|

काठमाडौं : गायिका तारादेवीको निधन भएको १३ वर्ष भइसक्यो। जन्म र मृत्यु एकै महिनामा भएको हुनाले संगीतप्रेमीले माघ महिनालाई तारादेवीको स्मरण गरेर कार्यक्रम गर्ने तथा उनको सम्मान गरेर मनाउँछन्। विस. २००२ साल माघ २ गते जन्मिएर २०६२ माघ ९ गते निधन भएकी गायिका तारादेवीले बाँचुन्जेल पारिवार समाज र राज्यको तर्फबाट उचित साथ र सहयोग नपाएको उनका समकालीन सहयात्री बताउँछन्। मृत्युपश्चात् पनि राज्यका लागि योगदान दिने सर्जकको सम्मान हुन नसकेको गुनासो गर्छन् सांगीतिक क्षेत्रका हस्तीहरू। कालजयी स्वरका कारण आम श्रोताको मात्र होइन तत्कालीन शासकको मन जितेकी थिइन् तारादेवीले।

फूलको थुंगा बहेर गयो

गंगाको पानीमा

कहिले भेट होला है दाजै

यो जीन्दगानीमा .....

माधवप्रसाद घिमिरेको शब्द अनि नातिकाजीको संगीतमा रहेको यो गीतमा आवाज दिएकी हुन्, तारादेवी श्रेष्ठले। तारादेवी अर्थात् नेपाली सांगीतिक क्षेत्रकी उज्यालो नक्षत्र –स्वरकिन्नरी। यी र यस्तै करिब ४ हजार नेपाली गीतमा आवाज दिएकी तारादेवीले आफ्नो जादुमय स्वरका कारण स्वरकिन्नरीको उपमा पाएकी हुन्।

उकाली ओरालीहरूमा

भञ्‍ज्‍याङ अनि चौतारीहरूमा

सुन्दर ती दहहरूमा

हिमालका विशाल छातीहरूमा

जहाँ जहाँ जान्छौ तिमी

म पाइला बनी पछ्याइरहन्छु

चाँदनी शाह अर्थात् रानी ऐश्वर्याको शब्दमा नातिकाजीको संगीतमा रहेको यो गीत तारादेवीले नै गाएकी हुन्।

तत्कालीन समयमा रेडियो नेपालमा प्रत्यक्ष गीत गाउने सरकारी जागिरे तारादेवीले राजदरबारमा हुने सांगीतिक कार्यक्रममा गीत गाउनुपर्ने हुन्थ्यो। राजपरिवारका सदस्यले गीतका लागि तारादेवीलाई रोज्थे। तारादेवी स्मृति फाउन्डेसनका महासचिव सुभन सैँजु भन्छन्, 'त्यतिबेला तारादेवी र नारायणगोपालको दरबारियाले बढी खोजी गर्थे।'

उनीसँगै सहकार्य गरेका सर्जक उनलाई नेपाली सांगीतिक क्षेत्रको उज्यालो नक्षत्रका रूपमा सम्झन्छन्। गीतसंगीतमा आफ्नो लगनशीलतालाई उच्च प्राथमिकता दिने तारादेवी मन परेको गीतमा रोकिन सक्दिनथिइन्। साहित्यकार प्रकाश सायमी भन्छन्, 'तारादेवी यस्तो सर्जकमध्ये एक हुन् जसले आफ्नो सिंगो जीवन गीत संगीतकै लागी समर्पित गरिन्।'

सायमीको अनुभवमा तारादेवीले अरूकै शब्द संगीत र स्वरमा रहेका गीतमा पनि आवाज भर्थिन्। तारादेवीलाई यसो गर्दा सन्तुष्टि मिल्थ्यो। जीवनकालमा चार दशकभन्दा बढीको समय संगीतका लागि अर्पेकी तारादेवीले ४ हजार बढी गीतमा स्वर दिइन्।

राष्ट्रिय गीत, भजन, आधुनिक र लोक गीतमा स्वर भरेकी तारादेवीको जीवन संघर्ष त्यति सहज भने भएन। गायनको माध्यमबाटै मुलुकको लोक संस्कृति भाषा र साहित्यमा जीवन उत्सर्ग गरेकी तारादेवीलाई तत्कालीन समयमा रेडियो नेपालको जागिरबाट गलहत्याइयो। तारादेवी स्मृति फाउन्डेसनका कोषाध्यक्ष रमेश थापा भन्छन्, 'रेडियो नेपालले लत्यायो, नाँचघरमा काम गर्नुहुन्थ्यो त्यहाँबाट पनि नराम्रोसँग निकालियो। राज्यले उहाँलाई चिनेन।'

