|

नवलपरासी : चिनीमिल संचालनमा नआउँदा खेतमै उखु सुक्न थालेपछि चिन्तित बनेका किसानहरु मिल संचालनमा आउने भएपछि केही खुस देखिएका छन्। पश्चिम नवलपरासीको कुडियामा रहेको बाग्मती सुगर मिलले सूचना टाँस गरेर आईतबारदेखि मिल संचालन हुने जानकारी गराएपछि किसानहरु उत्साहित भएका हुन्।

मिलले सूचना टाँस गरी पुर्जी वितरण गर्न सुरु गरेको र १३ गतेदेखि उखु क्रसिङ गर्ने जनाएको छ। मिलले पुर्जी वितरण गरेका किसानहरुलाई मात्र उखु काट्न आग्रह गरेको छ। यसअघि चिनीको मूल्य नबढाउँदासम्म मिल संचालन नगर्ने अडान लिएका चिनीमिल संचालकहरुसँग सुस्ता गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेसँगै जनप्रतिनिधिहरुको छलफलपछि मिल खोल्ने सहमति भएको हो।

उखु क्रसिङमा ढिलाइ हुँदा उखु सुक्दै गएपछि किसानले दैनिक रुपमा घाटा बेहोर्दै आइरहेका छन्। यसअघि मंसिरबाटै मिल संचालनमा आएर किसानको उखु क्रसिङ गर्ने गरिएकोमा यस वर्ष सरकारले तोकेको उखुको मूल्यमा असहमति जनाउँदै उद्योगीहरुले मिल संचालन गर्न आनाकानी गर्दै आइरहेका थिए।

गत वर्षको चिनीसमेत बिक्री नभएर गोदाममै रोकिएको अवस्थामा चिनिको मूल्य बढाएर बिक्री हुने वातावरण बनाउनका लागि किसानहरुको सहयोगको अपेक्षासहित मिल संचालन गर्न लागिएको बागमती सुगर मिलका सह प्रबन्धक टंकनाथ काफ्लेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

किसानलाई पुर्जी लिएर मात्र उखु मिलगेटमा खलाल्नका लागि आग्रह गरिएको छ। विनापुर्जीका उखु मिलले खरिद गर्न बाध्य नहुनेसमेत सूचनामा उल्लेख गरिएको छ। किसानको उखु खेतमै सुकेर दैनिक रूपमा घाटा बेहोरीरहेको अवस्थामा मिल संचालकहरुसँग छलफल गरेर चिनीको मूल्यको सन्दर्भमा जनप्रतिनिधिहरु उद्योगलाई सहयोग गर्न तयार रहने प्रतिबद्धता व्‍यक्त गरेपछि मिल संचालन गर्ने सहमति भएको सुस्ता गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेले बताए। जिल्लामा रहेका इन्दिरा सुगर मिल गंगापुर र लुम्बिनी चनी मिल सुनल अझै पनि संचालनमा आएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.