|

ओखलढुंगा : आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकाले जिल्लामै पहिलो भ्यु टावर निर्माण गरेको छ। जिल्लाको सिद्धिचरण नगरपालिका-३ नारायणस्थानको लगलगे डाडाँमा भ्यु टावरको निर्माण गरिएको हो।

नगरपालिकाको २३ लाख बजेटमा भ्यु टावर निर्माण गरेको सिद्धिचरण नगरपालिकाका नगर प्रमुख मोहनकुमार श्रेष्ठले बताए। उनले आफू निर्वाचित भएलगत्तै हिलोमुक्त नगर र भ्यु टावर निर्माण पहिलो प्रतिबद्धताको घोषणा गरेका थिए। आफ्नो प्रतिबद्धताअनुसार नै भ्यु टावरको निर्माण गरिएको नगर प्रमुखको श्रेष्ठको भनाइ छ।

जिल्ला सदरमुकामनजिकै रहेको डाँडामा टावर निर्माण गरी जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने लक्ष्यसहित टावर निर्माण गरिएको नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताए। हाल भ्यु टावरमा दृश्य अवलोकण गर्न आन्तरिक पर्यटकहरु पुग्ने गरेको भए पनि टवरको विधिवत रूपमा उदघाटन गर्न भने बाँकी छ। लगलगेमा निर्माण भएको भ्यु टावरमार्फत ओखलढुंगालगायत अन्य जिल्लाका टाढाटाढाका दृश्यका साथै विभिन्न हिमश्रृंखला र सूर्योदयसमेत हेर्न सकिन्छ। भ्यु टावरमा टाढा टाढाका दृश्य अवलोकनका लागि आवश्यक दुरबिन लगायतको व्यवस्था पनि गर्ने तयारी भइरहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ।

समुद्री सतहदेखि २ हजार ३ सय ७० मिटरको उचाइमा अवस्थित डाँडामा टावर निर्माण गरिएको हो। टावरबाट गौरीशंकर, नुम्बुर, सगरमाथा, ल्होत्से लगायतका दर्जनौं हिमालका टाकुरा र हिमश्रंखला देख्न सकिन्छ। पूर्वमा भोजपुरको टेम्के, साल्पा सिलिचुङसम्म देखिन्छ भने मौसम खुलेको समयमा दक्षिणमा तराईका भागहरु समेत स्पष्ट देख्न सकिन्छ। मूल सडक देखि पैदल ३० मिनेट हिँडेर पुग्न सकिने टावर आसपासमा वसन्त ऋतुको समयमा राताम्मे भएर गुराँस फूल्ने गर्दछ। घना जंगलको बीचमा भएकोले हरियाली र चराचुरुंगीसमेत देख्न पाइन्छ। तर, टावरमा पुग्न पैदल हिँड्नुपर्ने भएकाले बाटो असहज तथा पानीको समेत समस्या रहेको दृश्य वलोकनका लागी लगलगे भ्यु टावर पुगेका आन्तरीक पर्यटकहरु बताउँछन्।

जिल्लाको पर्यटन प्रवद्र्धन गर्न सिद्धिचरण नगरपालीकाले भ्युटावर निर्माण गरेको स्थान वडा नं. ३ नारायणस्थान र वडा नं. ८ सल्लेरीको सिमानामा भएका कारण भ्युटावर चढ्नका लागी वडा नं. ८ सल्लेरीबाट जानुपर्ने भएको कारण  वडा नं. ८ सल्लेरी लगलगेका स्थानीयले होमस्टेको समेत शुरुवात गर्ने तयारी गरेका छन्। जाडोमा घाम ताप्न, पिकनिक जान, घुम्न तथा हाईकिङका लागि उपयुक्त गन्तव्य लगलगे टावर हुनसक्ने अनुमान गरिएको छ। गर्मीमा चिसो मौसम हुने भएकोले शितल हावाका लागि समेत उक्त स्थान उपयुक्त गन्तव्‍य मानिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.