|

मनाङ : मनाङको तापक्रम अझै १० देखि २० डिग्री माइनसमा छ। चिसोले मुटु कमाउँछ। जता टेक्यो उतै हिउँ नै हिउँ। हिउँका कारण सवारी साधन सदरमुकाम चामेसम्म पनि पुग्न सकेका छैनन्। हिँडडुल गर्न कठिन छ। 

विगतका वर्षहरूमा फागुन दोस्रो साताबाट पठन-पाठन हुने विद्यालयहरू यस पटक माघ १६ बाट खुल्न थालेका छन्। तर १२ दिनसम्म लगातार परेको हिउँ बिलाएको छैन। साना नानीबाबुहरू झोला बोकेर हिउँमा टुकुटुकु हिँड्दै छन्, हिँड्न विवश छन्। 

हिउँदेयाम सुरुसँगै मंसिरको अन्तिम साताबाट जिल्लाभरका विद्यालयहरूमा जाडो बिदा थियो। तर जाडो छल्न जिल्लाबाहिर गएका मानिसहरू अझै जिल्ला फर्किएका छैनन्। एउटा विद्यालय भने खुलिसकेको छ। मनाङमा रहेको एक मात्र आवासीयविद्यालय लोकप्रिय माविमा आइतबारबाट पढाइ सुरु गरिएको प्रधानाध्यापक सुरेश थापाले जानकारी दिए। 

स्कुल त खुल्यो तर बाक्लो हिउँ र चिसो उत्तिकै छ। विद्यालयमा पठनपाठन सुरु गर्ने चटारो र बाध्यता सँगैसँगै आइपरेको छ। चिसोले विदा भएको विद्यालय खुलेसँगै बालबालिकालाई कठिनाइ यथावत् नै छ। विद्यालय जानैपर्ने बाध्यता छ। 

‘खुट्टा गाडिने हिउँ छ। विद्यालय वरपर।बाटोमा जताततै हिउँ नै हिउँ’, प्रधानाध्यापक थापाले भने, ‘विद्यालयको हिउँ शिक्षक, विद्यार्थी र सेना मिलेर सफा गर्दै पढाई सुरु गरेका छौँ।’ 

वरपर सबैतिर हिउँ भएकाले चिसो हावा चल्दा पठन-पाठनमा समस्या भएको उनले बताए। पुस १ गतेदेखि बन्द भएको त्यो विद्यालय माघ १६ गतेबाट सञ्चालन गर्ने भनिएको थियो।तर हिमपात नरोकिएपछि ४ दिनपछि सुरु गरिएको उनले बताए।

‘आइतबार एक/दुई पिरियड पढाइयो। अब सबै पिरियड पढाउँछौँ’, थापाले भने,‘शिक्षकहरू सबै आइसक्नु भएको छ। विद्यार्थीलाई पनि खबर गरिरहेका छौँ।’

सदरमुकामको लोकप्रियबाहेक अन्य विद्यालय भने सुचारु हुन सकेका छैनन्। हिउँ नहटेकाले माथिल्लो मनाङमा पर्ने मनाङ ङिस्याङ गाउँपालिकाका सबै विद्यालय बन्द छन्। नार्पाभूमिको नार र फुका विद्यालय पनि बन्द छन्। तल्लो मनाङमा पर्ने नासो गाउँपालिकाका विद्यालय पनि बन्द रहेको शिक्षकले बताएका छन्। 

मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डे आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्रनाथ पौडेलले फागुन १६ बाट मात्र विद्यालय खुल्ने बताए। सो विद्यालय मंसिर २५ गतेदेखि बन्द भएको थियो। 

नासो गाउँपालिका ५ थोंचेस्थित प्रकाश ज्योति माविका प्रधानाध्यापक पदमराज पन्थीका अनुसार तल्लो क्षेत्रका विद्यालयहरू पनि सुचारु भएका छैनन्। पुस ३ गतेबाट यहाँका विद्यालय बन्द भएका थिए। फागुन १ गतेबाट विद्यालय सञ्चालन हुने उनले बताए। 

शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख खुलानाथ गौतमका अनुसार शिक्षा नियमावलीले ४५ दिन बिदा पाउने प्रावधान छ। स्थानीय बिदा पाँच दिन पाउँछन्। 

तर, माथिल्लो क्षेत्रमा तीन महिना र तल्लो क्षेत्रमा साढे दुई महिना विद्यालय बन्द हुने गरेका छन्। मनाङमा २६ वटा सामुदायिक विद्यालय छन्। यसमा कक्षा १२ सम्म पढाई हुने २ वटा उच्चमावि र २ वटा मावि छन्। बाँकी आधारभूत विद्यालय छन्।

शिक्षा नियमावलीमा रहेको व्यवस्था अनुरूप विद्यालय सुचारु गर्नै परे पनि साना साना बालबालिकालाई भने कठिनाइ भइरहेको छ। हिउँमा हिडनुपर्ने, हिउँले छेकिएको विद्यालयमा पढ्नुपर्ने बाध्यता छ। चिसोले कठ्याङ्ग्रिने साथै अन्य शारीरिक समस्याहरू देखा पर्ने जोखिम पनि उत्तिकै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.