|

विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट ६९ लाख ५७ हजार ६०० रकमसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा प्रहरीले विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेका ३ जना सहित उक्त रकम आज बिहान ११ बजे बरामद गरेको हो।

पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष तथा विराटनगर ७ का राजेश हेडा, विराटनगर ११ का सुमित साह र विराटनगर १२ का दिपककुमार कर्ण रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार लामो समयदेखिको अनुसन्धान र फलोअप पछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए। 

प्रहरीले सहकारीका अध्यक्ष हेडाको कार्यकक्षबाट नगद ५९ लाख ७ हजार ६ सय रुपैयाँ बरामत  गरेको थियो। सहकारी संस्थाको आडमा हेडाले हुण्डी कारोबार गर्दै आएको खुलेको प्रहरीको भनाइ छ। सोही संस्थाबाट नै सुमित साहको साथबाट ९ लाख ५० हजार पनि बरामद गर्न प्रहरी सफल भएको थियो। उनीहरूलाई थप अनुसन्धानका लागि म्याद थप गरी इटहरीस्थित राजस्व अनुसन्धान विभाग पठाइने केसीले जानकारी दिए। यस घटनाले विराटनगरमा अवैध हुण्डी कारोबारी हुने गरेको प्रष्ट पारेको र त्यसखालका गतिविधि हुन नदिन अन्य संलग्नको पनि खोजी र अनुसन्धान गरिरहेको केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.