|

धनगढी : घोडाघोडी नगरपालिका कैलाली जिल्लाको मध्यभागमा अवस्थित छ।  पूर्वमा वर्दगोरिया गाउँपालिका, पश्चिममा गौरीगंगा नगरपालिका, उत्तरमा मोहन्याल गाउँपालिका र दक्षिणमा भजनी नगरपालिकासँग जोडिएको घोडाघोडी नगरपालिको क्षेत्रफल ३५४.४४ वर्ग किलोमिटर रहेको छ। यस नगरपालिकाको जनसंख्‍या ८७,६७९ छ। १२ वटा वडामा विभाजित यो नगरपालिकामा  साबिकको दरख,साडेपानी, रामशिखरझाला र पहलमानपुर गाविस समावेश भएका छन्। यहाँ ३ वटा क्याम्पस, ५७ वटा सामुदायिक विद्यालय र ३६ वटा संस्थागत विद्यालय सञ्चालनमा छन्। 

घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी हुन्। तत्कालीन नेकपा एमालेबाट निर्वाचित चौधरी पूर्व शिक्षकसमेत हुन्। अंग्रेजीमा बिएड र समाजशात्रमा एमए गरेका चौधरीले बिएडसम्म अध्यापन गराइरहेका थिए। दुई दशक शिक्षण पेसामा रहेका चौधरी शिक्षण पेसा परित्याग गरी उम्मेदवार बनेका थिए। उनै घोडाघोडी नगर प्रमुख ममताप्रसाद चौधरीसँग थाहाखबरकर्मी भानुभक्त आचार्यले गरेको कुराकानी :

शिक्षणबाट नगर प्रमुखको भूमिकामा होमिएको पनि २० महिना बितिसकेछ। यस अवधिमा सम्‍झनलायक के काम गर्नुभयो? कि, तलब भत्तामै गयो समय?

१९-२० महिनामा हामीले धेरै काम गर्‍यौँ। पहिलो वर्षको बजेटमा सडकहरू विस्तार गर्ने र नयाँ ट्रयाक खोल्ने कामलाई प्राथमिकता दियौँ। पूर्वाधारतर्फ सडक नै बढी बनायौँ हामीले। विगतमा सडकको अवस्था अत्यन्त नाजुक थियो। सडक बनेकै थिएनन्। अहिले हामीले १२५ किलोमिटर  सडक विस्तार गर्‍यौँ। ती सडकहरूमा ग्राभेल गरेर स्तरोन्नति गरेका छौँ। करिब ७ किलोमिटर सडक कालोपत्रे गरेका छौँ। कल्भडहरू बनायौँ। पानीको निकासको लागि करिब ४ सय ह्युमपाइप हाल्यौँ।

राजनीतिक संक्रमण समाप्त भए पनि व्यवस्थापकीय र प्रशासनिक संक्रमणले सताएको छ। कर्मचारी अभावले गर्दा हामीलाई समस्या गरेको छ। त्यसैले यो वर्षको बजेट कार्यान्वयन गर्न कठिनाइ भइरहेको छ।

पूर्वाधरसँगै शिक्षामा पनि अल्लि बढी ध्यान दिएका छौँ। एक वर्षमै आएसिटी सर्पोट गर्ने, फर्निचर उपलब्ध गराउने शौचालय निर्माण गरेका छौँ। नगरस्तरीय शैक्षिक उपलब्धिहरू मापन गर्दै विद्यालयहरूलाई मिलान गर्‍यौँ। र तह घटायौँ। शिक्षामा नियमन र निगरानी गरिरहेका छौँ।

विद्यालय मिलान र तह घटुवा गर्दा नगर प्रमुख माफियाकरण भए भन्ने आवाज पनि सुनिए नि। निजी विद्यालयलाई फाइदा पुग्नेगरी निर्णय गरेको आरोप छ नि?

