सात दिनदेखि नेविसंघ ‘भ्याकुम’

|

काठमाडौं : नेपाली कांग्रेस यतिबेला सरकार विरोधी आन्दोलनमा सडक र सदनबाट संघर्ष गरिरहेको छ। तर कांग्रेसको आन्तरिक राजनीति भने अस्तव्यस्त छ। निर्वाचनमा ‘अनपेक्षित’ हार ब्यहोरेपछि संगठन सुधारका लागि भन्दै ताम्सिएको कांग्रेसको अवस्था सुधार हुन सकेको छैन।

गत चैत र बैशाखमा निर्वाचनको समीक्षा गर्न बोलाइएको बैठकमा महासमिति बैठकपछि पार्टी सुध्रने अपेक्षा नेतादेखि आम कार्यकर्ता तहसम्म थियो। आन्तरिक विवादको चंगोलमा फसेको कांग्रेसले लामो समयको रस्साकस्सीपछि मंसिर २८ देखि १० दिनसम्म महासमिति बैठक काठमाडौंमा आयोजना पनि गर्‍यो।

पाँच दिनका लागि बोलाइएको महासमिति बैठक नेताहरूको आन्तरिक विवादका कारण १० दिनसम्म लम्बियो। महासमिति बैठकको अन्त्यमा एक तिहाई हाराहारी मात्र महासमिति सदस्यहरू थिए। उनीहरूले केही विषय परिमार्जनसहित विधान कार्यान्वयनका लागि केन्द्रीय समितिलाई नै जिम्मेवारी दिए।

महासमिति बैठक सकिँदै गर्दा जिल्ला सभापतिहरूले महाधिवेशनमा भाग लिन केन्द्रीय सदस्यहरूले पनि तल्लै तहबाट आउनुपर्ने र एकपटक समानुपातिको सूचीमा परेकालाई अर्को पटकदेखि समावेश गर्न नहुने प्रस्ताव राखे। उक्त प्रस्तवलाई केन्द्रीय समितिबाट परिमार्जन गर्ने सभापति शेरबहादुर देउवाको आश्वासनपछि विधान पारित भएको थियो। महासमितिका बेला कांग्रेसले एक हप्ताभित्र केन्द्रीय समिति बैठक राखेर महासमिति बैठकबाट पारित विधानलाई कार्यान्वयन गर्ने तयारी गरेको थियो।

तर केन्द्रीय समिति बैठक नै महासमिति सकिएको एक महिनापछि अर्थात् माघ १० गते मात्र केन्द्रीय समिति बैठक बोलाइयो। उक्त बैठकमा परिमार्जित विधान कार्यान्वयनसँगै माघ २ गते म्याद सकिएको नेपाल विद्यार्थी संघलाई के गर्ने भन्ने निर्णय आउने आँकलन नेता तथा कार्यकर्ताको थियो। तर पार्टीको आन्तरिक विषय प्रवेश नै भएन।

तीनसम्म बसेको बैठकमा आन्तरिक विषयलाई विषयान्तर गरेको कतिपय नेताहरूले आरोपसमेत लगाएका थिए।  ‘१०, १३ र १४ गते बसेको बैठकमा पार्टीको आन्तरिक विषय प्रवेश भएन। राष्ट्रिय मुद्दामा हामी केन्द्रित भयौँ र २१ गते देशव्यापी आन्दोलनको घोषणा गर्‍यौँ’, नेता अर्जुनरसिंह केसीले भने, ‘अब २३ गते बस्ने बैठकमा आन्तरिक विषयले प्रवेश पाउँछ। हामी सहमति र सहकार्यबाटै अघि बढ्छौँ।’

विधान कार्यान्वन र नेविसंघको विषय केन्द्रीय समिति बैठकमा केही नेताहरूले उठाए पनि औपचारिक रूपमा प्रवेश पाएन। सरकारका पछिल्ला गतिविधिलाई कसरी विरोध गर्ने, सदन र सडकमा कांग्रेसलाई कसरी सशक्त ढंगबाट अघि बढाउने भन्ने विषयमा बैठक केन्द्रित भएको थियो।

सभापति देउवा समूहले भने महासमिति बैठकबाट पारित विधानलाई केन्द्रीय समितिबाट परिमार्जनसहित पारित गर्ने तयारी गरेको छ। ‘२३ गते बस्ने बैठकले पार्टीको आन्तरिक विषयको टुंगो लगाउँछ’, सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘केही विषयमा आवश्यक परिमार्जनसहित तत्कालन कार्यान्वयन गर्नुपर्ने विषय कार्यान्वयन गर्छौं।’

