|

इलाम : पूर्वी पहाडको पशुपतिनगर नाकाबाट कृषि उपज निर्यात हुन थालेपछि नेपाली कृषिजन्य सामग्रीले उच्चमूल्य पाएको छ। भारतीय व्यापारी नेपालतर्फ आएर नै कृषि उपज खरिद गर्न थालेपछि भारततर्फ तरकारी निर्यात हुन थालेको हो।

सूर्योदय नगरपालिका ९ स्थित बरबोटेमा संकलन केन्द्र खोलेर पशुपतिनगर नाकामार्फत भारतीय बजारमा नेपाली कृषि उपज निर्यात हुँदै आएको छ। पशुपतिनगर नाकाबाट निर्यात हुने कृषि उपजले राम्रो मूल्य पाएपछि इलामका साथै तेह्थुम, धनकुटा, संखुवासभा र पाँचथरमा उत्पादित इस्कुस, मूला, गाेपीलगायत हरियो सागसब्जी संकलन हुँदै आएको व्यवसायी प्रकाश श्रेष्ठले बताए। 

यसअघि पशुपतिनगर नाकाबाट सीमा क्षेत्रका किसान आफैँले सा-सानो परिमाणमा तरकारी लग्ने गरे पनि व्यावसायिक रूपमा भने निर्यात हुन सकेको थिएन। तर गोर्खाल्यान्ड आन्दोलनको समयमा भने हरियो तरकारीको समस्या देखिन थालेपछि नेपालतर्फबाट ठूलो परिमाणमा निर्यात सुरु भएको श्रेष्ठले बताए। भारतीय भन्सार कार्यालयको समन्वयमा १२ वर्षपछि पुनः कृषि उपज निकासी भएपछि पूर्वी पहाडका किसानले हरियो सागसब्जीको राम्रो मूल्य पाएका छन्।

दैनिक ५ वटा भारतीय गाडीमा दैनिक रुपमा नेपालबाट हरियो सब्जी निर्यात हुँदै आएको छ। चारालीमा बजार तरकारीको मूल्य अनिश्चित रहेकाले भारततर्फ भने राम्रो मूल्य पाउने भएकाले निर्यात सहज भएको व्यवसायी मणी तामाङले बताए। भारतीय गाडीहरू संकलन केन्द्रमा नै आएर तरकारी लग्ने गरेका छन। भारतमा तरकारी निर्यातका गर्न इलामका ग्रामीण क्षेत्रमा १० जना भन्दा बढी तरकारी संकलक खटिने गरेका छन्।

निर्यात हुने तरकारी भारतको सिलिगुडी, धुपगढी, मैनागढी, दार्जीलिङका बजार र भारतकै पञ्जाबसम्म पुग्ने गरेको छ। पशुपतिनगरबाट दैनिक रुपमा कृषिजन्य सामग्रीहरू निर्यात भएपछि झापाको काँकरभिट्टाबाट भारत निर्यात गर्ने उद्योगी व्यवसायीको ढुवानी खर्चमा बचत आएको छ। भारततर्फ प्लान्ट क्वारेन्टाइन र कस्टम नहुँदा नेपाली सामग्री निर्यातमा समस्या देखिने गरे पनि तरकारी निर्यातमा भने खासै समस्या नहुने व्यवसायिहरू बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.