|

काठमाडौं : लेखक सुविन भट्टराईको चर्चित उपन्यास 'समरलभ'मा आधारित फिल्म समरलभ माघ २५ गते प्रदर्शनमा आउन लागेको छ। फिल्म प्रचार प्रसारका लागि फिल्म युनिट देश दौडाहामा रहेको छ। यस फिल्मको ट्रेलर, टिजर र गीत दर्शकले मनपराएका छन्। फिल्मका निर्देशक हुन्- मुस्कान ढकाल। यसअघि नाइँ नभन्नू ल- २ को सहायक निर्देशक र नाइँ नभन्नू ल- ३ को निर्देशनको अनुभव पनि उनीसँग छ। समरलभ र नेपाली फिल्ममा आधारित रहेर निर्देशक मुस्कान ढकालसँग थाहाखबरका लागि राजु पौडेलले गरेको कुराकानी प्रस्तुत छ।

नाइँ नभन्नू ल मा सहायक निर्देशकको भूमिका, नाइँ नभन्नू ल३ र समरलभको निर्देशकको भूमिकामा हुदाँ फरक के पाउनुभयो?

देश चलाउन सजिलो होला तर फिल्म निर्देशन गर्न गाह्रो छ। देश चलाउन साथ दिने हात हुन्छन्। जब निर्देशन गरिन्छ, म सहयोग गर्छु भन्ने व्यक्ति पनि टाढिन्छन्। हरेक जिम्मेवारी निर्देशकको टाउकोमा आइपुग्छ। सहायक निर्देशक बन्न सजिलो छ किनभने त्यहाँ पढ्न गएजस्तो हुन्छ। यद्यपि, पढाएको कुरा हामीले कति लिन सक्छौँ भन्ने कुरा त छँदै छ। फिल्म फ्लप र हिट हुनुले सहायक निर्देशकसँग त्यति माने राख्दैन। उसले आफ्नो पारिश्रमिक लिन्छ, जान्छ। हिट भयो भने सबैलाई राम्रै हुन्छ तर फ्लप भयो भने ऊ जिम्मेवार नबन्न पनि सक्छ, जति निर्देशक बन्छ।

अहिले बजारमा आइरहेका फिल्मभन्दा समरलभमा के फरक देखाउन खोज्नुभएको छ?

बजारमा आएका फिल्मभन्दा फरक छ भनेर भन्नुभन्दा पनि मैल के गरेँ भन्ने कुरा बढी महत्त्वपूर्ण हो। योभन्दा पहिले मैलै पारिवारिक कथामा आधारित फिल्म बनाएको थिएँ। यसपालि विशुद्ध प्रेममा आधारित फिल्म बनाएको छु। युवालाई लक्षित गरेर फिल्म बनाएको छु। बजारमा अनेक खाले एक्सन, कमेडी फिल्म आइरहेका छन्। यो फिल्म थकाली खाना जस्तो छ। यसमा दर्शकले सबै कुरा भेट्टाउँछन्।

दर्शकले यो फिल्म किन हेर्ने? समरलभका पाठकहरू फिल्मबाट सन्तुष्ट होलान्?

हामी किन फिल्म बनाउँछौँ जस्तै हो यो प्रश्न। लाखौँ पाठकले मनपराएको एउटा उपन्यास हो- समरलभ। काल्पनिक कथामा त हामी मोहित हुन्छौँ भने लाखौँ पाठकको ढुकढुकी बनेको उपन्यासलाई फिल्म बनाएको छु। प्रेमको अलावा सन्देशलाई मनोरंजनमा ढाल्ने कोसिस गरेका छौँ यसमा। यस कारण पनि फिल्म हेर्नुपर्छ। म मेरो गल्तीलाई मजाले स्वीकार्ने मान्छे हुँ। मान्छेबाट गल्ती हुन्छ। मबाट पनि गल्ती भए होलान्। समरलभको पाठक म पनि हुँ। अर्को कुरा, फिल्म बनाइसकेपछि मैले कहाँकहाँ गल्ती गरेको छु, त्यसको समीक्षा पनि गर्नुपर्नेछ। पाठकले केके कुरामा ध्यान दिँदारहेछन् भन्ने कुराको फेहरिस्त म माघ २५ गतेपछि मात्र भन्न सक्छु।

फिल्म हिट हुने आधार व्यापार हो कि अन्य केही?

