|

पाँचथर : त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै रूस्लान दसौँ फाल्गुनन्द गोल्डकपको उपाधि झापा ११ ले उचालेको छ। पाँचथरको फिदिममा भएको खेलमा उपाधिका लागि झापाले आर्मीलाई एककाबिरुद्ध दुई गोलले पराजित गर्‍यो।

झापाको जीतमा पुजन उपरकोटीले खेलको २३ औँ र ८३ औँ मिनेटमा गोल गरे। आर्मीका लागि भने ७१ औँ मिनेटमा राजीब गुरुङले गोल गरे। विजेता भएसँगै झापाले नगद चारलाख र उपविजेता आर्मीले नगद दुई लाखसँगै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलको म्यान अफ दि म्याच आर्मीका राजीब गुरुङ घोषित भए। उनले नगद दश हजार रूपैयाँ प्राप्त गरे।

प्रतियोगितामा उत्कृष्ट खेलाडी झापाका डिफेन्डर देबेन्द्र तामाङ भए। उनले यामाहा कम्पनीको मोटरसाइकल पाए। प्रतियोगितामा उत्कृष्ट गोलरक्षक झापाका मनोज प्रधान हुँदा झापाकै पुजन उपरकोटी उत्कृष्ट मिडफिल्डर, दिलेन लोक्ताम उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता कर्ण लिम्बू र उत्कृष्ट कोच परवेश कटुवाल भए।उत्कृष्ट डिफेन्स आर्मीका युद्ध शाही र उदायीमान खेलाडी आयोजक फिदिम स्पोर्टीङ क्लबका खेलाडी प्रविन जबेगू भए। सर्बाधिक गोलकर्ता कर्णले नगद १५ हजार पाए भने विभिन्न विद्यामा उत्कृष्ट भएका खेलाडीहरूले जनही नगद दश हजार रूपैयाँ पाएका थिए। 

रंगशालाका लागि जग्गा खोजे बजेट दिन्छौं : उपाध्यक्ष तिमल्सिना

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले मुलुकको सातवटै प्रदेशमा राष्ट्रिय स्तरको रंगशाला बनाइने बताए। रूस्लान दसौँ फाल्गुनन्द गोल्डकपको समापन समारोहमा बोल्दै उनले प्रदेश स्तरमा राष्ट्रिय स्तरको रंगशाला बनाउन परिषदले योजना बनाएको उल्लेख गरे।

यससँगै उनले काठमाडाैं, ललितपुर र भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन विस्तृत सर्वेक्षण प्रतिवेदन (डीपिआर) गरिसकेको बताए। उनले पाँचथरबासीको फुटबल मोहले गर्दा एउटा रंगशाला आवश्यक भएको भन्दै जग्गा खोजी जिल्लाका सरोकारवालालाई आग्रह गर्दै आवश्यक बजेटको ब्यवस्थापन परिषदले गर्ने आश्वासन दिए। 

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले मुलुकमा फुटबल क्षेत्रको समग्र विकासका लागि ४५ जिल्लामा प्रशिक्षण केन्द्र बनाउने सँघको योजना रहेको बताए। यससँगै उनले स्कुल लिग, जिल्ला लिग हुँदै प्रदेश स्तरीय लिगलाई ब्यवस्थित गरिने पनि उल्लेख गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.