|

पर्सा : गएका तीन महिनादेखि वीरगन्ज भन्‍सार कार्यालयको राजस्‍व लक्ष्य पूरा नभई ओरालो लागेको लागेकै छ। चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा पर्व लक्षित सामान आउँदा पूरा भएको राजस्‍व लक्ष्य त्यसयता कुनै महिनामा पूरा हुन नसकी ओरालो लागेको लागेकै भएको हो।

गएको कार्तिक महिनाबाट लगातार ओरालो लागेको वीरगन्ज भन्सारको राजस्‍व संकलन लक्ष्य गएको पुस महिनामा पनि १६ दशमलब ५३ प्रतिशतले कमी भएको वीरगन्ज भन्सार कार्यालयको तथ्याँकले देखाएको छ। यो भनेको कुल राजस्‍व संकलनको लक्ष्यमा २ अर्ब २६ करोड ९० लाख ८१ हजारले कमी हो। चालु आर्थिक वर्षको ३ महिना अर्थात कार्तिकमा १७ दशमलब ४३ प्रतिशत, मंसिरमा १३ दशमलब ९१ र पुसमा १६ दशमलब ५३ प्रतिशत राजस्‍व लक्ष्यमा कमी हुँदा  चालु आर्थिक वर्षको अर्धवनर्षिक राजस्‍व संकलनको कुल लक्ष्यमा समेत १ दशमलब ५ प्रतिशतले कमी भएको वीरगन्ज भन्‍सार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ। 

 राजस्‍व लक्ष्यमा यत्रो कम हुनुमा वीरगन्ज भन्सार कार्यालयको यार्ड भित्रबाटै भन्सार छलीमा सहजता भएकोले पनि हुन सक्ने आयात निर्यात गर्नेहरु मध्येका एक कारोवारीले नाम उल्लेख नगर्ने शर्तमा बताए। भन्सार बाहिरबाट भन्सार छली चोरी पैठारी गर्ने अवैध कारोवारीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले लगातार पक्राउ गर्न थालेपछि कारोवारीले भन्सारकै केही कर्मचारीलाई मिलाएर भित्रबाटै कारोवार गरिरहेको उनको तर्क छ।

सीमा बढाइएकोले लक्ष्य पूरा भएन : भन्सार कार्यालय

तर, वीरगन्ज भन्‍सार कार्यालयका सूचना अधिकारी मनीष महतो भने यो कुरा मान्न तयार छैनन्। विगतको वर्षभन्दा वीरगन्ज भन्सारलाई ३० प्रतिशत बढी लक्ष्यको सीमा बढाइएकोले लक्ष्य पूरा हुन नसकेको उनको दाबी छ।

गएको पुस महिनाका लागि नेपाल सरकारको अर्थ मन्त्रालय भन्‍सार विभागले वीरगन्ज भन्‍सार कार्यालयलाई १३ अर्ब ७२ करोड ८४ लाख ६८ हजारको राजस्‍व संकलनको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले कुल ११ अर्ब ४५ करोड ९३ लाख ८७ हजार मात्र राजस्‍व संकलन गर्न सफल भएको तथ्यांकले देखाएको छ। गएको आर्थिक वर्षको पुस महिनामा चालु आर्थिक वर्षभन्दा बढी अर्थात साढे ८७ प्रतिशत राजस्‍व लक्ष्य पूरा गरेको वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुस महिनामा भने त्यति पनि पूरा गर्न नसकी ८३ दशमलब ४७ प्रतिशतमा नै रोकिनपरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। 

यता भन्सार बाहिरबाट भन्सार छली चोरी पैठारी नियन्त्रण गर्न खटेको नेपाल प्रहरीले चालु आर्थिक वर्षको पुस महिना सम्ममा झण्डै ४ करोड र सशस्त्र प्रहरीले पनि ३ करोड जतिको अवैध आयात निर्यातको सामान पक्राउ गरी भन्‍सार बुझाएको तथ्यांक छ। यसले पनि अवैध कारोवारमा संलग्न हुनेहरुले भन्‍सारका कर्मचारीसँग आन्तरिक सेटिङ गरी कारोवारलाई बढावा दिएको हुन सक्ने सम्भावना पनि बढेर गएको छ। भन्‍सारबाहिर कडाई भएपछि यार्ड भित्रबाट भन्‍सार छलीमा केही सहजता ल्याएन केही पहल भने नभएको होइन एक आयात निर्यातका खप्पिस कारोवारीले नाम उल्लेख नगर्न भन्दै बताए। योभन्दा बढी के भन्नु उनले तर्क गरे।

पछिल्लो समयमा सबैभन्दा बढी कर छली भारत तथा तेस्रो मुलुकबाट आयात हुने मालबस्तुको मूल्याँकनमा हुने गरेको वीरगन्ज भन्‍सारमा हरेक दिन काम गराइरहेका एक एजेण्टेको भनाइ छ। समाचारमा नाम चाही नलेखिदिनु होला। नत्र भोलीबाट हाम्रो काम नै जाँचकी कर्मचारीले पास नगरी दिने समस्या थपिन्छ भन्दै उनले नाम गोप्य राखिदिन आग्रहसमेत गरे।

पहिले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा रहेको एउटा कार्यालयको नाकाबाट मात्र सामान आयात हुँदा त राजस्‍व लक्ष्यमा सकारात्मकता हुन्थ्यो। अहिले त पर्साको सिर्सियामा रहेको नेपाल भारत संयुक्त भन्सार जाँच चौकी ( आइसिपी ) बाट पनि ठूलो परिणाममा सामान आयात निर्यात हुँदा अझ राजस्‍व लक्ष्य नपुग्नु केही त्रुटी हुन सक्ने व्यवसायीहरुको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.