|

जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई कारबाहीको मागसहित कर्मचारी आन्दोलनमा उत्रिका छन्। मन्त्री यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झामाथि गरेको कुटपिटको विरोधमा कर्मचारीहरू आन्दोलित बनेका हुन्।

निजामती कर्मचारीहरूको ट्रेड युनियन धनुषाले बुधबार मन्त्री यादवलाई कारवाहीको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सचिव झामाथि कुटपिट गर्ने मन्त्री यादवलाई कारवाहीको माग गर्दै मुख्यमन्त्री लालबाबु राउत र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्रसमेत बुझाएका छन्।

बुधबार कर्मचारीहरुले मन्त्रालयअगाडि जम्मा भएर माघ ४ गतेसम्मको आन्दोलनको कार्यक्रम सार्वजनि गरेका हुन्। जस अन्तर्गत बुधबार १० बजे देखि ११ गतेसम्म पेन डाउन गरी दिनभर हातमा कालोपट्टी बाध्ने, बिहीबार हातमा कालोपट्टी बाँधी १० देखि १२ बजेसम्म पेन डाउन गर्ने र शुक्रबार हातमा कालोपट्टी बाँधेर १० बजेदेखि दिउँसो १ बजेसम्म पेन डाउन गर्ने आन्दोलनको कार्यक्रम रहेको ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साहले जानकारी दिए।

बिहीबारसम्म सत्यतथ्य छानबिन गरी दोषी मन्त्रीमाथि नियमानुसार कारवाही नभए थप दोश्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने अध्यक्ष साहले चेताबनी दिए। गत आइतबार अर्थमन्त्री यादवले आफ्नो कार्यकक्षमा बोलाएर आफूलाई कुटपिट गरेको सचिव झाको आरोप छ भने प्रतिवादमा सचिवले मन्त्रीलाई अपशब्द गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो।

घटनाको छानबिन गर्न गत आइतवार साँझ नै प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा ३ सदस्य छानबिन टोली गठन गरिएको थियो। टोलीले घटनाको छानबिन गरी ७ दिनभित्र मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन पेश गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.