'प्रश्‍न राख्नासाथ भित्तैमा पुर्‍याउने चलन विगतमा पनि थियो अहिले पनि छ'

|

दमक(झापा) : दुर्गम पूर्वी उच्च पहाडी जिल्ला ताप्लेजुङकाे फुङ्लिनमा जन्मिएका कालीदास श्रेष्ठलाई बाल्यकालमा थाहै थिएन, कम्युनिस्ट भनेको के हो भन्ने।

२००८ सालको कात्तिकमा जन्मिएका उनी लालबहादुर र इन्द्रकुमारी श्रेष्ठका २ छोरा र ३ छोरी मध्येका एक हुन्। तर, उनले मातृवात्सल्य खासै अनुभूत गर्न पाएनन्। उनी ४ वर्षको छँदै आमाको निधन भयो। आमाको निधनले उनको परिवारमा पीडा मात्र थपेन, जीवनमा एउटा दुःखदायी मोड पनि ल्याइदियो। त्यही मोडमा मोडिँदै मोडिँदै वामपन्थी रुझानमा परेका उनी भएको जागिर छोडेर 'होलटाइमर' कार्यकर्ता बने।

झापामा वाम जग बसाल्ने एउटा ज्यामी बने। मेची अञ्चलमा संगठन विस्तारमा एउटा सिपाही बने। उनमा सानैदेखि जागेको विद्रोही चेतले पार्टीभित्र पनि बारम्बार विद्रोहीको कित्तामा परे। फरक कित्तामा मात्र परेनन्, अहिले उनी मूल राजनीतिको लहरबाट किनारामा पुगेरका छन् र गृहस्थी जीवन जिइरहेका छन्। 

ऋणले हिँडायो बसाइँ

ताप्लेजुङमै छँदाको कुरा हो। २०१२ सालमा अर्का भाइ जन्मिए। आमाको त प्रसूति व्यथाकै बेला निधन भयो। बाँचेका भाइलाई हुर्काउन उनीभन्दा पनि उनका बाबुमा अभिभारा आइपर्‍यो। ‘सानो बालखले आमाको दूध खान नपाएपछि बुबाले उसैलाई खुवाउन एउटा गाई किन्ने विचार गर्नुभएछ। तर, पैसा थिएन’ आँशुको मूल आँखाका डिलमा अड्याएर उनले भने,‘बुबाले ऋण गरेरै ३५ रुपैयाँमा एउटा गुराँसी नाम गरेको गाई किन्नुभएछ। तर, ब्याज यस्तो चर्को थियो सयकडा एकमुरी धान दिनुपर्ने थियो। आखिर भाइ पनि केही महिनामा बित्यो। त्यही ऋणले बसाइँ हिँडायो।’

पुर्ख्याैली थातथलो छोड्नु पर्दाको कुरा सुनाउँदा सुनाउँदै गलाअवरुद्ध पारेका उनका अनुसार ब्‍याज तिर्दा तिर्दै धानै सकिने अवस्था भयो, खान लगाउन नपुग्ने भएपछि उनको परिवार झापा बसाइँ सर्नुपर्‍यो। साहको ऋणले किचिएको थाप्लोमा झिटी गुण्टाको भारी लिएर उनको परिवार २०२० सालको माघमा झापाको गौरादहस्थित महारानीझोडा आइपुग्यो। आफ्नै बाबुसँग झोडा फाँडेर बसालेको घर संसारमा उनको तीन पुस्ता रमाएको छ। तर ५ वर्ष अघि उनको बाबुको भने निधन भयो। 

विद्रोही नायक हुने रहर

पहाडमै धुलौटे पाटीबाट अक्षराम्भ गरेका उनले गौरादहमा आएर पनि अध्ययनलाई निरन्तरता दिए। अध्ययनमा निकै लगाव राख्ने उनी अरूभन्दा तिख्खर पनि थिए। त्यसैले सबैजसो कक्षामा उनले कक्षा नेताको भूमिका पाए। एकातर्फ सानैदेखि नेतृत्व गर्न सक्ने क्षमता अर्कातर्फ बाल्यकालदेखि नै हुर्किएको विद्रोही स्वाभाव। त्यसैले उनी थाहै नपाई वामपन्थी शिक्षकका पनि प्यारा भए।

