|

रुकुम : नेपालका एक युवाले मिस्टर मोडल अफ द वर्ल्ड जितेको ६ महिना बितिसक्दा पनि यहाँ उनको खासै चर्चा भएको छैन। 

गएको भदौमा म्यानमारमा भएको मिस्टर मोडल अफ द वर्ल्ड २०१८ को उपाधि नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका थिए। 

९ प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीले मिस्टर मोडल अफ द वर्ल्ड– २०१८ को टाइटल जितेका हुन्। 

उनले तीन वटा टाइटल पनि जितेका छन्। मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्म ल वेयरको टाइटल पनि उनले जिते। 

थुप्रै उपाधि

थाइल्याण्डमा भएको मिस्टर ग्लोबल र फिलिपिन्समा भएको मिस्टर ग्राण्ड इन्टरनेशनलमा सहभागी भइसकेका कार्कीले विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरूमा समेत मोडलिङ गरिसकेका छन्। दिक्पालले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए। 

त्यस्तै थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा उनी छैटौँ भएका थिए। कोरियन क्लोथिङ ब्रान्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इनसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए। 

मिस्टर ग्राण्ड नेपाल २०१७ का विजेता दिक्पालले मिस्टर वर्ल्ड नेपाल २०१७ को कोरियोग्राफी गरेका थिए। द ड्रिम सर्च एजेन्सीले दिक्पाललाई नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको थियो। 

सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित सोहरूमा भाग लिइसकेका छन्। भेटेनरी डाक्टरसमेत रहेका दिक्पालले एक सय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा  अभिनय गरेका छन्।  

को हुन दिक्पाल?

रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित चौरजहारी बजारमै जन्मिएका उनी हाल मोडलिङ सम्बन्धी विभिन्न कामका क्रममा राजधानी काठमाडौँमा नै बस्छन्। रुकुम पश्चिमको चौरजहारीस्थित विजेश्वरी बोर्डिङ स्कुलमा प्राथमिक तहको अध्ययन गरेका दिक्पाल पछि परिवारसँगै नेपालगन्ज गएका थिए। 

हाल उनको परिवार नेपालगन्ज बस्छन् तर उनको केही पुर्ख्यौली  सम्पत्ति अझ पनि चौरजहारी छ। ‘रुकुम शब्द सुन्दा माया लाग्छ, मलाई जसरी विश्व जगतमा मिस्टरको उपाधि हासिल गर्ने अवसर मिल्यो त्यो रुकुमेली माटोको कारण पनि हो’ उनले भने, ‘म छिट्टै रुकुममा आउछै छु, आफ्नो जन्मभूमिको माया लागेको छ। मिस्टर वर्ल्डको सन्देश कोसेली स्वरूप लिएर म आउँदै छु।’ 

अध्ययनको हिसाबले भेटनरी डाक्टरको समेत शिक्षा हासिल गरेका हिक्पाल रुचि भने मोडलिङमै छ। 

गुमनाम जस्तै

मिस वर्ल्डमा नेपालको प्रतिनिधित्वबारे निकै चर्चा हुने गर्छ। तर मिस्टर मोडल वर्ल्ड भएका दिक्पालको नाम खासै सुनिएन। 

पत्रकार अरुणा राइमाझीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दिक्पाललाई विश्वले चिने पनि रुकुम अनि नेपालले चिन्न नसकेको गुनासो गरेकी छिन्। उनले स्टाटस लेखेकी छिन्, ‘रुकुम जिल्लामा जन्मिएका यी युवालाई संसारले चिन्यो। तर, आफ्नो मुलुकले चिनेन। उनले अन्तर्राष्ट्रिय उपाधि जितेर नेपाल ल्याएको पनि चार महिना भयो! राज्यलाई मतलब छैन। तर, कोही प्रतियोगितामा गएर रित्तै हात आए उनीहरूलाई प्रधानमन्त्रीले सम्मान गर्नुहुन्छ। राजनीति पहुँच नभएका मिस्टर मोडल अफ द वर्ल्ड २०१८ विजेता दिक्पाल कार्की!’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.