|

काठमाडौं : सांस्कृतिक संस्थान र अनाममण्डलीकाे संयुक्त आयोजनामा गजल सन्ध्या सम्पन्न भएको छ। हरेक महिनाको अन्तिम दिन हुने कार्यक्रममा दुई स्रष्टाको गजल वाचन हुने गरेको छ। यस पटक भने गजलकारद्वय ललिजन रावल र सुरेश सुवेदी गजलवाचनमा प्रस्तुत गरिएका थिए।

तीन चरणमा रावल र सुवेदीले आफ्ना आठ-आठवटा गजल वाचन गरेका थिए। सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकरदेव शर्माको सभापतित्वमा सम्पन्न कार्यममा प्राज्ञ डा. देवी नेपाल विशेषा अतिथि थिए।

गजलकारद्वयले सामाजिक परिवेश र प्रणय भावका गजललाई वाचनमा विशेष महत्त्व दिएका थिए। रावलले आक्षरिक लय, लोकलयमा लेखिएका गजल प्रस्तुत गरेका थिए भने सुवेदीले अधिकांश गजल शास्त्रीय लयमा प्रस्तुत गरेका थिए।

उनीहरूका गजलमा जीवनका उतारचढावदेखि आफ्ना दैनिकीहरूलाई लयात्मक तरिकाले प्रस्तुत गरिएका थिए। 

कार्यक्रममा बोल्दै निमित्त महाप्रबन्धक शर्माले सांस्कृतिक संस्थानले विगतदेखि नै नेपाली कला, भाषा, संस्कृतिको क्षेत्रमा काम गर्दै आएको बताए। नेपाली गजलको उन्नयन र प्रवर्द्धनमा पनि आफ्नो संस्था सदैव लागिपरेको उनले बताए। सबैको साथ र सहयोग भए आगामी दिनमा महिनाको एक दिन हुने यस कार्यक्रमलाई पन्ध्र/पन्ध्र दिनमा गर्न पनि आफू तत्पर रहेको धारणा व्यक्त गरे।

प्राज्ञ डा. नेपालले गजलकारद्वयको परिचय दिएका थिए। नेपाली गजलको पुनर्जागरणपछि २०४२ सालमा नै प्रथम गजलकृति प्रकाशन गर्नुे, नेपाली गजललाई शृंगारिक धारबाट सामाजिक चेतनातिर रूपान्तरण गर्ने व्यक्तिका रूपमा रावलको प्रशंसा गरे। गजल गद्यमा लेखिँदैन, लयचेतना हुनै पर्छ भनी खरो रूपमा आवाज उठाउने रावल नेपाली गजलको पुनर्जागरणकालका एक खम्बा रहेको नेपालले बताए।

नेपाली गजलको संरक्षणमा अनाममण्डलीको भूमिका महत्त्वपूर्ण रहेको पनि उनले बताए। अनाममण्डलीका  संस्थापक अध्यक्ष रहेका गजलकार सुवेदी कला र गलाको पनि धनी रहेको उनको धारणा थियो। गजलवाचनपश्चात् समीक्षात्मक टिप्पणी कवि सरोज घिमिरेले गरेका थिए। सुवेदी र रावलका गजलमा पाइने युगचेतले मात्र नेपाली गजलको उचाइ बढ्ने धारणा घिमिरेले व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.