|

झापा : कर्णाली प्रदेशका हिमाली तथा उच्चपहाडी जिल्लामा चिसो बढेपछि जाडो छल्न जुम्लाबासी सुदूरपूर्व झापा आइपुगेका छन्। कर्णाली प्रदेशको विकट जिल्लाबाट उनीहरू प्रदेश १ को झापासम्म आइपुग्नुको कारण जाडो छल्नु मात्रै पनि होइन, विभिन्न सामानको व्यापार गरी त्यसबाट घरायसी प्रयोजनका समान जुटाउनु पनि हो। 

हुम्लाको खाँडी : जुम्लाको भाका

भारीभरि खाँडीका कपडा लिएर व्यापार गर्दै झापा आइपुगेका जुम्लीमध्येका एक हुन् पुरीनाथ भट्ट। उनको घर जुम्लाको सिंजा, पाण्डुगुफा हो। हुम्लामा बनाइएको खाँडीका कपडा बोकेर व्यापार गर्दै झापा आइपुगेको उनले बताए। ‘हिउँदमा घरै बसिरहे पनि केही हुन्न बरु कोहलपुर झरेर पूर्व आई पुग्या हुँ’, आफ्नो व्यापारिक यात्राका बारेमा उनले भने, ‘हुम्ली-जुम्ली कोहलपुर झरेर बस्ने धेरै छन्। कोही त्यहीँ बस्छन्, कोही व्यापार गर्न लाग्छन्।’ उनी हुम्लाका खाँडी मात्रै बेच्दैनन्, भाका हालेर जुम्ली गीत पनि पूर्वेलीलाई सुनाउँछन्। घरघरै पसेर होस् वा सुपर मार्केट वा होटल पसेर देउडा र ठाडो भाका हालेर ग्राहकको ध्यान आकर्षित गर्ने उनको कला छ।

ग्राहकलाई उनले काँधमा बोकेको पोकोले भन्दा पनि नौलो भाकाले ध्यान खिच्छ र छेउ आइपुग्छन्। छेउ परेका ग्राहकलाई उनले खाँडीको बयान-बखान गर्दै व्यापार सुरु गर्छन्। खाँडीको दौरा-सुरुवाल खुब सुहाउने बताएका उनले एउटा दौरा-सुरुवालको कपडा एक हजारदेखि तीन हजार रुपैयाँसम्ममा बेच्ने गरेको बताए। 

मार्सीसँग जोडियो मुसुली

जुम्लाको सिंजाका वीरबहादुर रोकाया हरेक वर्षको हिउँदमा झापा आइपुग्छन्। संघीय संरचनाले उनको जिल्ला अहिले कर्णाली प्रदेशमा पर्‍यो, झापा प्रदेश १ मा। तर पछिल्ला वर्षमा अधिक लोकप्रियता पाएको मार्सी धान फल्ने जुम्ला र मुसुली (मन्सुली) फल्ने झापा आउजाउको सिलसिला भने त्योभन्दा पुरानो हो। सुगम जिल्लाको कुनै सुविधा नपुगेको गाउँलाई भन्नुपर्‍यो भने पनि 'कर्णालीजतिकै छ' भनिन्छ। तर उनले भोगेको कर्णालीचाहिँ कस्तो छ त? आफैँले संकलन गरेका र प्रशोधन गरेका अनेक जडिबुटीको भारी बोकेर दमक आइपुगेका उनले भने, ‘कस्तो छ भन्ने, सुन्नु भएकै होला नि कर्णालीको कथा। बल्ल थोर बहुत बाटो खुल्यो र अलिक सन्चो भा'छ। त्यो अघिको कथा अर्कै थियो।’

जुम्ली कालो मार्सी अहिले शहरीयाको शान र रवाफको प्रतीक बनेको छ तर त्यही मार्सी फलाउनेहरू वर्षभरिको अन्नपातको जोहो गर्न सुदूरपूर्व झापासम्म आउने गरेका छन्। सात वर्षदेखि झापा-जुम्ला आउजाउ गर्ने गरेको बताउने वीरबहादुरले केही वर्षअघि आफैँले जुम्ली मार्सी झापासम्म ल्याएको बताए। तर उनको खास व्यापारचाहिँ जडिबुटीको हो। उनी झोलाभरि जडिबुटी र घोडाको टापका औँठी, कनकर्नोलगायतका सामान लिएर झापा आउँछन् र घरघर पुगेर ती सामानको महत्त्व बुझाउँदै बेच्ने गरेका छन्।

जुम्लादेखि छ-सात जनाको समूह नै चाडपर्व मानेर पूर्वतर्फ आउने गरेका छन्। आफूले ल्याएका विभिन्न सामान बेचेर उनीहरू हिउँद सकिएसँगै थातथलो फर्किने गरेका छन्।

'गरी खानै गाह्रो भो'

जुम्लामा राजनीतिक परिवर्तनको तुलनामा विकासको परिवर्तन खासै नपुगे पनि उनीहरूको जीवनमा भने पुगेको छ। विभिन्न सामानका भारी बोकेर बजार बजार डुल्न पनि अचेल विभिन्न नगरपालिकाले कडाइ गर्न थालेको पुरीनाथले बताए। ‘हामीले यसरी डुल्दै व्यापार गरेको वर्षौं भयो तर यस्तो खप्की खेप्नुपरेको थिएन’, उनले भने, ‘आफूले पैसा हालेर किनेको माल बेच्न पनि चोरेर ल्याएको जस्तो ठान्दै खेद्न खोज्छन्।’

प्रहरी, प्रशासन तथा कतिपय व्यापारीले समेत आफूहरूको व्यापारलाई देखी नसहेको भन्दै उनले भने, ‘यस्तै ताक हो भने गरी खान गाह्रो भो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.