|

रुकुम : सरकारले घोषणा गरेको रुकुम पूर्वको सदरमुकाम गोलखाडा कार्यान्वयन गर्नुपर्ने मागसहित प्रदर्शन गर्दै आएका गोलखाडा पक्षधरका जनताहरूले आन्दोलनको स्वरुप बदल्ने भएका छन्। ४ दिन पैदल हिँडेर रुकुमकोट तर्फ भएका स्थानीयहरूलाई स्थानीय प्रशासनले कर्फ्यु लगाएर रोकेपछि उनीहरू अब गाउँ केन्द्रित अभियान संचालन गर्ने बताएका हुन्। जिल्लामा सदरमुकामको पक्ष विपक्षमा आन्दोलन हुन थाले पनि जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले लगाएको कर्फ्यु अझै पनि जारी राखेको छ।

तर रुकुमकोटमा ज्ञापनपत्र बुझाउन आएका करिब ६ हजारबढी गोलखाडा पक्षधरका जनताहरू भने निषेधाज्ञा पनि आ-आफ्नो घरतर्फ फर्किसकेका छन्। कडा सुरक्षाबीच बुधबार उनीहरूलाई धौलापैरामै रोकिएको थियो। गोलखाडा पक्षहाल रुकुमकोटमा रहेको स्थानीय प्रशासनले आफुहरूलाई हेपेको भन्दै आफ्नो क्षेत्रमा रहेका सरकारी कार्यालय हटाउने देखि कर्मचारीरुलाई फिर्ता गर्ने आन्दोलन शुरुवात गर्ने तयारी गरेका हुन्। स्थानीय प्रशासनले आफुहरूको शान्तिपुर्ण आन्दोलनलाई कर्फ्यु लगाएर दमन गरेको भन्दै गोलखाडाबासीहरूले छुट्टै समानान्तर सरकार चलाउने उद्घोषसमेत गरिसकेका छन्।

रुकुम पूर्वको सदरमुकाम गोलखाडा स्थापनार्थ सरोकार समितिका सदस्य तथा ज्ञापनपत्र बुझाउने कार्यक्रमका संयोजक जीतमान पुन मार्सलले रुकुम पूर्वको प्रशासन कार्यालयले गोलखाडाका नागरिकलाई फरक जिल्लाको नागरिक जस्तै सौतेनी व्यवहार गरेको आरोप लगाए। ‘रुकुमकोट पक्षधरताले महिनौ आन्दोलन गर्दा प्रशासन कार्यालय चुपचाप हुन्छ, हामी गोलखाडा पक्षधरताको शान्तिपुर्ण आन्दालन हुदा पनि कर्फ्यु जारी हुन्छ, थाहा संचार संबाददाता संग टेलिफोनमा कुरा गर्दै उनले भने, ‘यो पक्षपाती प्रशासनले सबै दुरदराजका जनताको न्याय गर्न सक्दैन, अब हामी छुट्नै समान्तर सरकार गठन गछौं।’

रुकुम पूर्वको भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा रहेका सबै सरकारी कार्यालयहरू छिटै हटाउने पनि उनको भनाई थियो। ‘त्यहाँ रहेका प्रहरी चौकी देखि सरकारी संरचना सबै र कर्मचारीहरूलाई पनि धपाउछौँ, अनि हाम्रो आफ्नै समानान्तर सरकार संचालन गछौं, हामीलाई न्याय नगर्ने रुकुमकोटको सरकारको के काम’ उनले भने। आन्दोलनकारीहरूले रुकुमकोटमा आफूहरूलाई जान नपाइने भए धौलापैरामै नै आएर ज्ञापनपत्र बुझ्न आग्रह गरे पनि प्रमुख जिल्ला अधिकारी प्रशासन कार्यालयबाट बाहिर निस्कनै नचाहेको उनीहरूको आरोप छ।

जुलुसमा पुथाउत्तरगंगा गाउँपालिकाका १४ वटै वडाबाट सहभागिता रहेको थियो। त्यस्तै भूमे गाउँपालिका तीन वटाबाट पनि आंशिक उपस्थिति देखिएको थियो। तीन स्थानीय तह रहेको रुकुमपूर्वमा ३१ वडा रहेका छन्। सिस्ने गाउँपालिकाका पूरै र भूमे गाउँपालिकाका अधिकांश वडाबासी रुकुमकोट सदरमुकामको पक्षमा देखिन्छन् भने पुथाउत्तरगंगा गाउँपालिकाका पूरै र भूमेका तीन वडाका केही बासिन्दा गोलखाडाको पक्षमा देखिएका छन्।

मंगलबार नै उनीहरूले रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका सबै वडा र भूमे गाउँपालिकाका केही वडामा गत निर्वाचनमा दिएको मत फिर्ताको माग गर्दै हस्ताक्षर संकलन गरेका थिए। पुथाउत्तरगंगाका १४ वडा र भूमेका तीन वडाका बासिन्दाले गोलखाडा सदरमुकामको पक्षमा मत जाहेर गर्दा पनि संघीय तथा प्रदेश सांसदहरू केही नबोलेको भन्दै मत फिर्ताको मागसहित हस्ताक्षर अभियान समेत थालिएको हो।

नयाँ जिल्ला बनेको रुकुम पूर्वको सदरमुकम शुरुमा रुकुमकोटमा तोकेपछि पछि सरकारले कोलको गोलखाडामा तोकेको थियो। उक्त निर्णयपछि रुकुमकोट सदरमुकाम हुनुपर्ने पक्षधरताले सरकारको निर्णय खारेज बिरुद्ध सर्बोच्चमा रिट हालेका थिए। उक्त रिट पछि तत्काल सदरमुकाम रुकुमकोट नै राख्न आदेश दिए पनि अन्तिम फैसला भने अहिलेसम्म भएको छैन।

जसले गर्दा सदरमुकाम पक्षधरले पक्ष बिपक्षमा आन्दोलन गर्दै आएका छन भने समग्र जिल्लाको जनजीवन पनि प्रभाबित बन्दै आएको छ। सदरमुकाम विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। माघ २७ गते पेशी तोकेकाले दुबै पक्षले शक्ति प्रदर्शन गर्न शुरु गरेका छन्। यसअघि रुकुमकोट पक्षधरले रुकुममा बन्द हड्तालसहितको आन्दोलन घोषणा गरेपछि गोलखाडापक्षर पनि प्रदर्शनमा उत्रिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.