जसरी चराहरू पनि लयबद्ध भएर चिरिबिर गरेको मनमोहक सुनिन्छ, हो, त्यस्तै आफू जन्मेको हुर्केको मुलुक वा शहर पनि विध्वंशबिना विकसित भएको हेर्ने चाहना राख्नु अस्वाभाविकै पनि होइन नि!

    सत्य हो, यतिबिघ्न जनसंख्या धानिरहेको राजधानी जस्तो शहरमा पूर्वाधारहरू त प्रसस्तै बन्नै पर्छ। तर, अहिले जस्तो मुर्ख सोचले होइन। जहाँ भत्काइपछि निर्माणका कुनै योजना छैनन्। खनेपछि पुर्ने योजना छैनन्। जनसंख्या यति बिघ्न बढिसक्यो कि अभाव चरममा छ। अस्पतालमा बिरामीका लागि बेड छैनन् अनि आर्यघाटमा अन्तिम यात्रामा पनि पालो कुर्नुपर्छ।

    हामीले पशुपतिको आर्यघाटमा कुनै दिन लास नजलेका कारण कुशको लास जलाउनुपरेको पनि सुनेका छौँ। अहिले त्यही आर्यघाटमा लासले आफ्नो अन्तिम यात्राको टिकट काट्न पनि घण्टौँ लाइन बस्नुपर्छ। जसरी कुनै बेला जय नेपालमा हिट फिल्म चलेका बेला घण्टौँ लाइनमा बसेर टिकट काट्नुपर्थ्यो। त्यसैले अहिले काठमाडौं ‘हाउसफुल’ छ। यहाँ हरेक कुराका लागि घण्टौँ लाइन बस्नुपर्छ। मानिसमा संवेदना मर्दै गइरहेझैँ छ। बाँच्ने धुनमा जीवनका लय हराउँदै छ। लाग्छ, सारा नेपाल नै काठमाडौंमा सरेको छ। त्यसैले यहाँ धान फल्ने खेतमा घरहरू उम्रिरहेका छन्। कहिलेसम्म धान्ला यो शहरले यो बर्बरता! दिक्क लाग्छ। हुनत २०७२ को भुइँचालो हामीलाई एक पटक चेतावनी दिइसकेको छ। खेतमा धानका बाला नै राम्रा देखिन्छन्, विशाल महल होइन। बरु हिलोमा लड्दै हिँडेको त्यो बस्ती राम्रो थियो, जहाँ अहिले हिँड्न मानव सागरलाई छिचोल्नुपर्छ। 

    हिजोआज अतिव्यस्त रहने चाबहिलमा हुर्कियो, जहाँ अहिले राती ९ बजे पनि सडक जाम भइरहन्छ। काठमाडौंको सर्वाधिक व्यस्त मार्गमा गनिन्छ अहिले। हामीले त्यही पिच रोडमा फुटबल खेल्यौँ। साँझ ५ बजेपछि चाबहिलबाट तल चक्रपथतिर नजान चेतावनी दिइन्थ्यो। चोर, डाँका होइन, स्याल र बोक्सीले तर्साउँछन् भन्थे। रत्नपार्क जाँदा हामी शहर गएको भन्थ्यौँ।

    हिजोअस्ति जस्तै लाग्छ, बाटोमा कोही भोकै हिँडेको छ भने घरमा बोलाएर सत्कार गर्थिन् मेरी आमा। तर आज उनी त्यस्ता भोकालाई देख्दा वास्ता गर्न छाडेकी छन्। त्यसैले लाग्छ, यो काठमाडौंमा भोका बढ्दै छन्। उपत्यकाका मठमन्दिर घुम्दा देखिने माग्नेहरूको संख्या पनि यो शहरको जनसंख्याझैँ बढेकाले पनि होला। अहिले त माग्नेहरू पनि कुनै हिन्दी फिल्ममा देखिएका पात्रझैँ लाग्छन्। माग्ने नै अनेकौँ तरिका। ट्राफिक जाममा समेत पिछा नछाड्ने। हामीले बाल्यकालमा शिवरात्रिबाहेक अरू समयमा माग्नेको यस्तो जनसंख्या कहिल्यै देखेका थिएनौँ, जुन आजकाल हरेक दिन देखिन्छ।

    कहिलेकाहीँ लाग्छ, हामी नेपाली अझ भन्नुपर्दा काठमाडौं उपत्यकाबासी घडीको उल्टो चालमा हिँडिरहेका छौँ। कुनै समयमा हामी धाराबाट आएको पानी खान्थ्यौँ। किसानले हाम्रै ‘सेफ्टी ट्यांकी’बाट निकालेर लगेको मलमा उमारेको तरकारी खान्थ्यौँ। सफा सडकमा हिँड्थ्यौँ। मास्क भन्ने पत्तै थिएन। हिलो बाटोमा हिँड्दा अहिलेझैँ गुनासो गर्दैनथ्यौँ किनकि एक्कासि अचाक्ली ‘स्पिड’मा आएर हिलो छ्याप्ने सवारी साधन पनि त कमै थिए। म जन्मँदा काठमाडौंको जनसंख्या जति थियो, अहिले त्यसको चार गुणा बढी त सवारी साधन नै छन्। त्यसैले यो मेसिनको शहर पनि बनेको छ। मानिसको मूल्य मेसिनभन्दा कम छ। १० लाख रुपैयाँ तिरे मार्न छुट। संवेदना नभएका टिपरझैँ यहाँका बासिन्दा पनि- अरूको दु:खमा हाँस्ने अनि सहयोग गर्नुपर्दा भाग्ने। राज्य त त्यसै असंवेदनशील छ। हामी पनि राज्यझैँ असंवेदनशील भएका छौँ। यस्तै लाग्छ।

