|

बैतडी : तल्लो स्वराड क्षेत्रमा नरभक्षी चितुवाले शृंखलावद्ध रुपमा मानिसमाथि आक्रमण गरिरहे पनि चितुवा नियन्त्रणका लागि सरकारले कुनै पहल गरेको छैन। चितुवाले घरआँगन र विद्यालय जाँदै गरेका बालबालिकालाई आक्रमण गरे पनि स्थानीय, प्रदेश र केन्द्र सरकारले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ।

गत सोमबार शिवनाथ गाउँपालिका–४ की ४० वर्षीया दुरा चन्दलाई आफ्नै आँगनमा चितुवाले आक्रमण गरी घाइते बनायो। यसअघि माघ २ मा विद्यालय गइरहेका शिवनाथ–६ बसेडीका ११ वर्षीय रवीन्द्र धनाडीलाई पनि चितुवाले आक्रमण गरी घाइते बनाएको थियो। यस्तै, पुस ११ मा शिवनाथ–६ कै हिउँकला धनाडी पनि चितुवाको आक्रमणबाट घाइते भइन्। 

२०७३ मा शिवनाथकै तीन वर्षीया चञ्चला चन्दको चितुवाले आक्रमणबाट मृत्यु भयो। २०६८ यता तल्लोसोराड क्षेत्रमा चितुवाको आक्रमणबाट २३ जनाको मृत्यु भइसकेको छ। 

मानवमाथि नै चितुवाले आक्रमण गर्दा समेत सम्बन्धित निकाय मौनबसेकाले यस क्षेत्रका नागरिक आक्रोशित भएको स्थानीय वीरेन्द्र महताले बताए। स्थानीयले चितुवालाई मार्नुपर्ने माग समेत गरेका छन्। तर, चितुवा नियन्त्रणका पनि कुनै पहल भएको छैन। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब निरीक्षक नेत्रमणि गिरीका अनुसार नियन्त्रणका लागि प्रहरी परिचालन भएको छैन। ‘प्रहरी आफंै चितुवा नियन्त्रण तथा मार्न परिचालन हुँदैन,’ उनले भने, ‘स्थानीय प्रशासन तथा वन कार्यालयको अनुमति आवश्यक पर्छ।’

त्रासमा नागरिक

चितुवाले वस्ती पसेर आक्रमण गर्दा २०६८ देखि हालसम्म २३ जनाको मृत्यु भइसकेको छ। चितुवाको निरन्तरको अक्रमणबाट तल्लोस्वराडवासी नागरिक त्रासमा बस्न बाध्य छन्।

सात वर्षको अवधिमा दुई दर्जनभन्दा बढी चितुवाको आक्रमणबाट घाइते भएका छन्। चितुवाले बालबालिका र महिलामाथि बढी आक्रमण गर्ने गरेको स्थानीयको भनाइ छ।  विद्यालय जाँदै गर्दा र साँझपख आँगनमै आएर आक्रमण गरेको घटना छ।

चितुवाको आक्रमण भइरहेकाले बालबालिकाहरुलाई विद्यालय पठाउँदा समेत त्रास रहेको शिवनाथका खकेन्द्र महताले बताए। उनल भने, ‘घर आँगनमै खेलिरहेका बालबालिकालाई चितुवाले आक्रमण गर्न थालेपछि निकै त्रसित बनेका छौं।’ चितुवाको डरले घाँसदाउरा गर्न जाँदा समेत महिलाहरु समूहमा जाने गरेका छन्।

यता प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले डिभिजन वन कार्यालयसँग समन्वय गरेर चितुवा नियन्त्रणका लागि प्रयास गरिने बताए। उनले भने, ‘जिल्ला सुरक्षा समितिको बैठक बसेर निर्णय गर्छांै।’ वासस्थान र आहारा नष्ट भएपछि चितुवा वस्तीमा पस्न थालेको  डिभिजन वन कार्यालय बैतडीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.