|

वीरगन्ज : पेट्रोलियम पदार्थ मध्येको सबैभन्दा बढी आयात हुने डिजेल जमिनमुनि पाइपबाट नेपाल ल्याउने भनी जमिनमुनि पाइप गाड्ने काम सरकारी कारण नै विलम्ब हुने भएको छ। आगामी मार्चसम्ममा पाइप गाडिसक्ने लक्ष्यसहित युद्धस्तरमा काम भइरहेको समयमा पाइप गाड्ने अमलेखगञ्जस्थित राष्ट्रिय निकुञ्जको जंगलका रुख काट्ने काममा सरकारी उल्झन हुँदा काममा भने विलम्ब हुने भएको हो।

यो विलम्बले अझै ४/५ महिना कुर्दा पनि जमिनमुनि पाइपबाट तेल आउने आशा नगरे हुने भएको छ। महत्वकांक्षी योजनामध्ये जमिनमुनिबाट तेल ल्याउन भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप गाड्ने काम भइरहेकाे छ। लक्षित समयमा काम सक्न पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने पाइप लाइनको ९ किलोमिटर जंगलका रुख काट्नुपर्ने सवालमा भने सरकारी उल्झन भएकाे छ। 

समयमा काम नहुने हो कि भन्ने चिन्ता थपिएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट(परियोजना) कार्यालय सिमराका मेकानिकल इन्जिनियर ( एक्सपर्ट) शरदप्रसाद पौडेलले भने। भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म जमिनमुनि पाइप गाड्ने काम जति ढिलो भयो उति नै समय र लागत बढेर जाने कुरा त छँदै छ। यसको अलावा तेल आयात हुने कुरामा पनि विलम्व हुन्छ नै उनले थपे। त्यसमा पनि डिजल ल्याउनुपर्नेमा नेपाल सरकारकै आपसी मन्त्रालयको ढिलासुस्तीले पाइप गाड्ने काम भने अहिले रोकिएको छ।

काम रोकिए पनि चालु आर्थिक वर्षको ६ महिनामा डिजल आयात भने गत आर्थिक वर्षको छ महिनाभन्दा २८ हजार ९२६ केएल बढी आयात भएको वीरगन्ज भंसार नाकाबाट मात्र बढेको पाइएको छ। मोतिहारी अमलेखगञ्ज पाइप लाइनको निर्माणमा पेट्रोलियम सिधा जमिन मुनिबाट नै भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जस्थित तेल भण्डारण केन्द्रसम्म पेट्रोलियम पदार्थ ल्याउन पाइप विच्छ्याउने (गाड्ने) काम नेपाल तर्फ ७२.३८ प्रतिशत सकिएको छ।

नेपाल र भारत सरकारबीच भएको कागजी सम्झौता पछि ७ वटा सर्वे पूरा भई सुरु भएको जमिनमुनि पाइप गाड्ने काम नेपालतर्फ २७.६२ प्रतिशत मात्र बाँकी रहेको छ। यो भनेको नेपालतर्फको कुल पाइप गाड्ने भू–सतह ३६.२ किलोमिटरमा १० किलोमिटर मात्र बाँकी रहेको हो। भारततर्फको ३२.७ किलोमिटरमा भने अब जम्मा साढे ३ किलो मिटर मात्र बाँकी रहेको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट (परियोजना) कार्यालयले जनाएको छ। 

नेपालतर्फ सीमावर्ती क्षेत्र वीरगन्ज भंसार हुदै अमलेखगञ्ज भण्डारण केन्द्रसम्म पुर्‍याउँदा ९ किलोमिटरमा पर्सा वन्यजन्तु आरक्ष जंगल क्षेत्र पर्ने भएकोले त्यो ठाउँमा पूरै काम गर्न बाँकी छ। त्यसको अलावा पर्साको परवानीपुर र नेपाल भारत सीमावर्ती क्षेत्र सिर्सिया नदी आसपासमा करिब एक किलोमिटर क्षेत्रमा मात्र अब पाइप गाड्ने काम बाँकी रहेको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट (परियोजना ) कार्यालय सिमराका मेकानिकल इन्जिनियर ( एक्सपर्ट) शरदप्रसाद पौडेलले बताए।

वन क्षेत्रमा वातावरण प्रभाव मूल्यांकन( इआइए) ले स्वीकृत दिएर नेपाल सरकारको क्याविनेटबाट पनि भर्खरै रुख काट्ने निर्णय गरेको भन्ने सुनेका छौं। यो क्षेत्रका रुख काट्ने काम नेपाल सरकराबाट समयमा नै भइदिए परियोजना निर्धारित समय (आगामी मार्च ) भित्र सबै काम सक्न तयार छ उनले भने। परियोजना कार्यालयलाई नेपाल सरकारको रुख काट्ने निर्णयको पत्र त आइसकेको छैन। निर्णय भइसकेको भन्ने कुरा बाहिर आएको छ।

