|

मुगु : मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका-८ टोप्ला गाउँका हरि कृष्ण विष्टले रारा जुस प्रोडक्सन उद्योग खोलेर जंगलमा पाइने विभिन्न जडीबुटीबाट जुस उत्पादन गर्ने गरेका छन्। उनले जंगलमा खेर गएका प्रयोगमा नआएका जंगली झारपात जडीबुटी संकलन गरी स्वास्थ्यवर्द्धक जुस उत्पादन गरेर मनग्ये आम्दानी गरेका हुन्। सुरुमा ढाले चुकको जुसबाट व्‍यवसाय गरेका विष्टले पछिल्लो समय लालीगुरासँको जुस, स्याउको जुस, जाम जेली स्याउका चनाको जुस उत्पादन गर्दै आएका छन्। सुरुमा आफूलाई चुक बेचेर खाने भन्दै गाउँमा नानथरी कुरा काट्ने गरेको तीतो यथार्थ पनि उनले सुनाए। तर, अहिले व्‍यवसाय फस्‍टाउँदै गएपछि

पहिला जिस्क्याउनेहरू आफैँ शिर निहुराएर बस्न थालेको विष्ट बताउँछन्। आफूले उत्पादन गरेको जुस जिल्लाभित्र र रारा आउने पर्यटकहरूले खोजीखोजी लिने गरेको विष्टको भनाइ छ। 'जिल्ला बाहिर मागअनुसार सुर्खेत, नेपालगञ्ज, पोखरा बुटवल काठमाडौंसम्म निर्यात हुने  गरेको छ' विष्टले भने। यस व्‍यवसायबाट आफूलाई आत्मनिर्भर भएको विष्ट बताउँछन्। उनी भन्छन्, 'संस्थाको जागिर पनि खाएँ तर सोचेजस्तो प्रगति भएन पछि कुनै पेसा दिगो हुन सक्छ भन्ने उद्‍देश्यपछि यो व्‍यवसायमा लागेको हुँ।' जुस उत्पादनकै माध्यामबाट उनले चीन, भारत तथा छिमेकी जिल्लाहरू भ्रमण गर्ने अवसर पनि पाएका छन्। जुस उत्पादनसम्बन्धी तालिम दिन उनी विभिन्न स्थानसम्म जाने गरेको बताउँछन्।

वार्षिक १२ लाखसम्म आम्दानी

जंगली जडीबुटीबाट जुस उत्पादन गररे वार्षिक १२ लाखसम्म आम्दानी हुने गरेको हरि विष्टले बताए। उनले भने, 'विभिन्न किसिमका जुस उत्पादन गर्छौ घरमै बसीबसी वार्षिक हिसाब गर्दा १२ लाखभन्दा माथि नै आम्दानी हुने गरेको छ।' यो व्‍यवसाय गर्नुभन्दा पहिला खानलाउन अनेकौँ समस्या हुने गरेको भए पनि अहिले त्यो समस्या नभएको र ढुक्कसँग जीविकोपार्जन गरेको विष्ट बताउँछन्। यस व्‍यवसायमा लाग्दा राम्रो आम्दानी पनि भएको, घर छोडे्र बाहिर जान पनि नपरेको,  ज्याला मजदुरी गर्नु पनि नपरेको र घरपरिवार छोराछोरीलाई शिक्षादीक्षा दिन पाएकोमा विष्टले खुसी व्‍यक्त गरे।

भौतारिने युवालाई उद्यमको खोजी गर्न आग्रह

विष्टले काम नपाए भौतारिँदै हिँड्ने युवालाई उद्यमको खोजी  गर्न आग्रह गरेका छन्। स्थानीयस्तरमा विभिन्न स्रोत भएकाले कि विदेशै जानुपर्ने नभए भौतारिएर बस्नु नपर्ने विष्ट बताउँछन्। गाउँघरतिरै उद्यमको खोजी गर्ने सके  आत्मनिर्भर बन्न सक्ने थुप्रै सम्भावाना रहेको विष्ट बताउँछन्।

स्थानीयस्तरमा पाइने खेतबारी, खोलानाला खाल्डाखुल्डीमा पाइने जडीबुटी, सिस्नोको पाउडर, जडीबुटी चिया, आलु सिमीका विभिन्न परिकार बनाई बिक्री गरे पनि आत्मनिर्भर बन्न सक्ने विष्टको आग्रह छ। जागिर खानैपर्छ भन्ने हैन उद्यम गर्न सिक्नुपर्नेमा उनको जोड छ। स्थानीयस्तरमा हरेक सम्भावना छन्। युवाहरु अर्काको देशमा गएपछि जे पनि गर्ने र आफ्नो देशमा आफ्नो ठाउँमा उद्यम गर्न लाज मान्ने अल्छी मान्ने प्रचलनले गर्दा हामी बेरोजगार भएको विष्टको विष्लेषण छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.