|

पाँचथर : कवि तथा पत्रकार विमल वैद्यको कविता कृति ‘अक्षरको सिम्फोनी’माथि चर्चा गरिएको छ। शुक्रबार पाँचथरको सदरमुकाम फिदिममा पुस्तकमाथि भएको समालोचनात्मक कार्यक्रममा वक्ताहरुले अक्षरको सिम्फोनी अध्ययन गर्दा वाक्क नलाग्ने टिप्पणी गरेका छन्।

समालोचक मधु आजित केरूङले वैद्यको कविता कृतिमा शब्दको प्रयोग कवितामा फारो रहेको टिप्पणी गरे। वसन्तले आधा शताब्दी उछिने पनि वैद्यका कविताहरू प्रेमरसले भिजेको उनले बताए। यसरी सुरूमा कवि वैद्यलाई फुक्र्याए पनि अन्तिममा सिमान्तकृत समुदायको सवाल कवितामा उठान नगरेर कविले गैरजिम्मेवारीपना देखाएको आरोप लगाए।

वैद्यका कविता कृति ‘अक्षरको सिम्फोनी’मा लघु तथा मझौला प्रकृतिका कविताहरू संग्रहित छन्। यससँगै कविताहरू गद्य शैलीमा लेखिएका छन्। समालोचक लक्ष्मीप्रसाद ढुंगानाले कवितामा पाठकको ‘इमोस्नल अट्याचमेन्ट’ रहेको ठम्याए। यसलाई समालोचक ढुंगानाले कविको सफलता मानेका छन्। ब्यङ्ग्य प्रहार पनि फूलको थुँगाले हानेजस्तो छ भन्दै उनले कवितामा व्यक्त गरिएका अभिव्यक्तिहरुमा भने कविको विद्रोह चेतना छताछुल्ल भएको उल्लेख गरे।

‘छुच्चा’ समालोचक भनेर चिनिने समालोचक राज दिलाञ्जलीले कविताको आयु कवितामा अभिव्यक्त समय चेतयुक्त उच्च कल्पनाशिलतामा निर्भर हुने बताए। यस दृष्टिले विमलको कविता संग्रहमा संग्रहित कविताहरु केही कमजोर खालका रहेको उनको टिप्पणी छ।

कार्यक्रममा कवि वैद्यले भने समालोचकहरुले अक्षरको सिम्फोनीलाई सिस्नोपानी लगाएको प्रतिक्रिया दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.