|
प्रतीकात्मक तस्बिर

प्यूठान : ऐरावती गाउँपालिका १ दाङवाङकी कमला सार्की ६६ वर्षको उमेरमा पहिलोपटक नागरिकता प्राप्त गरिन्। बालबिबाह गरेकी कमलाले ५ सन्तानकी आमा र नातिनातिनाकी हजुरआमा बनेपछि नागरिकता प्राप्त गर्न सफल भएकी हुन्। 

जिल्ला प्रशासन कार्यालय प्यूठानको २७ र २८ गते भएको एकीकृत घुम्ती शिविरबाट २८ गते उनको पहिलोपटक नागरिकता बनेको हो। जिल्ला सदरमुकामबाट टाढा रहेको गाउँमा बस्ने भएकाले सदरमुकामसम्म आउन नसकेकी उनी गाउँनजिकै घुम्ती शिविर पुगेपछि नागरिकता बनाउन आएको बताइन्।

‘नागरिकता नहुँदा बृद्धभत्ताबाट समेत वञ्चित थिएँ। ‘नागरिकता बनाइदिनुभन्दा माइतबाट पनि नागरिकता नबनाइदिएकाले पनि समस्या थियो।’ श्रीमानलाई पटक-पटक नागरिकता बनाइ दिन भन्दा किन बनाउन पर्‍यो भन्थेँ' उनले भनिन,‘नागरिकता पाउन सकेकी थिइनँ। आज बल्ल पाएँ।’ जिल्ला प्रशासनको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा चलेको शिविरमा गाउँपालिकाका ६ वटै वडाबाट सेवाग्राही आएका छन्।

दुईदिनसम्म चलेको शिविरमा नागरिकता प्रतिलिपि ५५० जना, फोटो सहितको मतदाता नामावली ३७८ वटा बनाएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए। त्यस्तै गाउँपालिकाबाट स्वास्थ्य परामर्श सेवा उपचारसहित ५५० जना, कृषिसम्बन्धी सेवा ८००, अपांगता परिचयपत्र ३३ वटा, पशु सेवा परामर्श ४६४ जनालाई र ज्येष्ठ नागरिक परिचयपत्र २३ जनालाई प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष बस्नेतले बताए। त्यस्तै घरेलुतर्फ २ दर्ता, २ नवीकरण र १० जनालाई परामर्श सेवा दिइएको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.