|

काठमाडौं : चार अर्ब ३५ करोड घोटाला भएको वाइडबडी विमान खरिद प्रकरणमा प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाको नाम मुछिएको छ। देउवाले आइतबार उक्त प्रकरणमा आफ्नो संलग्नता नरहेको भन्दै प्रष्टिकरण दिएका छन्। 

प्रतिनिधिसभाको लेखा समितिले यो प्रकरणमा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी तथा सोही मन्त्रालयका दुई पूर्वमन्त्रीहरू जितेन्द्र देव र जीवनबहादुर शाहीसमेत बहालवाला तथा पूर्वसचिवहरू एवं नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारलाई दोषी देखाएको थियो। दोषीहरूलाई समितिले विभिन्न किसिमको कारबाहीका लागि सिफारिस गरेको थियो। उक्त प्रकरणको छानबिन संसदको अर्को एक समितिले पनि गरिरहेको छ भने सरकारले पनि एक उच्चस्तरीय समिति गठन गरेर छानबिन थालेको छ। 

यो प्रकरणलाई लिएर संघीय संसदको हिउँदे अधिवेशनको शुरुमा नै सरकारलाई घेर्न थालेका पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम पनि जोडिएको थियो। हिउँदे अधिवेशनका केही बैठकमा वाइडबडी घोटलाबारे सरकारको आलोचना गरेको कांग्रेसले पछिल्ला केही बैठकमा यो विषय उठाउन छोडेको छ।

वाइडबडी प्रकरणमा देउवाको नाम आएसँगै सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरू ‘सत्यतथ्य के हो?’ भनेर सरकारसँग जवाफ मागिरहेका छन्। उनीहरू सदनमा नै प्रतिपक्षी दललाई निशानामा लिइरहेका छन्।

पढ्नुहोस्:

वाइडबडी प्रकरणमा केपी ओली नेतृत्वको सरकारले ‘ठूलो घपला गरेको’ आरोप लगाएका देउवाले आइतबार भने उक्त प्रकरणमा ‘मेरो संलग्नता छैन’ भनेर प्रष्टिकरण दिनुपरेको छ।

सरकारकी समाचार एजेन्सी राससमा प्रकाशित समाचारका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी कैललीको धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै वाइडबडी विमानमा नाम मुछिएकोबारे प्रष्टिकरण दिएका हुन्।

समाचारमा लेखिएको छ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

आइतबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए। उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गरेका छन्।

देउवाले प्रश्न गरे, ‘मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो?’

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.