|

सिन्धुली : सिन्धुलीमा बिहीवार भएको दुई छुट्टाछुटै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। सिन्धुलीको फिक्कल गाउँपालिका-२ चण्डीभञ्ज्याङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। सात जना घाइते छन्।

फिक्कल गाउपालिका-१ महादेवडाँडाबाट १२ जना यात्रु बोकेर सदरमुकाम सिन्धुलीमाढी तर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको जीप बिहीबार बिहान अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा फिक्कल गाँउपालिका २ निवासी ५५ वर्षीया तीलमाया विक, ६५ वर्षीय कुनमान तामाङ, ४० वर्षीया लक्ष्मी विक, २५ वर्षीया अनिता महत (न्यौपाने) र वडा नं. ३ निवासी ३५ वर्षीया शान्तिमाया श्रेष्ठ रहेका छन्।

दुर्घटनाका गम्भीर घाइतेहरू चालक मानबहादुर सुनुवार, गंगामाया विक र दीपक श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारका भइरहेको छ। अन्य चार जना यात्रु भने सामान्य घाइते रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

घाइतेको सिन्धुलीको खुर्कोट र सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। मृतक पाँचको बिहीवार साँझ पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको डिएसपी थापाले बताए। बिहीवार बेलुका मात्रै शव अस्पताल आइपुगेकाले शुक्रबार मात्रै शव पोस्टमार्टम हुने थापाले बताए।

श्रीमतीको अस्पतालमै मृत्यु, श्रीमानको सोही अस्पतालमा उपचार हुँदै

बिहीबार बिहान फिक्क्ल –२ का ३५ वर्षका जयप्रसाद न्यौपाने र उनकी श्रीमती २५ वर्षीया अनिता महत (न्यौपाने) सँगै बोलेरो चडेर सिन्धुलीमाढीतर्फ आउँदै थिए। अचानक उनीहरू सवार बोलेरो दुर्घटनामा पर्दा श्रीमती अनिता र श्रीमान् जय दुवै घाइते भए।

दुवैलाई उपचारका लागि सिन्धुलीको गोलन्जोर गाउपालिका खुर्कोटस्थित शुभजीवन अस्पतालमा ल्याइयो। तर, जयकी श्रीमती अनिताको अस्पतालको वाडमा ल्याइपुर्‍याउन नपाउँदै मृत्यु भयो।

जयले आफ्नै आँखा अगाडि आफ्नी श्रीमतीलाई गुमाउनु पर्दा उनको पीडामाथि झन पीडा थपियो। जयको अहिले खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको छ।

एउटै गाउपालिकाका पाँच जनाको मृत्यु भएपछि फिक्कल गाउपालिका अहिले शोक मग्न भएको छ। गाउपालिकाका अध्यक्ष धनबहादुर कार्कीले दुर्घटनाले गाउपालिका शोक मग्न भएको बताए।

यसैबीच, बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ४० जना घाइते छन्। रामेछापको खाँडादेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना भएको हो।

दुर्घटनामा काभ्रेकी २२ वर्षीय कृष्णमाया माझी र १६ वर्षीय चुन्पाई लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते तिमाल गाउँपालिका, ९ का १२ वर्षीय दिनेश तामाङ र निरज माझीसहित ९ जनाको राजधानीको ट्रमा सेन्टर तथा अन्यको काभ्रेस्थित धुलीखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

टिपर चालक खड्क माझीलाई पक्रउ गरी थप अनुसन्धान भइरहेको थापाले बताए। बेहुला बेहुली भने सकुशल छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.