|

दाङ : दाङमा २ वटा विद्यालयमा दृष्टिविहीनले अध्ययन गर्दै आएका छन्। तर उनीहरूले समयमै पाठ्यपुस्तक नपाउँदा पढाइमा समस्या हुँदै आएको छ।

कक्षा १० देखि माथिल्ला कक्षा पढ्नको लागि पाठ्यपुस्तक नहुँदा उनीहरूले समस्या भोग्दै आएका छन्। त्यसमा पनि उनीहरूले आफ्नो पढाई अगाडि बढाए पनि कतै रोजगारी नपाउँदै बजारका चोक चोकमा गीत गाउन बाध्य भएको उनीहरू बताउँछन्।

तुलसीपुरको गुरुजजुर माध्यामिक विद्यालयमा ३० जना र देउखुरीको मावि मौरीघाट लालमटीमा १३ जना दृष्टिविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन्। तर समयमै पाठ्यपुस्तक नआउँदा पढाइमा आफूहरूले समस्या भोग्दै आएको गुरुजजुरु मावि रक्षाचौरमा कक्षा १२ मा अध्ययन गर्दै आएका रामबहादुर विकले बताए। यता समय मै पाठ्यपुस्तक नआउँदा दृष्टिविहीनलाई पढाउन समस्या भएको गुरुजजुर मा.विका दृष्टिविहीन शिक्षक कुशल तामाङ बताए।

राज्यले दृष्टिविहीनलाई निश्चीत मात्रामा पैसा दिँदा उनीहरूलाई होस्टेल बस्न र कापी कलम किन्न समेत नपुग्ने शिक्षक तामाङले बताए। त्यस्तै घोराही उपमहानगरपालिका ३ लक्ष्मीपुरका नारायण सुनारले २०७० सालमा शिक्षा शंकायबाट स्नातक पास गरे। उनले पनि रोजगार नपाउँदा सडकमै गीत गाएर जीविको चलाइरहेका छन्। उनकी श्रीमति पनि दृष्टिविहीन भएकाले आफ्नी एउटी छोरीलाई कसरी पढाउने, लेखाउने भन्ने चिन्ताले सताउने गरेको दुखेसो पोखेँ।

‘छोरी ५ वर्षकी भइन्। विद्यालय पठाउने गरेका छौं’ उनले भने, ‘कसरी पढाउने भन्ने चिन्ता छ।’ त्यस्तै शान्तिनगरका नेत्रप्रसाद बुढाथोकीले स्नातक पास गरे। २०७१ सालमा दाङ घोराहीको महेन्द्र माबिबाट स्नातक पास गरेका उनले अहिलेसम्म कुनै पनि रोजगारी पाएका छैनन्। शिक्षा संकायबाट स्नातक पास गरे पनि अहिले आफ्नो जीविकाका लागि सडक सडकमा गीत गाएर हिड्नु पर्ने अवस्था रहेको उनले बताए। ‘२०७१ सालमा स्नातक पास गरेँ’ उनले भने,‘तर रोजगारी नपाएपछि जीविकोपार्जनका लागि सडकमा गीत गाउँदै हिडिरहेको छु।’

कहिल्यै काठमाडौंका सडकमा र कहिल्यै दाङका सडकमा गीत गाएर आफूले जीविका चलाउने गरेको उनले बताए। त्यस्तै दाङकी सरस्वती गौतमले पनि एमए पास गरकी छन्। तर उनले पनि जागिर पाउनु नपाउँदा सडकमा गीत गाएर जीवन पालिरहेका छन्। उनी मात्रै होइन दाङमा स्नातक पास गरेका ४० भन्दा बढी दृष्टिविहीनहरू छन्। उनीहरूमध्ये ८ जना बाहेक अधिकांश बेरोजगारी बसिरहेका छन्। घरपरिवारले पनि राम्रो व्यवहार नगरेपछि अहिले सडकमा भौतारिएर हिड्नुपर्ने अवस्था रहेको नेत्रविहीन संघ दाङका अध्यक्ष रामवहादुर खड्काले बताए।

‘धेरै जना दृष्टिविहीन ब्यक्तिहरू जागिर नपाएर त्यसै भौतारिरहेका छन्’, उनले भने। दृष्टिविहीन हुँदाको पीडा कस्तो हुन्छ, भन्ने कुरा पीडितलाई मात्रै थाहा हुने भन्दै ठूलो संघर्ष गरेर स्नातक गरेका दृष्टिविहीनलाई राज्यले जागिरको व्यवस्था गरिदिनुपर्ने उनको माग छ। ‘हामीले व्याचलर पढ्दासम्म धेरै संघर्ष गर्ने गरेका छौं’ उनले भने, ‘हामीलाई अन्य अपांगसरह दाँज्न हुँदैन।’ दश प्रकारका अपांगता भएकाहरू मध्ये दृष्टिविहीनलाई जीवन यापनमा कठिन हुने भन्दै सरकारले दृष्टिविहीनका लागि मात्रै लोकसेवामा छुट्टै आरक्षण कोठाको व्यवस्था गरिदिनुपर्ने उनले बताए।

साथै सरकारले अहिले अपांगता भएकालाई दिने ६०० रुपैयाँ भत्तालाई बढाउनुपर्ने समेत उनको भनाई छ। अहिले दाङमा ८ जना दृृष्टिविहीनले विद्यालयमा रोजगारी पाएका छन्, तीबाहेक अन्य सबै बेरोजगार बस्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.