|

जाजरकोट : जाजरकोटका अधिकांश शिक्षित परिवारको घरमा नै महिनावारी हुँदा छाउ बाँड्ने चलन कायम रहेको छ। देवता रिसाउने, अशुभ हुने लगायतका सामाजिक मान्यताका कारण छाउ बार्ने गरेको पाइएको हो। जिल्लाका केही ठाउँमा अहिले पनि छाउ गोठमै गएर बस्ने गरेको पाइएको छ।

परम्परागत सोच र सामाजिक परम्पराको दबाममा यस्तो गर्न बाध्य भएको शिक्षित परिबारले नै बताएका छन्।  छाउगोठ बस्दा चिसोले गर्दा समस्य हुने गरेको पीडित महिलाहरु बताउँछन्। जनप्रतिनिधी देखि शिक्षक, राजनीतिक दलका परिबारमा समेत महिनाबारी हुँदा बाहिर सर्ने चलन विगतदेखि नै चलिआएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। विद्यालयमा लाजका कारण स्वास्थ्य तथा शारिरीक विषयसमेत राम्रोसँग पढाइ नहुँदा अर्को समस्या भएको छ। शिक्षकहरुले खुलेर प्रजनन स्वास्थ्यका विषयमा कक्षा लिन नसक्दा व्यवहारमा लागू हुन नसकेको हो।

उमेर बढ्दै जाँदा शरीरमा देखापर्ने विभिन्न खालका परिवर्तनका विषयमा शिक्षकहरुले कक्षामा पढाउन खोज्दा छात्राहरु टाउको घोस कारेर बस्ने र छात्राहरु हासेर उडाउँदा कक्षा नियन्त्रण गर्न समस्य हुने गरेको शिक्षकहरु बताउँछन्। विद्यालयमा पढाएका कुरा स्वयं शिक्षकहरुले घरमा लागू गर्न नसक्नु दुर्भाग्य भएको नागरिक अगुवा शाहको भनाइ छ।

जिल्लाको जुनिचाँदे गाउँपालिका –४ लहादह १९ वर्षीया सावित्रा केसीलाई महिनाबारी हुँदा गोठमा बस्दा मृत्यु भएको समाचार रेडियोमा सुन्दा प्रत्यक महिनाबारीमा डर लाग्ने गर्छ। म पनि चिसोको कारण कत्तै केही हुने त , होइन भन्दै सधै मुटु काप्ने गरेको उनको भनाइ छ। त्यस्तै जुनिचाँदे गाउँपालिका मजकोटकै  कौशिला कार्की  भन्नुहुन्छ 'बर्सेनि महिनावारीका समयमा ७ दिन सम्म घरको आँगनसम्म छुन पाउँदिनँ, घरको काम भने सवै गर्नुपर्ने बाध्यता छ।'  कार्की थप्छिन्, 'महिनावारीका समयमा पोसिलो खाना, तथा झलिलो खानेकुरा खानुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि देवता रिसाउँछन् भन्ने मान्यताका कारण घरका मालिकले दही, दूध, घिउ खाना के हेर्नसम्म नपाउने अवस्था छ।' 

यता देउता रिसाए आँखा, कान, फुटाउँदै घोर अनिष्ट हुने उनको मस्तिष्कमा सामाजिक मान्यता  छ भने अर्कोतिर महिनावारीका बेला चिसोले ज्यान जाने त्रासका साथै  यौन दुर्व्यवहारमा परिन्छ कि भन्ने सधैँको पिरलो पनि छ।

जिल्लाका दुर्गम गाउँमा महिलामा महिनावारी र सुत्केरी हुँदा घरभित्र नबस्ने, सरसमान छुनु हुँदैन भन्ने चलन कायम हुँदा यहाका महिलाहरुले महिनापिच्छे पीडा भोग्नुपरेको छ। सुत्केरी भएको बेला २२ दिन र महिनावारी भएको बेला ७ दिनसम्म घरबाहिर छाउगोठ वा छाप्रोमा बस्छन्। छाउपडीलाई महिलाहरूले सामाजिक दवावका कारण  निरन्तरता  दिन बाध्य छन्। यस्तो समस्या ग्रामीण शिक्षित  र अशिक्षित महिलामा धेरै रहेको जुनीचाँदेका स्थानीय रेशम खड्का बताउछन्। जिल्लाका अन्य ठाउँमा सुत्केरी हुँदा छुट्टै छाउँगोठ नभएपनि गाई, भैँसी बाँध्ने ठाउँमा एक कुनामा ठाउँ बनाइ बस्ने चलन रहेको छ। सुत्केरी देखि महिनावारी हुँदा सम्म गोठको एक कुनामा बस्ने चलन अहिले पनि कायम रहेको ग्रामीण क्षेत्रका महिलाहरु बताउँछन्। नुनको धुलो र सुख्खा रोटीसँग उनीहरुले ७ दिनसम्म बिताउनु पर्ने बाध्यता रहेको दुखेसो उनीहरुको छ। 

दुई तलाको घरमा तल्लो तला गाई, भैँसी बाँध्ने गरिन्छ भने माथिल्लो तलामा मानिसहरु बस्ने गर्दछन्। गाई, भैँसीको मलमूत्रको रहेको ठाउँमा बस्दा दुर्गन्धका कारण  स्वास्थ्यमा समस्य आउँने गरेको बारेकोट गाउँपालिका- ७ का पार्वती विकले बताइन्।  पढेलेखेका विद्यार्थी पनि परिवारको दबाबमा छाउ बार्न बाध्य छन्। द्वन्द्वकालमा समेत छाउपडी प्रथा हटाउका लागि ठूलो प्रयास भए पनि नसकिएको तत्कालीन जनसरकार प्रमुख टेकबहादुर रावलले बताए।

रावलका अनुसार जव सम्म हाम्रो दिमागमा देवि, देवताको मान्यता रहन्छ, तबसम्म यस्ता कालका सामाजिक कुरीतिसँग लड्नका लागि ठूलो बल प्रयोग गरे पनि सम्भव कम भएको हो। जिल्लाको जुनिचाँदे गाउँपालिकाले यो प्रथा उन्मूलन गर्नका लागि विभिन्न अभियान सुरु गरे पनि परिणाम आउन नसकेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.