|

सुनसरी :  दोस्राे संस्करणको मदन भण्डारी स्मृति अन्तर्राष्टिय आमन्त्रण इटहरी गोल्डकप माघ १२ देखि हुने भएको छ। आयोजक राष्टिय जागृति क्लबले सोमबार पत्रकार सम्मेलन गरी गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु मनाङ मर्स्याङदी, थ्रीस्टार, आर्मी क्लब, पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लबका साथै झापा–११, आयोजक राष्टिय जागृति क्लब र क्यामरुन रहेका छन्। यस्तै, भारत र भुटानका टिमहरुको पनि सहभागिता रहने क्लबका अध्यक्ष संजिव ढुंगानाले जानकारी दिए।

सहभागी टिमको अन्तिम टुंगो भने लागिनसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) सुनसरीका कोषाध्यक्ष कोवितजंग कार्कीले बताए। खप्तड गोल्डकपको फाइनलपछि मात्र सहभागी टिमको अन्तिम हुने कार्कीले बताए। इटहरी रंगशालामा माघ १२ देखि १९ सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन राष्टपति विद्यादेवी भण्डारीले गर्ने निश्चित भएको ढुंगानाले जानकारी दिए।

पहिलो संस्करणको गोल्डकप विजेताले नगद १२ लाख रुपैयाँ पुरस्कार पाएकोमा यस वर्ष पुरस्कार राशी १६ लाख पुर्‍याइएको छ। उपविजेता टिमले आठ लाख रुपैयाँ पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३० हजारसहित ४२ इञ्चको एलइडी टिभी, सर्वाधिक गोलकर्ताले ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले २० हजार रुपैयाँ पाउने र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। गत वर्षको गोल्डकप थ्रीस्टारले जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.