|

काठमाडौं : गोलढुङगा साहित्य परिषद् काठमाडौँद्वारा प्रकाशित ‘नव उद्घोष’ साहित्यिक त्रैमासिक पत्रिकाको ७ औँ वर्षको पहिलो अंक विमोचन भएको छ।

बुधवार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमकाबीच उक्त साहियित्क पत्रिकाको  विमोचन गरिएको हो। वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले पत्रिकाको विमोचन गरेका हुन्। वि.सं. २०५१ सालमा स्थापना भएको साहित्यिक परिषद्को स्थापना नै मनभित्रै रहेका आफ्नो कलालाई साहित्यको माध्यमबाट सबैलाई जोडने प्रयासको रुपमा लिइएको परिषदले जनाएको छ ।

पत्रिकाको सम्पादक प्रकाश घायलको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका कलाकार श्रेष्ठले साहित्यिक पत्रिका सार्वजनिक गरेकोमा परिषदलाई बधाई दिए। उनले भने, ‘तपाईंहरूले साहित्यिक क्षेत्रमा एउटा नयाँ पाइला सुरु गर्नुभएको छ। साहित्यिक पत्रिका केही अंक निकाल्न सजिलै छ। तर, पछि त्यति सजिलो छैन। टिक्न गाह्रो छ। साहित्यिक सेवा भनेको सामाजिक सेवा पनि हो। मानिसको बौद्धिकता पाठकहरूमा बाँड्ने काम पनि हो। यो एक किसिमको बौद्धिक–सामाजिक सेवा हो।’

उनले कलाकार बन्नको लागि पहिले साहित्यकार बन्नुपर्ने पनि धारणा राखे। श्रेष्ठले भने, ‘म पनि साहित्यकार भएरै कलाकार भएको हुँ।’ पत्रिकालाई कसरी किन्नयोग्य बनाउने भन्नेतिर सोच्नुपर्ने पनि सुझाए। आफू कलाकार बन्नुपूर्व नै साहित्यक विद्यामा प्रवेश गरिसकेको स्मरण गराए। उनले भने, ‘कुनैपनि साहित्यिक पत्रिका प्रकाशन गर्नुपूर्व आफ्ना पाठकहरूको चाहनालाई बुझेर र बजारको मागअनुसार प्रकाशन गर्नुपर्छ।’

सम्पादक घायलले आफूहरूले आगामी दिनमा पाठकको चाहनाअनुसार नै साहित्यक रचनाहरु बाहिर ल्याउने प्रतिबद्धता जनाए। कार्यक्रममा पत्रकार तथा निर्देशक सानुकाजी थापा, संस्थाका आजिवन सदस्यद्वय गोविन्दबहादुर सिंह ठकुरी र विजय कार्कीलाई सम्मान गरिएको थियो।

उक्त अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, विजय बजिमय, राजु धिताल, कृष्ण प्रधान, प्रतिष्ठानका अध्यक्ष रामकाजी प्रधान, लव गाउँले, रामप्रसाद पन्त, विजयध्वज थापा, ध्रुवराज खतिवडा, प्रकाश गफाडी, लब खड्कालगायतले आफ्ना साहित्यिक आ–आफ्ना रचनाहरु वाचन गरेका थिए। पत्रिकाका सम्पादक देवेन्द्र अर्याल ‘आँशु’ले कार्यक्रम सञ्चालन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.