|

बैतडी : सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका कार्यालयहरूको ६ महिनाको खर्च स्थिति हेर्दा निराशाजनक देखिएको छ। विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूले चालु आर्थिक बर्षको ६ महिना पूरा हुँदासमेत विकास खर्च बढाउन सकेका छैनन्।

जिल्लाका रणनैतिक सडक, सडक पूल र ठूलाठूला झोलुंगे पुल निर्माणको जिम्मा पाएको भौतिक पूर्वाधार विकास कार्यालयले अहिले सम्म ५७ करोड ७७ लाख ५६ हजार पुँजीगत बजेट मध्ये ३१ लाख ५७ हजार मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले बताए। यो कुल पुँजीगत बजेटको ०.५४ प्रतिशत मात्रै खर्च हो।

यसैगरी प्रदेश सरकार मातहत स्थापना भएको शहरी विकास तथा भवन निर्माण कार्यालयको विकास बजेट खर्च भने अन्य कार्यालयको तुलनामा केही बढी भएको पाइएको छ। जनता आवास कार्यक्रम पनि सो कार्यालयले सञ्चालन गरिरहेकाले खर्च बढेको हो। कार्यालयको कुल ६ करोड ४८ लाख पुँजीगत बजेट मध्ये ६ महिनाको अवधिमा २ करोड १८ लाख खर्च भएको छ।

प्रदेश सरकार मातहत नै स्थापना भएको जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालयको २६ करोड ९० लाख पुँजीगत बजेट मध्ये ६ महिनाको अवधिमा ५२ लाख मात्रै खर्च भएको छ। यसरी हेर्दा यो कार्यालयले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा १.९३ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्न सकेको छ।

यसैगरी वृहत्तर जलाधार व्यवस्थापन कार्यालय महाकालीको कुल पुँजीगत बजेट १५ लाख मध्ये १ लाख मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। वृहत्तर जलाधार व्यवस्थापन कार्यालयको कुल पुँजीगत बजेट मध्ये ६.६६ प्रतिशत मात्रै खर्च भएको छ। चालु आर्थिक बर्षमा ९६ लाख ३५ हजार बजेट भएको डिभिजन वन कार्यालयले ६ महिनाको अवधिमा ७४ हजार चारसय मात्रै खर्च गर्न सकेको छ।

यस्तै संघीय सरकार मातहत रहेको डिभिजन सडक कार्यालय पाटन बैतडीको पनि विकास खर्च निराशाजनक रहेको पाइएको छ। कार्यालयको पुँजीगत बजेट ५० करोड २९ लाख मध्ये १ करोड २६ लाख मात्रै खर्च भएको छ। समयमा बजेट निकासा नहुँदा खर्च नभएको कार्यालयहरूले जनाएका छन्।

स्थानीय तहको विकास खर्च पनि निराशाजनक

चालु आर्थिक बर्षको ६ महिना बितिसक्दा बैतडीका स्थानीय तहको विकास खर्च निराशाजनक रहेको पाइएको छ। १० ओटा स्थानीय तह रहेको बैतडीमा विकास खर्चको स्थिती हेर्दा निराशाजनक रहेको पाइएको हो।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणका कामले गति लिने आश गरिएको भएपनि सो अनुसार काम भने हुन सकेको छैन। जिल्लाको डिलाशैनी गाउँपालिकाले ६ महिनाको अवधिमा ८ करोडको विकास बजेट मध्ये ७० लाख जति मात्रै खर्च गरेको छ। दोगडाकेदार गाउँपालिकाले १० करोडको पुँजीगत बजेट मध्ये ५५ लाख मात्रै पहिलो चौमासिकमा खर्च गरेको कार्यालयका खरीदार अम्बादत्त जोशीले बताए।

जिल्लाको पाटन नगरपालिकाले १६ करोड ८ लाख ५३ हजार ११० विकास बजेट मध्ये अहिले सम्म ६२ लाख ४४ हजार २१६ रुपैया मात्रै खर्च गरेको छ। यो विकास बजेट ४.८४ प्रतिशत मात्रै खर्च हो। पाटन नगरपालिकाको नगरसभा नै ढिलो भएकाले विकास बजेट सोचे अनुसार खर्च हुन नसकेको नगरपालिकाका लेखा अधिकृत भुपेन्द्रसिंह धामीले जानकारी दिए।

यस्तै दशरथचन्द नगरपालिकाले ६ महिनाको अवधिमा १५ करोड १० लाख ६० हजारको पुँजीगत बजेट मध्ये ४ करोड ६१ लाख ४० हजार ३४६ रुपैया खर्च भएको जनाएको छ। यस्तै मेलौली नगरपालिकाले ११ करोडको बजेटमा ४ करोड जति खर्च गरेको छ।

यस्तै पुरचौंडी नगरपालिकाले १२ करोड ६० लाख ६७० को पुँजीगत बजेट मध्ये ५३ लाख १५ हजार ९ सयय मात्रै खर्च भएको जनाएको छ। यस्तै शिवनाथ गाउँपालिकाले ११ करोड ५५ लाख ८ हजार ५० मध्ये पुँजीगत बजेट खासै खर्च नभएको जनाएको छ। यस्तै पञ्चेश्वर गाउँपालिकाले ८ करोडको पुँजीगत बजेट मध्ये २ करोडको हाराहारीमा खर्च भएको जनाएको छ। जिल्लाको सिगास गाउँपालिकाले १० करोड ८८ लाख ६० हजार पुँजीगत बजेट मध्ये १ करोड ८० लाख मात्रै खर्च भएको गाउँपालिकाका लेखापाल जगदीश्वर कलौनीले बताए। विकास बजेट कम खर्च भएको प्रति सर्वसाधारणले चिन्तासमेत व्यक्त गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.