तर यसको विपक्षमा संस्थापनइतर समूह छ। वरिष्ठ नेतचा रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले महासमिति शक्तिशाली बन्दै महासमितिको निर्णय केन्द्रीय समितिले परिमार्जन गर्न नमिल्ने बताउँदै अएको छ। तर केन्द्रीय सदस्य गुरुराज घिमिरे भने महासमितिको अन्तिमसम्म एक तिहाई पनि महासमिति सदस्य नभएका कारण केन्द्रीय समितिले परिमार्जन गर्नु समान्य विषय भएको बताए।

‘महासमिति नै अधिकार सम्पन्न हो। उसले पारित गरेको विषय केन्द्रीय समितिले परिमार्जन त गर्न पर्दैन। तर त्यसका लागि दुई तिहाई सदस्य हुनुपर्ने आवश्यक छ’, उनले भने, ‘केन्द्रीय समितिले ल्याएको प्रस्तावमा महासमितिले सुझाव दियो। महासमितिबाट पास हुन दुई तिहाई आवश्यक पर्छ। दुई तिहाई हो कि होइन त गन्नुपर्‍यो। महासमितिको सुझावलाई बाध्यकारी रूपमा कार्यान्वयन गर्नुपर्ने हो। तर त्यहाँको उपस्थिति प्रविधिक हिसाबले कतिको वैधानिक हुन्छ भनेर हेर्ने हो भने गणपूरक पुग्दैन। तर राजनीतिक रूपमा लागू गर्नुपर्ने हुन्छ।’

टाडिँदै देउवा-पौडेल

महासमिति बैठक सकिँदै गर्दा वरिष्ठ नेता पौडेलले देउवा र आफूबीच ‘इमोसनल अट्याजमेन्ट’ भएको बताएका थिए। त्यसको प्रतिक्रियामा देउवाले पनि पौडेलसँग ‘डिप लभ’ परेको बताए। त्यो ‘डिप लभ’ महासमिति सकिएको एक हप्तासम्म देखियो।

देउवा–पौडेलले कार्यकर्तादेखि पत्रकारसम्मलाई सँगै भएर रात्रिभोज पनि दिए। तर त्यसपछि देउवाले पौडेललाई बेवास्था गरे। अहिले उनीहरूको सम्बन्ध चिसिँदै गएको पौडेल निकट स्रोत बताउँछ। केन्द्रीय समिति बैठकमा २०७६ फागुनमा महाधिवेशन गर्न पौडेलले प्रस्ताव राखे। तर उक्त प्रस्तावलाई देउवाले ठाडै अस्वीकार गरेपछि उनीहरूबीचको पछिल्लो समय तिक्तदा देखिएको एक केन्द्रीय सदस्यले बताए।

‘वरिष्ठ नेताको प्रस्ताव सभापतिले ठाडै अस्वीकार गर्नुभयो। यसले उहाँहरूको सम्बन्ध अहिले के छ भन्ने प्रष्ट पारेको छ’, एक केन्द्रीय सदस्यले भने, ‘सभापतिले आफू साढे पाँच वर्षमा मात्र महाधिवेशन गर्ने भन्नुभयो।’

सात दिनदेखि नेविसंघ ‘भ्याकुम’

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो पटक थपिएको म्याद माघ २ गते सकियो। तर नेविसंघले महाधिवेशन गर्न सकेन। त्यही दिन पार्टीले विज्ञप्ति जारी गर्दै नेविसंघको यो कार्यसमितिलाई माघ १० गते बस्ने बैठकसम्म काम चलाउको हैसियत दियो। तर १० गतेको बैठकमा नेविसंघबारे केही निर्णय गर्न सकेन।

त्यसपछि नेविसंघ ‘भ्याकुम’ बनेको छ। तर नेविसंघका नेताहरू भने काम देखाउनलाई सरकार विरोधी आन्दोलनमा सक्रिय छन्। नेविसंघ अब अर्को निर्णय गर्दासम्मका लागि नरहेको पार्टी केन्द्रीय नेताहरू नै बताउँछन्। ‘नेविसंघ अब कहाँ छ र?’, एक नेताले भने, ‘१० गतेसम्म काम चलाउ बनाइएको थियो। त्यसपछि नेविसंघ विधानतः स्वतः भंग भयो।’

तर संस्थापन समूहले भने नेविसंघ अहिले पनि भंग नभएको दाबी गरेको छ। ‘अब २३ गते बस्ने बैठकले नेविसंघबारे निर्णय गर्छ’, सहमहामन्त्री डा. महत भन्छन्, ‘त्यो बेलासम्म नेविसंघको कार्यसमिति काम चलाउ नै हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.