केही दिन भित्रमा प्रकृया पूरा गरी पत्र पनि आउँछ होला एसपर्ट पौडेलको भनाइ छ। भारतबाट नेपालको अमलेखगञ्जस्थित तेल भण्डारण केन्द्रसम्म सिधा पेट्रोलियम पदार्थ ल्याउँदा विभिन्न समयमा हुने बन्द हड्ताल र बाटोको अन्य व्यवधानबाट फरक नपर्ने लक्ष्यसहित दुवै देशका सरकारबीच सम्झौता भई पाइप गाड्ने काम युद्धस्तरको उत्तराद्र्धमा चलिरहेको हो। गतवर्षको पुस २५ गतेदेखि माटोको भू­बनोट समेत परीक्षण गरी गएको बैशाख ६ गतेबाट नेपालतर्फ पाइप गाड्न थालिएको काम अब १० किलोमिटर मात्र बाँकी रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट (परियोजना) कार्यालय सिमराका मेकानिकल इन्जिनियर ( एक्सपर्ट) शरदप्रसाद पौडेलले बताए। 

काम सुरु भएको १५ महिना भित्रमा काम सम्पन्न गरिसक्नु पर्ने परियोजनालाई समयसीमा छ। गतवर्षको मंसिर मिहनाबाट लक्षित ठाउँ पहिचान गरी काम सुरु भए अनुसार जमिनमुनी पाइप गाड्ने काम पनि प्राविधिक र मेशिन समेत इण्डियाबाटै ल्याएर भइरहेको छ। यो कामका लागि भारतबाट २२ जना दक्ष प्राविधिक र नेपालबाट सहायक श्रमिकसमेत गरी कुल ३० जना प्राविधिक कर्मचारीबाट निरन्तर काम भइरहेको छ। पाइप गाड्न पाइप जोड्ने (वेल्डिङ) को काम भने गएको फागुन २३ गतेबाट नै सुरु भएको एक्सपर्ट पौडेलले भने। 

इण्डियन आयल कर्पोरेशनको पूर्ण सहयोगमा मोतिहारीबाट रक्सौल र रक्सौलबाट वीरगन्ज भंसार नाका हुँदै बाराको अमलेखगञ्ज सम्ममा नेपालको भूभागमा जम्मा ३६.२ किलोमिटर र भारत तर्फ ३२ दशमलव ७ किलोमिटर पाइप गाडी सकेपछि भने पाइप मार्फद तेल ल्याउने प्रक्रिया अगाडि बढ्ने एक्सपर्ट पौडेलको भनाइ छ। इण्डियन आयल निगमले मोतिहारीबाट भारतकै अर्को ठाउँका लागि माष्टर प्लान बनाउँदा नेपालले पनि अनुरोध गरेअनुसार नेपालतर्फ पनि पाइपमार्फत तेल दिन सहमत हुँदा यो काम भइरहेको परियोजना कार्यालय जनाएको छ।   

पहिलो फेजमा डिजेल मात्र ल्याउने तयारी गरी 5L⁄ 60– API ग्रेडको १ हजार ४०८ वटा फलामे पाइपहरु जमिनमुनी गाड्ने क्रम अहिले अन्तिम फेजमा चलिरहेको फिल्डमा खटेका संजय कुमारले बताए। ८ फिट ३ इन्च गहिराइसम्म पाइप गाडिरहेका छौं उनले भने। जमिन मुनि गाडिने पाइपको मार्गमा नदी, नाला र सडकमा समेत क्रसिङ गर्नुपर्ने ठाउँमा जमिनमुनि नै ड्रिल गरी पाइपहरू जोड्ने काम पनि लगभग अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म १७ ठाउँ जतिमा यस्तो चुनौतिपूर्ण काम पनि सकियो। 

अब ३⁄४ ठाउँ जतिमा त्यस्तो चुनौति पूर्ण काम बाँकी छ। गण्डक परवानीपुर अन्तर्गतको थोरै ठाउँमा भू-सतहमुनी पानी नसुकेकोले केही समस्या छ। तर यो पनिअब एक किलोमिटर जति मात्र बाँकी होला फिल्डमा खटेका प्राविधिकहरूले भने। पेट्रोलियम पदार्थ भण्डारण गर्न अमलेखगञ्जको भण्डार स्थलका ठूला ४ वटा ट्यांकीको पनि रेडियोग्राफ, बटम टेष्टलगायत मर्मत कार्य भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.