|

सिन्धुली : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान सरकारले चुनावमा गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने दावी गरेका छन्। मन्त्री महासेठले दुई तिहाई बहुमतको वर्तमान सरकारले चुनावमा गरेका प्रतिबद्धता अनुसारका काम गरिरहेको भन्दै अबको चार वर्षमा ती प्रतिबद्धता पूरा गरेर देखाउने दावी गरेका हुन्।

उनले सरकारले पूर्वाधारको क्षेत्रमा सडक मार्ग, रेल मार्ग र जल मार्गमार्फत् विकास गर्ने कामको सुरुवात भएको बताए। उनले भने, 'सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा हामी पानि जहाजको केन्द्रीय कार्यालय उद्घाटन गर्दैछौँ।' पूर्व-पश्चीम-उत्तर-दक्षिण रेल मार्ग, विधुतीय रेल, काठमाडौं-केरुङ रेल मार्ग निर्माण लगायतका कामलाई सरकारले प्राथामिकताको साथ अगाडि बढाइरहेको मन्त्री महासेठले बताए।

सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही (जगाडि) र वडा नं.५ सिर्थौली (खनिया) जोड्ने कमला खोलामा निर्माण गरिएको पक्की पुलको बुधबार उद्घाटन गर्दै मन्त्री महासेठले सरकारले गरिरहेको विकासको काम देखेर विपक्षीहरू आत्तिएको बताए। उनले भने, 'सरकारको विकासको कामको गति देखेर विपक्षीहरू आत्तिएका छन्, नचाहिदो एजेण्डा बोकेर सरकारविरुद्ध जनतामा भ्रम छरिरहेका छन्।'

उनले प्रतिपक्षमा रहेका पार्टीहरूलाई इंगित गर्दै भने, 'विकासको सवालमा राजनीति नगर्नुस्, बरू आउनुस् सहकार्य गरेर देशको विकास गरौँ” राजनीति चुनावको बेलामा मात्र गर्न समेत मन्त्री महासेठले आग्रह गरे।

त्यस्तै, पुल उद्घाटन कार्यक्रममा बोल्दै सिन्धुली प्रतिनिधिसभा-१ का सांसद गणेश पहाडीले आफ्नो निर्वाचन क्षेत्रको भौतिक विकासका लागि सडक पुल निर्माणमा सहयोग गरिदिन मन्त्री महासेठलाई आग्रह गरे। साथै प्रदेश सासंद राजन दाहालले कमला नदी नियन्त्रण, चुरे क्षेत्रको खहरे नियन्त्रण, उत्तर-दक्षिण सडक निर्माण गर्न सकियो भने सवृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकता पाउने बताए।

कमला खोलामा निर्माण गरिएको ५०० मिटर लामो उक्त पुल २०७३ असार २९ मा निर्माण कम्पनी कालिका–तुँदी–रसुवा जेभी काठमाडौंले सम्झौता गरी काम सुरु गरेको थियो। कुल ६१ करोड २२ लाख २८ हजार तीन सय रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त पुल निर्माण कम्पनीले सम्झौताभन्दा १ वर्ष अगाडि नै निर्माण कार्य सम्पनन् गरेको छ। पुल निर्माणपछि कमलाखोजबासीलाई आवतजावतमा सहजता भएको छ।

आठ वर्षअघि थालेको पुल अझै अलपत्र, दुई वर्षअघि थालेको पुल उद्घाटन

झण्डै आठ वर्षअघि निर्माण थालिएको कमला नदीकै लामो पुल अलपत्र अवस्थामा रहँदा दुई वर्षअघि थालिएको दुधौली नगरपालिका ४ खनिया र दुधौली नगरकै ६ नम्बर वडाको जगाडी जोड्ने पक्की पुल निर्माण सम्पन्न भएको छ। सिन्धुलीको दुधौली नगरपालिकास्थित कमला नदीमा निर्माण सम्पन्न पक्की पुलको बुधबार एक कार्यक्रमका बीच मन्त्री महासेठले उद्घाटन गरेका हुन्।

मदन भण्डारी लोकमार्गअन्तर्गत पर्ने दुधौली नगरपालिका २ को रतनपुर र ३ को गिजियानी जोड्ने गरी कमलानदीमा ५ सय ४६ मिटर लामो पक्की पुलको निर्माण जिम्मा २०६८/०६९ मा पप्पु कन्स्ट्रक्सनले लिएको थियो। तर, जगको काम मात्र गरेर ८ वर्षदेखि उक्त पुल अलपत्र छाडेर ठेकेदार भागेपछि स्थानीयले पटकपटक पुलको निर्माण कार्य अघि बढाइदिन सरकारसंग आग्रह गरेका थिए।

त्यसको झण्डै पाँच वर्षपछि कमलानदीअन्तर्गत नै हर्षाही खनिया जोड्ने गरी ५ सय मिटर लामो सोही प्रकारको पक्की पुल कालिका–तुँदी–रसुवा जेवीले निर्माण सम्पन्न गर्नु पर्ने समयभन्दा १३ महिनाअघि नै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाउँदा पप्पु कन्ट्रक्सन र उनका मालिक हरिनारायण रौनियारलाई जोगाउँने सरकारको आलोचना गर्दै मन्त्री महासेठलाई ज्ञापनपत्रसमेत बुझाइएको छ।

मन्त्री महासेठले आगामी १५ दिनभित्र निर्माण कार्य सुचारु नगरे पप्पु कन्ट्रक्सनलाई कारबाही गर्ने प्रतिबद्धता जनाउँदै स्थानीयलाई आश्वस्त पारेका छन्। पप्पु कन्ट्रक्सनले कमला नदीम पुल निर्माण थालेदेखि यतामात्र त्यस आसपासबाट कमलानदीले बगाउँदा २८ जनाको ज्यान गइसकेको छ । कमलानदीमा यसअघि एउटा पनि पक्की पुल नहुँदा स्थानीयले विमारी हुँदा पनि नदीवारपार गर्न नसक्दा उपचार अभावमा ज्यान गुमाउनु परेको थियो।

त्यस क्षेत्रमा विषालु सर्पको विगविगी हुने गरेको छ। वर्षातको समयमा हरेक वर्ष दर्जनौलाई सर्पले डस्ता नदी वारपार गर्न कठिन हुँदा समयमा उपचार नपाएर नै ज्यान गुमाउने गरेको घट्नाहरू छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.