मनोमानी हुँदै होइन। हामीले सबैसँग सल्लाह गरेरै निर्णय गरेका हौँ। फेरि एक वर्षको अध्यननपछि त्यो कदम चालेका थियौँ। वास्तवमा त्यो एउटा आवश्कता हो। यो कानुनी व्यवस्था पहिले पनि थियो तर लागू गरिएको थिएन। त्यसो भएर औचित्य नभएका विद्यालय गाभ्ने काम भएको हो। हेर्नुहोला, त्यसले कालान्तरमा राम्रै नतिजा दिन्छ।

निर्वाचनको पूर्वसन्ध्यामा तपाईँले बाँडेका आश्वासनहरू पूरा भएन भन्छन् नि मतदाताहरू?

क्रमशः अब पूरा हुने चरणमा छन्। हामीले जे जति आश्वासनहरू दियौँ, ती सबै पूरा हुन्छन्। जस्तै घोडाघोडी पर्यटन क्षेत्रलाई विकास गर्ने भनेका थियौँ। त्यो गुरुयोजना निर्माण गरेर अघि बढ्दै छ। शिक्षामा पनि सुधार भइरहेको छ। पूर्वाधारतर्फ पनि अगाडि बढिसकेका छौँ। भएका खानेपानीलाई विस्तार गर्‍यौँ र नभएका स्थानहरूमा त्यो पुर्‍यायौँ। वन जंगलको हकमा केही कानुनी जटिलता छन्। सबै काम एकैपटक हुने पनि होइन। राजनीतिक संक्रमण समाप्त भए पनि व्यवस्थापकीय र प्रशासनिक संक्रमणले सताएको छ। कर्मचारी अभावले गर्दा हामीलाई समस्या गरेको छ। त्यसैले यो वर्षको बजेट कार्यान्वयन गर्न कठिनाइ भइरहेको छ।

तपाईंको घोषणापत्र पनि छ मसँग। घोडाघोडीले मुहार फेर्छ भन्नुहुन्थ्यो। वनमा फलफूल खेतीको कुरा गर्नुभएको छ। नगरक्षेत्रमा रोजगारी बढाउने उल्लेख गर्नुभएको छ। तर, त्यसको सुरुवात पनि भएन नि?

सुरुवात त हामीले गरिसकेका छौँ। गत वर्ष हामीले सामुदायिक वनहरूलाई फलफूलजन्य विरुवाहरू उपलब्ध गराएका छौँ। यो वर्ष पनि हामीले सामुदायिक वनहरूलाई केही गति दिने काम गर्दै छौँ। हाम्रो क्षेत्रमा सामुदायिक वनलाई जीविकोपार्जनसँग जोड्ने उद्देश्य छ। यसलाई कसरी उत्पादनमुखी बनाउने भन्नेमा सरसल्लाह हुँदै छ। यो तुरुन्त गर्न सकिन विषय पनि होइन। यसमा कानुनी जटिलता पनि आएको छ। सबै कुरा वन कानुनले हामीलाई दिँदैन। वन कानुनले नरोक्‍ने गरी अघि बढ्दै छौँ।

कर्मचारी नहुँदा काम हुन सकिरहेका छैनौँ त्यो महत्त्वपूर्ण चुनौती हो। अरू नीतिगत चुनौतीहरू पनि छन्। जनताको ठूलो अपेक्षा पनि आफैँमा एउटा चुनौतीका रूपमा रहेको छ।

भन्नु र गर्नुमा कति फरक हुँदो रहेछ? 

छ भन्न पनि सकिन्छ, छैन भन्न पनि सकिन्छ। तल्लो तहमा सरकारको उपस्थिति नभएको २०/२२ वर्ष भएको थियो। लामो रिक्ततापछि हामी आयौँ, जसले गर्दा जनताको आकांक्षा धेरै नै छन्। ती आकांक्षा एकैचोटि पूरा हुन सक्दैनन्। जनतालाई यसैवर्ष सबै कुरा भइहाल्छ भन्ने परेको छ। त्यस्तो होइन। क्रमशः हामी त्यो पूरा गर्नतिर गइरहेका छौँ। 

कर्मचारी नहुँदा काम हुन सकिरहेका छैन त्यो महत्त्वपूर्ण चुनौती हो। अर्को नीतिगत चुनौतीहरू पनि छन्। जनताको ठूलो अपेक्षा पनि आफैँमा एउटा चुनौतीका रूपमा रहेको छ। तर, हामी जनतालाई निराश हुन दिँदैनौँ।

घोडाघोडी नगरपालिकाभित्र प्रचुर सम्भावनाका क्षेत्रहरू छन्। घोडाघोडी ताल सबैभन्दा ठूलो सम्भावना हो। यसको विकास र प्रचार प्रसारका विषयमा केही सोच्नुभएको छ?