‘अरूले खुल्ला राजनीति गर्न सक्ने अवस्था थिएन। गाउँमा गाउँमा कार्यकर्ता उत्पादन गर्ने भनेकै शिक्षकले थिए’ आफ्नै गुरुमार्फत चिनियाँ कथा पढ्न प्रेरणा पाएका उनले वामदर्शन अध्ययनको प्रारम्भिक दिन सुनाए, ‘सिधै मार्क्सवादका ठेलीभन्दा पनि कथामार्फत कम्युनिस्ट राजनीति बुझाउन त्यस्ता कथाका पुस्तकहरू दिइन्थ्यो। पढ्दा पढ्दै कथाका सामन्ती पात्रसँग विद्रोही भाव पैदा हुन्थ्यो र सर्वहारा प्यारा हुन्थे अनि समाजमा आफूलाई पनि त्यहि कथाको विद्रोही नायक जस्तै हुने रहर जाग्थ्यो।’

जागिर छोडेर पार्टीको शपथ

२०२९ सालमा उनले एसएलसी दिने बेला सम्ममा झापामा कम्युनिस्ट विद्रोहको राप रन्किन थालिसकेको थियो। उनलाई पनि त्यो रापले नछोएको होइन। बुर्जुवा शिक्षा बहिष्कारकारको पक्षधरता लिएर धेरैले पढाइ पनि छोडे। ‘मलाई पनि साथीहरूले पढाइ-सढाइ छोडेर विद्रोहमा होलटाइमर हुन भनेका हुन्। तर, मेरो तर्क थियो की जुनसुकै व्यवस्था आए पनि ज्ञान र विज्ञान बदलिँदैन। पढेको कुरा नास हुँदैन भन्ने’ आफ्नो अध्ययनप्रतिको मोह सुनाउँदै उनले थपे,‘आखिर अध्ययन गरेको ज्ञान पनि विद्रोह र आन्दोलनमा उपयोग गर्न सकिन्छ नि भनेर मैले पढाइ छोडिनँ र धरानस्थित खाद्य प्रविधि क्याम्पस अध्ययन गर्न लागियो।’

अध्ययनसँगै राजनीतिक सरसंगत त टुुटेन तर आइटेक सकेपछि थप अध्ययनको व्यवस्था त्यहाँ थिएन। बाहिर गएर पढ्ने अवस्था पनि थिएन। त्यसैले उनी जागिरका लागि काठमाडौं हानिए। काठमाडौंमा रोयल डग ल्याबमा खाद्य प्राविधिकको जागिर भेटे। त्यसबेला महिनाको ४६८ रुपैयाँ तलब थियो तर आधा पैसा पार्टीलाई लेभीबापत बुझाउनुपर्थ्यो। त्यही दौरानमा उनको संगत श्याम नाम गरेका एकजना कमरेडसँग भयो। उनको आउजाउ भइरहन्थ्यो। उनले बारम्बार जागिर छोडेर झापातर्फ लागि संगठन विस्तारमा लाग्न प्रेरित गरिरहन्थे।

‘श्यामजीले पनि जिल्लातिरै गएर संगठन बनाउन भनिरहनुहुन्थ्यो। मलाई पनि त्यो कुरो सही नै लाग्यो’ सरकारी जागिर छोड्नुपर्दाका दिन सुनाए उनले,‘जागिर छोड्ने निधो गरेपछि २०३४ सालको साउनमा तिनै श्यामजीले मलाई, अशोक राई र युवराज कार्कीलाई पार्टी सदस्यता दिलाउनुभयो। पछि पो थाहा भयो ती श्याम भन्ने मान्छे त अमृतकुमार बोहोरा पो रहेछन्।’

माफी पाए पनि भूमिगत

जागिर छोडेर आए पनि उनको कामनै झापामा संगठन निर्माण गर्नुथियो। ‘त्यसबेला पार्टीको नेता को हो पनि चिनिँदैन्थ्यो। अमृतजीले जानुस् सवैलाई कम्युनिस्ट बनाउँनुस् भन्नुभयो’ झापाका संगठन विस्तारका प्रारम्भिक दिन उनले सुनाए, ‘त्यस बेलासम्म कम्युनिस्ट राजनीति बिभिन्न मोर्चा र शिरामा विभक्त थियो।साँच्चै भन्ने हो भने म कुन समूहमा थिएँ भन्ने पनि थाह भएन। गाउँ-गाउँमा ३/३ जना भए पनि भेला पारेर कम्युनिस्ट पार्टी बुझाउन थालियो।’

