|

काठमाडौं : शहरको व्यस्त दैनिकी र बदलिएको खानपान र जीवनशैलीका कारण मानिसमा बिभिन्न खालका नसर्ने रोगहरु बढ्दै गएको छ। निन्द्रा नपर्ने, तनाव बढ्ने, टाउको दुख्ने, मधुमेह लगायतका धेरै स्वास्थ्य समस्या अहिले शहरबासीको चिन्ताको विषय बनेको छ। 

तर चिकित्सकहरु दैनिकी र खानपानमा सुधार गर्न सकेमा यस्ता समस्याबाट बच्न सकिने बताउँछन्। हाम्रो दैनिकी र खानपिनलाई केही परिवर्तन गर्न सके स्वस्थ रहनुका साथै नसर्ने रोगहरुको जोखिमबाट समेत बच्न सकिन्छ। स्वस्थ रहन हाम्रो जीवनशैलीमा के के सुधार गर्ने भन्नेबारेमा सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध–निर्देशक तथा बरिष्ठ आयुर्वेद डा.राजेन्द्रकुमार गिरीको सुझाव : 

१. बिहान सूर्योदयभन्दा (जसलाई ब्रह्ममुहूर्त भनिन्छ)  अगाडि उठ्नुहोस्। उठिसकेपछि मनतातो पानि पिएपछि आफ्नो (नित्यकर्म) शौच, आचमन, दाँत माझ्ने,  र स्नान गर्नुहोस्।

२. १५ मिनेट योग, प्राणायाम, वा ३० मिनेट हिँडडुल र हल्का ब्यायाम गर्नुहोस्। ब्यायाम गर्दा आफ्नो शक्ति र ऋतु तथा समयलाई ध्यानमा राखेर व्यायाम गर्नुहोस्। कहिलेकाहि शुद्ध तेलबाट शरीरको मालिस गर्नुहोस्।

३. सात्विक वा सन्तुलित आहार सेवन गर्नहोस। जसमा मुगको दाल, जौको पीठो, अमला, दूध, मह थोरै भएपनि दैनिक खाने गर्नुहोस्।

४. सामान्यतया (आमासय) पेटको तीन भागको दुई तिहाई भाग मात्र अट्ने गरी खाना खानुहोस्। खाना मिठो भयो भन्दैमा आवश्यक भन्दा धेरै नखानुहोस् जसले हाम्रो पाचन प्रकियामा अप्ठ्यारो पार्छ। समय समयमा थोरै थोरै खाना खानुहोस्। 

५. धेरै चिल्लो, पिरो र मसलायुक्त खानेकुरा नखानुहोस्। प्रत्येक दिन २०० ग्राम भन्दा बढी सागसब्जी वा फलफूल खानासँगै खानुहोस्। 

६. खाना खानसाथ तुरुन्त पानी नपिउनुहोस्।

७. राती अबेरसम्म नबस्नुहोस्। चाँडै सुतेर चाँडै उठ्ने बानी बसाल्नुहोस्। राम्रो निन्द्राका लागि सात्विक खाना खानुहोस्। 

८. कहिलेकाहीँ मनोरञ्जन कार्यमा सहभागी हुनुहोस्। साथीभाइ र इष्टमित्र वा आफन्तसँग नियमित भेटघाटमा रमाउनुहोस्। 

९. मानसिक स्वास्थ्यका लागि सुखमा नमात्तिने, दुखमा नआत्तिने, अरूको हितको लागि काम गर्ने, नयाँ–नयाँ कुरा जान्न कोशिस गर्ने, विचार पुर्‍याएर काम गर्ने, अरूको गल्तीमा माफी दिने बानीको विकास गर्नुहोस्। जसले तनावरहित जीवन जिउन सहयोग गर्छ। 

१०. तनाव नलिनुहोस्। तनावको बेला २० देखि ३० मिनेट शारीरिक श्रम गर्नुहोस् वा मनोरन्जन कार्यमा भाग लिनुहोस्।

११. तामसी भोजन, रक्सी, चुरोट सेवन नगर्नुहोस्। बेलाबेलामा भ्रमण गर्नुहोस्।  

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

    कमेन्ट

    • रामो सुजाब

    • i believe all this and following all this routines, because i am also a trainer of ayerved