|

बाँके : विगत ६ महिनादेखि बेपत्ता दुई बालकको भारत देहरादुनबाट उद्धार गरी परिवारका सदस्यलाई बुझाइएको छ। नेपालगन्ज उपमहानगरपालिका २० मदनापुरका दुई बालक गत साउनमा रुपइडिहाबाट हराएका थिए। सिमला पुगेर जोखिमपूर्ण काममा संलग्न रहेको उनीहरूलाई शान्ति पुनर्स्थापना गृह, कपिलवस्तुको टोलीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो।

सिमलामा  पत्थर फोड्ने काममा संलग्न १४ वर्षीय निशान्त गिरी र १५ वर्षीय कालु विकलाई देहरादुनस्थित राजकीय बाल गृह हरिद्वारले उद्धार गरी आफ्नो संरक्षणमा राखेका थियो। पुनर्स्थापना गृहका प्रतिनिधि भूमिराज भट्टराई नेतृत्वको टोलीले बाल कल्याण समिति देहरादुनको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल ल्याएको जनाएको छ। 

दुवै बालकलाई नेपालगन्ज उपमहानगरपालिका २० का वडाअध्यक्ष कृष्ण कार्कीको रोहवरमा गिरीलाई आमा काली गिरी, विकलाई हजुरआमा मनकला सार्कीले बुझेर लगेकी छन्। खडा पत्थरमा काम गर्ने कालुका बाबा (पप्पु विक) लाई भेट्न भनी हिडेका उनीहरू जोखिमपूर्ण काम गर्न बाध्य भएका थिए। 

बालक हस्तान्तरण कार्यक्रममा जडा अध्यक्ष कार्कीले आफ्ना बालबालिका कस्तो गतिविधि गरिरहेका छन् भन्ने अभिभावकले हेक्का राख्नुपर्ने बताए। उद्धारमा संलग्न भट्टराईले सो क्षेत्रमा अन्य नेपाली बालक जोखिमपूर्ण काममा रहेको बताउँदै विस्तृत विवरण नभएका कारण उद्धार गर्न अझै नसकिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.