विभिन्न वाम घटकको एकतापछि २०३५ सालमा नेकपा माले स्थापना भयो। त्यसपछि भने संगठन निर्माणले गति लिएको उनको अनुभव छ। त्यही वर्षको फागुन १ गते देशैभरी एकसाथ पम्प्लेटिङ गर्ने पार्टी नीति थियो। उनी खटिएका थिए झापाको दमकमा। जुन सहर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर पनि हो। त्यस रात ठीक ८ बजे दमकका चार दिशाबाट पम्प्लेटिङ सुरु भयो। ‘पुलिसले सुइँको पायो भने सबैलाई खोरमा हाल्थ्यो। धन्न ५ मिनेटमा काम सकियो’ लडाइँ जितेको सिपाहीझैं गरेर सुनाए उनले।

संगठन निर्माणमा सूचना आदन प्रदान जरुरी थियो। तर, माध्यमहरू केही थिएनन्। सबै सूचना चिठीबाटै आदन प्रदान हुन्थ्यो। सबैले ती पत्रलाई अतिगोप्य राख्ने शपथ नै खाएका हुन्थे। तर, २०३५ सालको फागुनको एक दिन झापाकै केर्खामा रहेका एक साथिमार्फत सबै चिठी प्रहरीको हातमा पुग्यो। संगठन निर्माणमा संलग्न, रणनीति, योजना सबै प्रहरीले थाहा पायो। त्यसबेला किशोरावस्थाका नवजवानलाई समेट्न बालरेड गार्ड स्क्वार्ड गठन गर्ने चलन थियो। उनलाई पनि पुलिसले छोड्ने कुरा भएन। तर, यो कुरा पुलिस पुग्नुभन्दा अघि नै तिनै बाल रेडगार्डमार्फत सर्कुलर हुँदै उनको कानमा पुग्यो।

‘पुलिस आउँदै छ भनेर वाल रेडगार्डमार्फत थाहा पाएपछि सबै दस्ताबेज लुकाइयो’ त्यसदिन पुलिसलाई झुक्याउन सफल भएको कथा सुनाउँदा उनको बुढ्यौलीमा पनि खुबै जोश देखिन्थ्यो। उनले थपे, ‘३५ जना पुलिसको टोली घरमा आयो, म चाहिँ नजिकैका किसान जगत माझीको घरमा गएर लुकें, श्रीमतीलाई पनि महिनौ भयो हराएको घरमा आएको छैनन् भन्नु है भनेको थिएँ, त्यसै भनिछन्। मैले चाहिँ आफू लुकेको घरको झ्यालबाट सबै गतिविधि हेरिरहेँ। जब पुलिस लाखापाख लागे अनि बल्ल निस्किएँ र त्यसै दिनदेखि पूर्णकालीन भूमिगत भइयो।’

राजनीतिक रूपमा विभिन्न मुद्दा लागेकालाई पञ्चायती सरकारले २०३६ सालमा आममाफी पनि दियो। मुद्दा लागेका धेरै सार्वजनिक भए। तर, उनलाई पार्टी सार्वजनिक नहुन निर्देशन दिइयाे। भूमिगत नै रहे, जव पञ्चायती पर्दा हट्यो। २०४६ सालको आन्दोलनसँगै अनि मात्र उनलाई पार्टीले दिएको भूमिगत रहने निर्देशनको म्याद पूरा भयो।

