संयोजक यादव भन्छन् - अब फाइनल कुरा हुन्छ

|

काठमाडौं : गत पुस १९ गते राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीले सांसदको शपथ खाएको केही घण्टामै डिल्लीबजार कारागार फर्किए।

चौधरी सांसद पदमा निर्वाचित भएर कारागार चलान भएको भए पनि निर्वाचित प्रमाणपत्र र शपथका कारण औपचारिक रूपमा सांसद हुन पाएका थिएनन्। शपथ ग्रहणपछि सांसदकोे सम्मान पाउँदै उनी पुनः कारागार फर्किए।

चौधरीको शपथको मुद्दालाई प्राथमिकतामा उठाउँदै आएको राजपाका नेताहरूमा शपथपछि भने खुसीयाली छाएको थियो। सरकारले राजपाको माग पूरा गर्छ भन्नेमा चौधरीको शपथसँगै राजपा नेतामा आशा पलायो। तर चौधरी पुनः कारागार फर्किएको एक महिनामा राजपा भने कारागार बाहिरै हराएको छ।

संविधान संशोधन, मधेस आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्नुपर्ने, घाइतेको उपचार चौधरीको रिहाइलगायत माग गर्दै आएको राजपा आफ्ना मुद्दामा भने पछिल्लो एक महिना निष्कृय नै देखियो। चौधरीको शपथको ‘ललिपप’मा राजपालाई भुलाउन सरकार सफल देखियो। शपथअघि समर्थन फिर्ता लिने भन्दै पटकपटक सरकारलाई धम्की दिएको राजपा अहिले मौन जस्तै छ। सरकारले माग पूरा गर्छ कि भन्ने आशामा रहेको राजपा सरकारसँग संवादहीनताको अवस्था रहँदा पनि मौन नै छ। सरकार पनि राजपाका मागप्रति खासै चासो देखाएको छैन।

हुन त डा.गोविन्द केसीको अनशन, अन्य राष्ट्रिय मुद्दा र कांग्रेसको सडक र सदनको आन्दोलनले राजपाका मागहरू ओझेलमा परेका छन्। नेकपा अध्यक्ष केपी शर्मा ओलीको दुई तिहाईको सरकार पनि मधेस केन्द्रित दलहरूसँग दूरी बढाउन चाहिरहेको राजनीतिक विश्लेषकहरूको बुझाई छ। सरकारमै रहेको संघीय समाजवादी फोरम नेपाल पनि नेकपा र प्रधामन्त्रीसँग असन्तुष्ट रहेको फोरम स्रोतको दाबी छ। संविधान संशोधन गर्ने भन्दै सरकारले राजपा र फोरमको साथ मागेको थियो।

चौधरीको शपथको समय राजपा आन्तरिक विवादको चंगोलमा थियो। तर गत माघ ५ गते बसेको अध्यक्ष मण्डलको बैठकबाट पार्टीको सबै विवाद समाधान पनि भयो। अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजेन्द्र महतोबाट महेन्द्रराय यादवसम्म आइपुग्यो।

संयोजक परिवर्तनपछि माघ १४ मा अध्यक्ष मण्डलको बैठक बस्यो। उक्त बैठकमा पनि पार्टीको केही आन्तरिक मुद्दामा मौखिक कुराकानी भए र उपस्थितिको 'माइन्युट' गरियो। त्यसपछि सरकारका बारेमा कुरा गर्न धारणा तय गर्न भन्दै तीन दिनभित्र बैठक बस्ने निर्णय गरेको थियो। तर अहिलेसम्म बैठक बस्न सकेको छैन। ‘अध्यक्षहरू सदस्यता वितरण अभियानलाई तीव्र पार्न जिल्लातिर हुनुहुन्छ’, महासचिव केशव झाले भने, ‘उहाँहरू आएपछि केही दिनमै बैठक बस्छ।’

तर, राजपा अध्यक्ष मण्डलका नेताहरू भने सरकारसँग संवादहीनताको अवस्था हुँदा पनि माग पूरा हुनेमा आशा राख्न छाडेका छैनन्। चौधरीको शपथलाई माग सम्बोधनको पहिलो खुट्किलो मान्छन् राजपा नेताहरू। ‘सरकारले बिस्तारै-बिस्तारै माग पूरा गर्दैछ’, अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादव भन्छन्, ‘अब अरू माग पनि बिस्तारै पूरा गर्दै जाला नि!’

यादवले यो विश्वास व्यक्त गरे पनि सरकारप्रतिको असन्तुष्टि भने व्यक्त गरिरहेका छन्। उनले सरकारले आफूहरूले भेट्ने समय माग्दा पनि नदिएको गुनासो गरे। ‘हामीले सरकारलाई भेट्ने समय मागिरहेका छौँ। प्रधानमन्त्रीजीले समय उपलब्ध गराउनुभएको छैन’, अध्यक्ष मण्डलका संयोजक यादवले भने, ‘अब हामी प्रधानमन्त्रीलाई भेट्छौँ र फाइनल कुरा गर्छौँ।’

तर, मधेसका राजनीतिक विश्लेषकहरूले भने राजपाले सरकारले केही नगरे पनि काम सरकारमा जाने दाउका कारण सरकारको विरोध गर्न नसकेको बताउन थालेका छन्। चौधरीको शपथपछि राजपा बोल्नै छाडेको विश्लेषकहरूको आरोप छ। तर अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने आफूहरूले बोलिरहेको बताउँछन्। ‘हामी त बोलिरहेका छौँ। तर सरकारले ठोस रूपमा केही गरेको छैन’, उनले भने, ‘हाम्रो मुद्दाका बारेमा सरकार गम्भीर हुनुपर्‍यो नि! रेशमलाई शपथ ग्रहण राइनू त सरकारको दायित्व हो नि!’

चौधरीलाई सांसद भएकाले जेलमा राख्न नमिल्ने नेता महतोको तर्क छ। ‘रेशमलाई सरकारले अब रिहाइ गर्नुपर्‍यो। राजनीतिम मुद्दालाई राजनीतिक रूपमा हेर्नुपर्छ नि!’, उनले भने, ‘आन्दोलनकारीलाई अपराधीको रूपमा हेर्नुभएन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.