    न गोली चल्थ्यो, न त अपहरणका खबर नै आउँथे। बलात्कारको स्वरूप यति वीभत्स थिएन। भ्रष्टाचार यतिबिघ्न थिएन। तर समयसँगै हाम्रो आत्मा मर्दै छ कि भन्ने पनि लाग्छ। जसरी काठमाडौंको सुन्दरता मर्दै छ, जसरी ०७२ सालको भुइँचालोले भग्नावेशमा परिणत गराएको छ। भुइँचालोले गर्न नसकेको विध्वंस नीतिनिर्माताका अधुरा र अपूरा योजनाले गरिदिएकै छन्। सरकार श्वास फेर्ने वातावरण दिन सक्दैन तर एकाबिहानै बाहिर ननिस्कन चेतावनी भने दिन सक्छ।

    हिजोआज अतिव्यस्त रहने चाबहिलमा हुर्कियो, जहाँ अहिले राती ९ बजे पनि सडक जाम भइरहन्छ। काठमाडौंको सर्वाधिक व्यस्त मार्गमा गनिन्छ अहिले। हामीले त्यही पिच रोडमा फुटबल खेल्यौँ। साँझ ५ बजेपछि चाबहिलबाट तल चक्रपथतिर नजान चेतावनी दिइन्थ्यो। चोर, डाँका होइन, स्याल र बोक्सीले तर्साउँछन् भन्थे। रत्नपार्क जाँदा हामी शहर गएको भन्थ्यौँ। लत्ता–कपडा किन्न हामी शहर नै जान्थ्यौँ। अहिले त काठमाडौं उपत्यकाको अन्तिम कुनोसमेत शहर बनिसकेको छ। त्यसमा खुसी लाग्छ। तर पूर्वाधार सम्पन्न शहर बनोस् भन्ने चाहना हुनु पनि अस्वाभाविक होइन।

    मेरा बाबाका एक मित्र बानेश्वरको भीमसेनगोलातिर बस्थे। मलाई सम्झना छ, वर्षायाममा म त्यहाँ जान मन गर्दिनँथेँ। उफ्! त्यहाँको बाटो हिँड्दा पनि चिप्लिने। कति पटक चिटिक्क परेर घरबाट गएको म त्यहाँ पुग्दासम्म हिलाम्मे हुन्थेँ। अहिले हेर्दा कुनै बेला कुनाकाप्चामा समेत बनिसकेका बाटाघाटा अहिले फेरि प्राचीन अवस्थामा फर्काइएका छन्। कुन दिन कुन खाल्डोमा चिप्लिनुपर्ने हो, अहिले पनि कसलाई के थाहा?

    गोपीकृष्ण हल रहेको फाँट, जसलाई आजकाल सरस्वती नगर भनिन्छ, हो त्यहीँ सेनाले प्याराजम्प तालिम गराउँथ्यो। अहिलेको जस्तो रंगविरंगी थिएनन्, प्यारासुट। पूरै फुस्रा हरिया रंगका हुन्थे, जसरी अहिले राजधानी उपत्यका फुस्रो बनाइएको छ। विमानबाट फुत्तफुत्त डल्लोझैँ झर्थे, जम्परहरू। त्यो हेर्न हामी त्यही फाँटसम्म पुग्थ्यौँ, दौड्दै। पछि काठमाडौंमा विद्युत प्रसारणको प्रमुख मार्ग त्यही खेतलाई बनाइएपछि त्यो डल्लो झरेको हेर्न दौडनुपरेन। फेरि कहिल्यै त्यो आनन्द पनि लिन पाइएन। अब काठमाडौंमा यस्ता दृश्य देखिँदैनन्। तर लोडसेडिङको मारमा कमी आएको छैन।

    अहिले काठमाडौंको अतिप्रसिद्ध ह्यात होटल रहेको खाली जग्गामा हामी फुटबल र क्रिकेट खेल्थ्यौँ। साथीभाइ मिल्यो, खेल्न गयो। मसँगै केही साथीभाइको आदत बिगार्ने थलो बन्यो, त्यो। चुरोट खान पनि सिकियो, त्यही चौरबाट। कम आपत पर्दैनथ्यो चुरोट खाएपछि। घरमा थाहा पाउलान् भनेर ल्वाङ खाइन्थ्यो, त्यसको माथिल्लो भाग औँलामा रगडिन्थ्यो। एउटा मित्रले घरबाटै साबुनसमेत लिएर आउँथे, हात धुन। बाटोमा गह्नाएको छ कि छैन भनेर एउटाले अर्कोको मुख सुँघ्दै आयो। क्या गजबका दिन थिए! तर जे भए पनि मनोरंजन भनेको त्यही खेल्ने, कुद्ने नै हुन्थ्यो हाम्रो। अहिले जस्तो भर्चुअल संसारमा होइन। तर के गर्नु, अहिले खेल्नका लागि ठाउँ पनि त छैन नि! मात्र एउटा फाइदा भएको छ- त्यस्ता खाली जग्गाबाट थप ‘चुरौट्या’को जन्म त हुँदैन। आखिर स्वस्थ नागरिक त करोडौँ लगानी गरेर खोलिएका क्लबहरूबाट उत्पादन भइहाल्छन्। 

    यसो आकाशतिर हेर्छु। हिजोका दिनमा झैँ आकाश खुल्दैन आजभोलि। हरिया देखिँदैनन्, वरिपरि पहाड। धुवाँ र धुलोले निस्सासिएको छ, यो शहर। लाग्छ, मेरो शहर, मेरो बस्ती क्रमश: मर्दै छ- फेरि कुनै अनजान तर भयंकर दुर्घटनाको त्रास बोकेर भेन्टिलेटरमा पुगेको बिरामीझैँ।

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]