|

तनहुँ : नेपालमा अहिले पनि खानेपानीको समस्या एउटा प्रमुख रहेको छ। पानी पिउनका लागि कति स्वस्थकर छ भन्ने भन्दा पनि खानेपानीको जोहो नै कसरी गर्ने भन्नेले धेरैलाई सताएको छ। त्यसको सोझो असर गृहणी महिलामा देखिएको छ।

यस्तै समस्या छ। तनहुँको रघुगाउँमा। यहाँका महिलाले खानेपानीको जोहो गर्न सास्ती नै पाउनु परेको छ।

स्थानीय तहको निर्वाचन पश्चात् सर्वसाधारणमा गाउँको खानेपानीको समस्या समाधान हुने अपेक्षा गरेका थिए। त्यसो त चुनावको बेला उम्मेदवारहरूका मुख्य मुद्दा नै जनतालाई प्रत्यक्ष आकर्षित गर्ने यस्तै विषय थिए।

चुनाव भएको दुई वर्ष पुग्न लाग्यो तर गाउँका समस्या उस्तै छन्। निर्वाचनपछि समस्या समाधान हुने विश्वास गरेका गाउँवासीहरू लामो समय बितिसक्दा पनि समाधान नभएपछि चिन्तित बन्दै गएका छन्। 

खानेपानीको बन्दोबस्तो हुने अपेक्षामा रहेका भिमाद नगरपालिका–२ रघुगाउँमा खानेपानीको समस्या अझै पनि कायमै छ। गाउँमा पर्याप्त मात्रामा पानी नभएपछि हाहाकार मच्चिएको छ। छाब्दी आमा समूहका पूर्वअध्यक्ष पूर्णिमाया आलेले धारामा पानी पर्याप्त नआउँदा जोहोमै दिन बित्ने गरेको बताइन्।

‘पानी भर्नको लागि बिहान चार बजे नै लाइन बस्न पुग्ने गरेका छौँ,’ उनले भनिन् ‘धारामा पानी कम भएर थोरै आउँदा गाग्री भरिन करिब एक घण्टा लाग्ने गर्छ।’ 

स्थानीयहरू उज्यालो नहुँदै लाइन बसे पनि एक दिनमा तीन गाग्री भन्दा पानी भर्न पाउँदैनन्। पानी पर्याप्त नआउँदा प्रत्येक घरले तीन गाग्री पानी पाउने गरेका हुन्। उक्त गाउँमा एउटा धारो खोल्यो भने अर्को टोलमा पानी सुक्ने गरेको छ। गाउँमा रहेका १२ टोलमा धारा भए पनि खानेपानी पर्याप्त नआउँदा समस्या देखिएको छ।

घरको धारा नाम मात्रको भएपछि स्थानीयले पँधेरोको भर पर्नुपर्ने बाध्यता छ। करिब दुई सय ५० घरधुरीको बसोबास रहेको रघुगाउँमा खानेपानीको समस्या विकराल बन्दै गएको छ। धाराको विकल्पमा गाउँमा पाँच वटा साना–साना पँधेरो भए पनि समस्या टर्न भने सकेको छैन। 

धाराको पानीले नपुग्ने भएकाले अलि बेसीको पँधेरोमा जाने गरेको स्थानीय भीमसरा थापाले बताइन्। ‘पँधेरोमा पानी भर्न जान एक घण्टा भन्दा बढी लाग्छ,’ उनले भनिन् ‘पानीको जोहो गर्दागर्दै समय खेर जान्छ कहिलेकाहीँ त। मेलापातसमेत जान भ्याउदैनौँ।’

उक्त क्षेत्रमा पानीको समस्याले गर्दा छोराछोरीलाई समयमा विद्यालय समेत पठाउन नसकेको गुनासो गर्छन्। नेपालकै दोस्रो ठुलो मगर बस्ती रहेको गाउँमा पानीको अभावले होमस्टे समेत सञ्चालन गर्न नसकेको थापाले बताइन्। ‘होमस्टे चलाउनको लागि तालिम पनि लियौँ तर पानीको अभावले सञ्चालन गर्न सकेनौँ, उनले भनिन् ‘मानिसको नैर्सगिक अधिकारको रूपमा रहेको वस्तुको समेत उपभोग गर्न पाएका छैनौँ।’  

गाईबस्तु बेसीमा

स्थानीयले पानीको अभाव भएपछि गाईबस्तु बेसी झारेका छन्। बेसीमा गाईबस्तुका लागि गोठ बनाएर राख्ने गरेका छन्। उनीहरू दिउँसो बेसी गएर गाईबस्तुको स्याहार सुसार गरी बेलुका फर्किने गर्दछन्। गाईबस्तुलाई पानी पुर्‍याउन नसकेकाले उनीहरूले गाई गोठ बेसीमा झारेका हुन्। रघु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव विष्णुबहादुर थापाले पानीको मूल नै सानो भएकाले समस्या भएको बताए। ‘करिब दुई करोड रुपैयाँको लागतमा केन्द्रीय योजनामा खानेपानी योजना निर्माणको चरणमा रहे पनि बजेट अभावका कारण अलपत्र परेको छ,’ उनले भने। 

भिमाद नगरपालिकाका–२ का वडाध्यक्ष दिनेश थापामगरले पानी अभावमा स्थानीयले समस्या भोग्नुपरेको बताए। ‘पानी अभावमा स्थानीयले गाईबस्तु समेत गाउँमा पाल्न छाडेका छन्,’ उनले भने खानेपानीको लागि तीन वटा शाखा ट्याङकी बनिसकेको छ भने ट्याङकीसम्म पाइप विस्तार गरिएको छ।’ योजना सम्पन्न भएपछि त्यस क्षेत्रका दुई सय ५० घरधुरीका झन्डै दुई हजार जना प्रत्यक्ष लाभान्वित हुनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.