|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका ४ बस्ने रिक्सा चालक केदार तिमल्सिनालाई हिजोआज आफ्नो कामभन्दा पनि अरूकै चिन्ताले भ्याइनभइ छ। आफैँ गरिब मजदुरी गरेर परिवार पाल्ने रिक्सा चालक निमल्सिनालाई जाडो सुरु हुना साथ गरिब, निमुखा जनताको चिन्ता हुन्छ।

समाजमा गरीब, असहायलाई सहयोग गरेर उदाहारणीय पात्र बनेका छन् रिक्सा चालक  तिमल्सिना। उनले अरूको सेवा गर्न धन नै चाहिन्छ भन्ने कुरालाई गलत साबित गरिदिएका छन्। ई-रिक्सा चलाएर दिनभरीमा चारदेखि पाँच सय रूपैयाँ कमाएर परिवार पाल्दै आएका तिमल्सिना यतिखेर जाडोमा दलित बस्तीमा न्यानो कपडा बाँड्दै हिडेका छन्। दिनभरी यात्रु अनि उनीहरूको सामानको भारी बोकेर पसिना बगाएपछि मात्रै आफ्नो घरमा चुल्हो बल्ने स्थितिमा रहेका  तिमिल्सिना अहिले जिल्लाको उत्तरी भेगका अधिकांश दलित बस्तीहरूमा आफ्नै रिक्सामा कपडा राखेर बाँडदै हिँड्ने गरेका छन्।

मुटु काम्ने जाडोमा न्यानो लुगा लगाउन नपाएर मान्छे कठ्यांग्रिएर मरेको देख्दा र सुन्दा निकै दुःख लागेकाले आफूले न्यानो कपडा बाँड्ने अभियान सुरु गरेको रिक्सा चालक तिमल्सिना बताउँछन्। आर्थिक अवस्था कमजोर भएकैले सुरुमा रौटहटकै एक टायल कारखानामा दैनिक ५० रूपैयाँ ज्यालामा मजदुरी गरेका उनले केही समय ज्यामी काम पनि गरेको बताउँदै अहिले रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका छन्।

तिमल्सिता रिक्सा चलाएरै बरू आफूले नखाइकन अरूको दुःखमा सहयोग गर्न अगाडि बढ्छन्। सोमबार उनले चन्द्रपुर ९ चेतनगरको मुसहर बस्तीमा गएर १०० जनाभन्दा बढीलाई न्यानो कपडा वितरण गरे। अघिल्लो साता चन्द्रपुर नगरपालिका ३ गैंडाटारमा समेत उनले ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेका थिए। जाडो बढ्दै गएकाले उनले न्यानो कपडाका लागि दाताहरूसँग कुराकानीसमेत गरिरहेको र थप कपडा आएपछि बाँड्दै जाने बताए।

यसअघिका वर्षहरूमा पनि शीतलहर पीडित, बाढीपीडितहरूलाई उनले न्यानो कपडा, खाद्यान्न वितरण गरेका थिए। अघिल्लो वर्षमात्रै चिसोका कारण रौतहटमा २३ जनाले ज्यान गुमाउनुपरेकाले यो वर्ष अझ बढी न्यानो कपडा बाँड्ने लक्ष्य राखेको रिक्साचालक तिमल्सिना बताउँछन्। विगत १० वर्षदेखि उनी यसरी नै गरिब तथा विपन्न परिवारलाई न्यानो कपडा बाँड्दै आएका छन्।

यतिमात्र नभएर गत वर्ष आएको बाढीमा समेत उनले पीडित परिवारलाई सहयोग गरेका थिए। गत २०७२ सालमा आएको भूकम्पमा पनि उनी काभ्रे, सिन्धुपाल्चोक, मकवानपुरलगायतको जिल्लामा गएर पीडित परिवारलाई सहयोग गरेका थिए।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.