तारादेवीको जागिरे जीवन मात्र होइन पारिवारिक जीवन पनि सुखद हुन सकेन। सानै उमेरदेखि गायनमा सक्रिय तारादेवीका श्रीमानको अल्पायुमा मृत्यु भयो। उनको जीवनमा एकपछि अर्का पीडादायी घटना घटिरहे।  उनले पाइलट शिवबहादुर श्रेष्ठसँग २०२२ सालमा प्रेम विवाह गरेकी थिइन्। उनका श्रीमानको मृत्यु २०५५ सालमा हवाई दुर्घटनामा भएको थियो। श्रीमानभन्दा अघि नै छोरा रविको २०५१ सालमा क्यान्सरका कारण मृत्यु भएको थियो। त्यसपछि तारादेवी छोरा शशि र छोरी चारुका साथमा जीवन बिताउन थालिन्। जीवनको अन्तिम घडीमा तारादेवीले पार्किन्सन्स रोगको सामना गर्नुपर्‍यो। सोही रोगका कारण मृत्युवरण गर्नुपर्‍यो। तारादेवीकी छोरी चारु सञ्चारकर्मी हुन्।

भनिन्छ, राज्यको परिचय भूगोल र जनसंख्याले मात्र पूर्ण हुँदैन, त्यसका लागि राज्यको भाषा, कला संस्कृति महत्वपूर्ण हुन्छ। तारादेवीले राज्यका लागि त्यही भाषा, कला र संस्कृतिको माध्यमबाट योगदान दिएकी थिइन्। तारादेवीले नेपाली कलामा गरेको योगदान अनुपम छ। तर, जीवन र जीवनपर्यन्त पनि राज्यले उनलाई न्याय गर्न नसकेको सर्जकहरूको गुनासो छ। वरिष्ठ संगीतकार सुभबहादुर सुनामले तारादेवीलाई सरकारी जागिरबाट निकालिनु र जागिरपश्चात सामान्य सम्मान पनि नगर्नु सबैभन्दा दुर्भाग्‍य भएको बताए। 'एउटा सामान्य कर्मचारीलाई पनि कार्यालय छोड्दा बिदाई सम्मान हुन्छ।' भावुक हुँदै सुनामले भने, 'तारादेवी दिदीले त्यो अनुभवसम्म गर्नुभएन, आखिर सरकारी जागिरे हुनुहुन्थ्यो।'

तारादेवी स्मृति फाउन्डेसनले हालै मात्र तारादेवीको सम्मानस्वरूप सम्झनामा तारादेवी कार्यक्रम गरेको छ। फाउन्डेसनका अध्यक्ष दीपक केसीले राज्यलाई कलाकारको सम्मानका लागि दबाब दिन कार्यक्रम गरिएको बताए। सोही कार्यक्रममा काठमाडौ‌ं महानगरले तारादेवी कोषका लागि नगद १० लाख हस्तान्तरण पनि गरेको थियो।

फाउन्डेसनका कोषाध्यक्ष रमेश थापा भन्छन्,  'एउटा नगरपालिकाले गरेको सहयोग सराहनीय छ, तर राज्यले पूरै नागरिकसमक्ष देखिने गरी काम कहिले गर्ने?' राज्यले कलाकारको योगदानको सम्मान उसको जीवन र जीवनपछि उसका सन्ततिका लागि पनि महसुस हुनेगरी गर्नुपर्ने बताए। गीतसंगीतले एक व्यक्तिलाई अर्को व्यक्तिसँग जोडेजस्तै एउटा राज्यलाई अर्को राज्यसँग जोड्ने काम गर्छ।

यस अर्थमा पनि कलाक्षेत्रका व्यक्तिहरूको योगदानलाई राज्यले न्यायोचित व्‍यवहार गर्न सके त्यो राज्यकै लागि लाभको विषय हुनेछ। अग्रज स्रष्टाको सम्मान भए मात्र सांगीतिक क्षेत्रमा आउने नयाँ पुस्तालाई ऊर्जा मिल्छ।राज्यले यस्ता सर्जकलाई उपेक्षा नगरोस् भन्ने संगीतकर्मीको चाहनाले मूर्तरूप लिन जरूरी रहेको छ। बाबु कृष्णबहादुर कार्की र आमा राधादेवीको कोखबाट जन्मेकी तारादेवीको बाल्यकालको नाम भने डोलकुमारी कार्की हो। उनको जन्म काठमाडौंको इन्द्रचोकमा भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.