|

विराटनगर : घटना–१ इमोमार्फत २५ लाखको चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने चार जना युवालाई मोरङ प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गर्‍यो। पक्राउ पर्नेमा मोरङ कटहरी गाउपालिका ३ का  ३६ वर्षीय श्रवण मल्लाह, सोही ठाउँका  ३४ वर्षीय शत्रुधन कुमार तत्मा  २१ वर्षीय अजयकुमार सिंह र २४ वर्षीय मन्जय कुमार सिंहलाई प्रहरीले गरेको हो। उनीहरूले बारा प्रसौनी गाउँपालिका  ६ बेलहीकी  सखीना खातुनलाई ईमोमार्फत ठगी गरेको प्रहरीले जनाएको छ।

घटना–२ केही दिन अगाडि प्रहरीले चिठ्ठा पर्‍यो भन्दै भाइबरको माध्यबाट साँढे १६ लाख रुपैयाँ ठगी गरेका चार जना भारतीयसहित ७ जनालाई  पक्राउ गर्‍यो। पक्राउ परेका भारतीय लामो समयदेखि नेपालको विभिन्न स्थानमा रहेर ठगी धन्दा चलाउन यहाँ आइएका थिए। प्रहरीले भारत बिहार राज्य अररीयाको फारबिसगन्ज बस्ने  २५ वर्षीय मनोज कुमार ठाकुर, सोही ठाउँका  २३ वर्षीय चन्दन कुमार भगत, २८ वर्षीय पंकज कुमार साह, मोरङ कटहरी गाउपालिका ४ बस्ने २० वर्षीय खगेन्द्र प्रसाद रौनियार, सोही ठाउँका २२ वर्षीय प्रेम कुमार साह, २५ वर्षीय रमेश कुमार साह र  जहदा गाउँपालिका ७ का  २० वर्षीय टुनटुन साहलाई पक्राउ गरेको थियो।

घटना–३ मोरङ पथरी शनिश्चरेकी कुमारी मगरले इमोमार्फत २५ लाखको चिठ्ठा पर्‍यो भन्दै ठगको पछि पर्दा १ लाख ८० हजार रुपैयाँ ठगको हातमा सुम्पिभयो। उहाँलाई ठगी गर्ने दुई जनालाई प्रहरीले गत वर्षको माघ २२ गते पक्राउ गर्‍यो। अछाम जर्ना गाविस घर भएका बसन्त कठायत  र सोही ठाउँबस्ने  राजेन्द्र बहादुर कठायतलाई मोरङ अदालतको आदेशपछि अहिले पुर्पक्षमा थुनामा छन्।  

घटना–४ अन्तर्राष्ट्रिय नेटवर्क बनाएर इमोमार्फत २५ लाखको चिट्ठा परेको बताउँदै ठगी गर्ने २ जनालाई प्रहरीले जेठ ६ गते पक्राउ गर्‍यो। चिट्ठा परेको भन्दै अन्तर्राष्ट्रिय नेटवर्क बनाएर सर्वसाधरणबाट लाखौं रुपैयाँ ठगी गर्ने विराटनगर – १७ का मेराज मियाँ र सोही ठाउँ बस्ने उमडी मुस्तकलाई पक्राउ गरेको थियो। २५ लाख रुपैयाँ चिठ्ठा परेको प्रलोभनमा पारी मोरङ पथरीशनिश्चरे १ का खुस्बु चौधरी ठगीएका थिए। उनले चिठ्ठा परेको पैसा पाउने लोभमा पर्दा ८० हजार राजस्व वापतको उक्त रकम अन्तर्राष्ट्रिय नेटर्वक बनाएर ठगी गर्ने गिरोहके हातमा दिनुभयो।  उहाँले मियाँको नाममा २५ हजार र दोस्रोपटक मुस्ताकको नाममा ५५ हजार आइएमइमार्फत पठाएको बताएका थिए।

माथि उल्लेखित प्रतिनिधिमूलक घटनाले पछिल्लो समय प्रविधिको विकाससँगै अपराध बढेको पुष्टि गर्दछ। प्रविधिको प्रयोग गर्दै ठगी गर्ने गिरोहले विदेश नम्बरबाट फोन गर्दै चिट्ठा परेको सन्देश दिन्छन्। त्यसपछि उक्त चिट्ठा परेको रकम प्राप्त गर्न पहिले निश्चित रकम पठाउन लगाउँछन्। रकम पठाएपछि भने चिट्ठा परेको सूचना दिने प्रयोगकर्ता सम्पर्कमै आउँदैनन्। यसरी भाइबर, इमो र समाजिक संजालको प्रयोग गर्दै ठगी गर्नेको संख्या १ नम्बर प्रदेशमा बढेको प्रहरीको अभिलेखले देखाउँछ।

अघिल्लो आर्थिक वर्ष ०७३/०७४ मा प्रदेशमा ७२ वटा ठगीको घटनामा ८७ जना पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेखमा उल्लेख छ। जसमा ७९ जना पुरुष र ८ जना महिला छन्। अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्ष २०७४÷०७५ मा ठगीको घटना बढेको देखिन्छ। जुन अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्षमा १४ वटा ठगीको घटना बढेको हो। आर्थिक वर्ष ०७४÷०७५ मा ८६ वटा ठगीको घटनामा ९६ जना पुरूष र ६ जना महिला पक्राउ परेको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ।

प्रविधिको प्रयोग गरेर सजिलैसँग अपराधिलाई पक्राउ गर्न गाह्रो हुने भएकोले यस्तो विधि अपनाउने गरेको जानकारहरू बताउँछन्। इमो, सामाजिक संजाल र भाइबरबाट ठगी  गर्ने गिरोहले कहाँ बसेर ठगी धन्दा चलाउँछन् त्यो पत्ता लगाउन निकै गाह्रो हुने भएको सजिलैसँग पक्राउ नपर्ने गरेको प्रहरीले बताएका छन्।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले समाजिक संजालदेखि प्रविधिको प्रयोग गरेर ठगी हुने गरेको बताए। ‘प्रविधिको प्रयोग गरेर कसैले चिठ्ठा पर्‍यो भन्दै पैसा पठाइदिनु भनेमा त्यो ठगी हो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘त्यस्ताको पछि लाग्नु हुँदैन।’ यस्तोमा सर्वसाधारण अझै धेरै सचेत हुनुपर्ने श्रेष्ठ बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.