मेरो हकमा पहिलो कुरा लगानीकर्ताको पैसा उठ्यो भने त्यो पनि फिल्म हिटको एउटा आधार हो। दोस्रो कुरा, आत्मसम्मान कहाँ गएर मिल्छ भन्ने कुरा पनि हो। अबको कयौँ वर्षपछि यो फिल्म हेर्दा आफ्नो कामप्रति गर्व हुन्छ भने त्यो नै हिट फिल्म हो।

एउटा अन्तर्वार्तामा 'उच्छृङ्खल दृश्य देखाउँदैमा फिल्म चल्छ भन्ने हुँदैन' भन्नुभएको थियो। ट्रेलर, टिजरमा यही कुरालाई बढी प्राथमिकता दिनुभएको छ। समरलभको ट्रेलरमा हेर्दा तपाईंको बोलाइ र काम गराइ फरक देखियो। किन आफ्नै कुरामा अडिग हुनसक्नुभएन?

चुकेको छैन। उच्छृङ्खल र छोटा कपडा देखाउँदैमा फिल्म हिट हुन्छ भन्ने कुरा आज पनि म मान्दिनँ। यो फिल्ममा उपन्यासमा जे छ, त्यो देखाउने कोसिस गरेको हुँ। मैले काल्पनिक कथामा कुनै केटीलाई न्यूड देखाएको थिएँ भने त्यो म चुकेको रहेछु भन्ने मान्थेँ तर कथामा अझ धेरै कुराहरू थिए। मैले सकेसम्म कम देखाउने कोसिस गरेको छु। यो अर्थमा म चुकेको जस्तो लाग्दैन। समरलभको सुरुवात रोमान्टिक फ्लेवरबाट सुरु भएर ट्र्याजिडी मोडमा जाँदाको कारण दर्शकलाई देखाउनुपर्थ्यो। त्यही कारण हो यो दृश्य।

समरलभ फिल्मले उपन्यासजतिकै चर्चा पाउँछ भन्ने आधार केके छन्?

समरलभ एउटा अक्षरमा थियो। हिट भयो। त्यसलाई पछि अडियोमा ल्याइयो। हिट भयो। पर्दामा उतार्दा अझ उत्कृष्ट हुन्छ भन्नेमा आशावादी छु। आशावादी हुने आधार नै यसको स्क्रिप्ट हो। दोस्रो आधार प्रस्तुति हो।

उपन्यासमाथि फिल्म बनाउँदा केके कुरामा ध्यान दिनुभयो?

उपन्यासका हरेक हरफ आफैँमा महत्त्वपूर्ण छन्। पात्रको लवज, शृंगार र परिवेश पाठकहरूलाई कण्ठ छ। यी यावत् विषयलाई ध्यान दिएर नै फिल्म निर्माण गरेको छु।

नाइँ नभन्नू लको ब्राण्डसँग जोडेर हिट फिल्म दिए पनि तपाईंलाई दर्शकले 'मार्क' किन गरिरहेका छैनन्? आत्मसमीक्षा गर्नुभयो कहिल्यै?

म पछाडि बसेर काम गरे पनि चाहे जेसुकै होस्, मार्क भन्ने कुरा त हिट भएपछि मात्र गर्ने हो। उदाहरण पुष्पन प्रधान हुनुहुन्छ। उहाँले पाँच वर्षअघि गाएको गीत अहिले मार्क गरिरहेका छन् मान्छेहरू। हामी सबै मान्छे हौँ। मान्छे कहिलेकाहीँ चुक्छ। मुस्कान को हो र कोसँग काम गर्‍यो? म जिउँदै हुँदा नाम आउँछ कि मरेपछि? त्यो मेरो मतलबको कुरा होइन। हिजो संघर्षको दिनमा होस् कि आज निर्देशन गर्दा होस्, मैले मार्क हुने काम गरेको छु। यसअघि नाइँ नभन्नू ल- ३ काम गर्दा पनि चुनौती थियो। आज समरलभमा काम गर्दा पनि चुनौती नै छ। सायद नाइँ नभन्नू लमा काम गर्दा ब्राण्डमा काम गरेको हुनाले दर्शकले मार्क नगरेको हुनुपर्छ। उसो त विकास आचार्य मार्क हुनुभएको छ। यो मेरालागि धेरै नै खुसीको कुरा हो। सन्तानको भन्दा अभिभावकको नाम आउनु मेरालागि अझ गर्वको कुरा हो। समरलभमा दर्शकले मलाई मार्क गर्नुहुन्छ। यो मेरो कामप्रतिको विश्वास हो।

स्कान ढकाल पनि एउटा पाठक हो। उसको दिमागमा आउने पात्र आशिष पिया भेट्टाएको हो। उपन्यासको साया भन्दा बोल्ड भूमिका रेवती क्षेत्री भेट्टायो। अब बााकी आमदर्शक र पाठकको हातमा छाडिदिनुपर्छ।

उपन्यास ट्र्याजिडीमा पुगेर सकिन्छ। तपाईं पनि सेन्टिमेन्टसँग खेल्न रुचाउने निर्देशक हो भन्ने कुरा यसअघिका फिल्मले बताइसकेका छन्। दर्शकलाई सेन्टिमेन्टल फिल्म देखाएर फिल्म हिट बनाउने फण्डा सफल होला?