घोडाघोडी तालको व्यवस्थापनको लागि हामीले बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्ड गठन गरेका छौँ। सबै तह र तप्कासँग सरसल्लाह गरेर तत्काल गर्नुपर्ने कामहरू अगाडि बढाउँछौँ। तर, दीर्घकालीन कामहरूका लागि गुरुयोजना बनाएर त्यसैबमोजिम अघि बढ्ने योजना छ। करिब २०/३० वर्षको लागि हुने गुरुयोजना तयार गर्दै छौँ।

तपाईं आउँदा नगरपालिकाको अवस्था कस्तो थियो। र अब कार्यकाल सकेर बिदाइ हुँदा कस्तो बनाएर छोड्छु भन्ने लागेको छ?

घोडाघोडीलाई हामी शैक्षिक हबका रूपमा स्थापित गर्छौँ। शैक्षिकस्थलको रूपमा राख्छौँ। अहिले पनि जिल्लामा तेस्रो स्थानमा छ हाम्रो नगरपालिका। यसलाई अझै परिष्कृत गर्नेछौँ। अर्को कुरा सबै वडामा सेवा पहुँच भएको वडाको आफ्नै भवन, नगरपालिकाको पनि आफ्नै भवन हुनेछ। आइटीमैत्री नगरपालिका बनाएर छोड्छौँ। पर्यटनको ठूलो सम्भावना रहेको घोडाघोडी ताल क्षेत्रलाई पनि विकास गरेर छोड्छौँ।

एक वर्षमा तपाईं र घोडाघोडी नगरपालिका दुवै चर्चामा रह्यो। बोक्सीको आरोपका कुटपिट गर्नेहरूलाई छुटाउन प्रहरी कार्यालय पुगेको आरोप पनि लाग्यो। किन विवादित बन्नुभयो?

वास्तविकभन्दा अन्य ढंगले चर्चा भयो। यसमा मिडियाका साथीहरूले संवेदनशीलता अपनाउनुपर्छ भन्ने मेरो आग्रह छ। पछि मिडियाकै साथीहरूले बुझ्नुभयो। जे अवस्था त्यहाँ थियो, जसरी मिडियामा आयो त्यस्तो त त्यहाँ थिएन नि। 

जस्तो बोक्सी काण्ड भयो। मेयर त्यहाँ थियो मूकदर्शक भयो, रमिते भयो जस्ता टिप्पणी मिडियामा आए। तर, वास्तविकता त्यो होइन। सो प्रकरणमा अझै पनि मेरो आपत्ति छ। जे जस्तो मिडियामा आयो त्यस्तो अवस्था थिएन। 

तपाईंमाथि गोली प्रहार भयो। खुकुरी हानियो। आक्रमणको एक वर्षसम्म पनि त्यसमा संलग्नहरू पक्राउ परेका छैनन्। किन पक्राउ परेनन् त आक्रमणकारी?

हो। एक वर्ष भयो अझै पक्राउ परेका छैनन्। कारबाही मैले मात्रै गर्ने होइन। अनुसन्धानको जिम्मेवारी पाएको प्रहरी प्रशासन र राष्ट्रिय अनुसन्धानले चासो दिनुपर्छ। विना कारण जबरजस्ती ढंगले ममाथि सांघातिक आक्रमण भयो। ज्यानै लिने गरी भएको आक्रमणले मलाई निराश बनाएको छ। म धन्न बाँचे भन्नुहोस्। जनताको काम गर्न भनेर जनताले निर्वाचित गराएपछि फेरि पनि आत्मबल जुटाएर काममा लागिरहेको छु। मैले त्यति राम्रो काम गर्दागर्दै विनाकारण आक्रमण भएजस्तो मलाई लाग्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.