दर्शकहरूको आँसु वाहियात रूपमा निकालिएको होइन। मान्छे आफू कस्तो छ, त्यहीअनुसार काम गर्नेरहेछ। वास्तवमा म आफू अलिक बढी इमोस्नल छु। मलाई कुनै पुस्तक पढ्दा कुनै पुस्तकले आँसु निकालेन भने म खुसी हुन्नँ। जब म फिल्म हेर्छु, मलाई रुन आएन भने म खुसी हुन्न। मेरो नेचर भएर पनि मैले ट्र्याजिडि स्टोरी छानेको हुँ। सायद विकास आचार्य सरसँग नेचर मिलेर नै सहयात्रा गर्दै आएको हुँ। तर दर्शकलाई रुवाएर पैसा कमाउने भन्ने होइन। दर्शकले आँसु निकाल्दा पनि मनोरंजन लिइरहनुभएको छ। यो हिसाबले गर्दा मैले इमोस्नल पाटोलाई रोजेको हुँ।

देशमा यति धेरै राजनीतिक घटनाक्रम छन्। राजनीतिक घटनाक्रमलाई जोडेर फिल्म बनाउन मन लाग्दैन? सधैँ प्रेम र पारिवारिक कथामा किन अल्झिनुहुन्छ?

राजनीतिक फिल्म बनाउन मन नलागेको पनि होइन। नेपालमा राजनीतिक फिल्म बनाउनेवित्तिकै हल्ला धेरै हुन्छ। सेन्सरका कुरामा पनि उस्तै लफडाहरू छन्। मलाई आर्ट फिल्म पनि बनाउन मन नभएको होइन। आर्ट फ्लेवरलाई यहाँ कमर्सियल फिल्म होइन भनेर भजाइदिने प्रथा पनि छ। त्यसले गर्दा म त्यतातिर नलागेको हुँ। कमर्सियल फिल्म हिट हुनुपर्‍यो। सुरुवातमा नै ननकमर्सियल फिल्म बनाउँदा पछाडि परिने हो कि भन्ने डर छ। मलाई जोखिम मोल्न डर लागेको पनि सत्य नै हो।

पुस्तक पढ्दा अतीत र साया भन्ने पात्रको दृश्य मायालु, बोल्ड, ट्यालेन्ट देखिन्छ, के अबका नयाँ पाठकले समरलभ पढ्दा आशिष पिया र रेवती क्षेत्रीको अनुहार सम्झेलान्?

समरलभका पाठक धेरै थिए। तीमध्ये फिल्म लाइनका पनि छन्। आजसम्म यसलाई फिल्म बनाउने जोखिम मोलेनन्। यसलाई फिल्म बनाउन सकिँदैन भनेर छाडेको भए पनि हिट थियो तर अक्षरमा सीमित हुन्थ्यो। तर मुस्कान ढकाल पनि एउटा पाठक हो। उसको दिमागमा आउने पात्र आशिष पिया भेट्टाएको हो। उपन्यासको साया भन्दा बोल्ड भूमिका रेवती क्षेत्री भेट्टायो। अब बााकी आमदर्शक र पाठकको हातमा छाडिदिनुपर्छ।

फिल्म बनाउन धेरै नै मिहिनेत गरेको छु भन्नुहुन्छ तर हिरोको दाह्रीमा थोरै पनि मिहिनेत गरेको देखिएन भन्ने आमदर्शकको आरोप सुन्नुभएको छ?

हामी नेपालमा फिल्म बनाइरहेका छौँ। यहाँ टिप्पणी गर्न धेरै सजिलो छ। हिरोलाई दाह्री लगाउनुपर्ने थियो। प्राकृतिक रूपमा आएको दाह्रीभन्दा नक्कली दाह्री हाल्दा असुहाउँदो देखिन्छ। मैले यो दाह्री मुम्बईदेखि लिएर आएको हुँ। दाह्री नआएको हिरो देखिरहँदा दर्शकलाई एक्कासि दाह्री आएको हिरोको दृश्य असुहाउँदो देखिनु स्वाभाविक हो। यसलाई मिहिनेत नगरेको भन्नु गलत हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.