हतियार उठाउने हतारले प्रजातन्त्रलाई ढिलाइ

नेपाली कम्युनिस्ट आन्दोलनले किशोरावस्था पार गर्दै गर्दा झापाका क्रान्तिकारी कम्युनिस्टले भने वयष्‍कताका उदाहरण दिँदै वर्गशत्रु खत्तम अभियान चलाए। २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी २०२५ सालतिर आइपुग्दा भने वलिष्ठ र रापिलो भइसकेको थियो। यसैलाई पुष्टि गर्दै तत्कालीन मेची-कोसी कोअर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको कोअर्डिनेसन कमिटी, झापाले तत्कालीन समाजमा भूमिपति ठहरिएका र गरिवमाथि अन्याय गर्नेलाई वर्गशत्रुको विशेषण दिए र उनीहरूको सफाय अभियान चलाए। यही अभियान वा आन्दोलनले नै नेपाली राजनीतिमा झापा विद्रोहको इतिहास बनाएको छ। तर, उनको नगरमा त्यो वर्गखत्तमका नाममा हतियार उठाउन भएको हतारो गलत भएको तर्क गर्छन्।

‘म पनि २०२६ साल देखि वामपन्थी विचारमा जोडिएको हुँ। नेताहरूको भाषण र योजना सुनिन्थ्यो। एक दिन सिपी कामरेडले गौरादहको ठुटामा उभिएर गरेको चर्को भाषण पनि सुनियो। विद्रोह त्यस ढंगबाट अघि बढ्छ भन्ने लागेको थिएन’ झापा विद्रोहमा हतियार उठाउनु गलत भएको तर्क राख्दै उनले भने, ‘कम्युनिस्टको त्यो अभ्यासपछि पञ्चायती बर्बरताले जनतालाई थप थिलथिलो बनायो,६६८ परिवारमा असर देखियो। आन्दोलन छिन्नभिन्न भयो। कैयौँ आन्दोलनकारी पक्राउ परे, केही कमरेडहरू शहीद हुनुभयो। आन्दोलन झनै निस्तेज भयो।’

तत्कालीन सरकारसँग जुध्ने क्षमताको विकास नगरी सशक्त आन्दोलन थाल्दा आन्दोलन झनै कमजोर भएको तर्क गर्ने उनी त्यसबेला शान्तिपूर्ण आन्दोलन गरेको भए २०३६ सालमा बहुदलीय प्रजातन्त्र आइसक्ने दाबी पनि गर्छन्। झापा विद्रोहकै क्रममा तत्कालीन आन्दोलनका अगुवाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ पनि पक्राउ परेका थिए। उनीहरूलाई झापा कारागारमा राखिएको थियो। उनीहरूले प्रशासनसमक्ष आत्मसमर्पण गर्ने छाँट नदेखाएपछि २०२९ साल फागुन २१ गते इलाम कारागार सरुवा गर्ने बाहाना बनाइयो। झापाको शनिश्चरे हुँदै इलाम पुर्‍याउने भनी उनीलाई झापा र इलामको सीमा क्षेत्र सुखानीमा पुर्‍याएर गोली हानी हत्या गरिएको थियो। 

भूमिगत कालमा नेता, बहुदलमा नेपथ्य

भूमिगत कालमा संगठन विस्तारदेखि नेतृत्व सम्ममा अगुवाई गरेका उनी बहुदलीय व्यवस्था पछिको खुल्ला राजनीतिमा भने नेपथ्यमा धकेलिएका छन्। जागिर छोडेर झापा आई संगठन निर्माणमा जुटेका उनीसहित ६ जनाको टिम नै जिल्ला कमिटी बन्यो। उनी त्यसको नेतृत्वसहित सचिव बने। एक वर्षपछि अधिवेशन भयो, फेरि सचिव बने। २०३८ सालमा अञ्चल अधिवेशन हुँदा अञ्चल कमिटी सदस्य बने। त्यही बीचमा पार्टीभित्र दुईलाइन संघर्ष चलेको उनी सुनाउँछन्।

सिपी मैनाली पार्टी स्वतन्त्र हुनु पर्छ भन्ने पक्षमा र अरू राजनीतिक स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा रहँदा दुईलाइन संघर्ष विकसित भएको सुनाउँछन्। कम्युनिस्ट पार्टीभित्र दुई लाइन संघर्ष स्वाभाविक भए पनि त्यही व्यवस्थापन हुन नसक्दा गुटको रूपमा विकास हुने गरेको उनको अनुभूति छ। २०३८ सालमा अञ्चल अधिवेशन हुँदा प्रदीप नेपाल सचिव भएको र कुलप्रसाद उप्रेती ताप्लेजुङबाट, देवराज घिमिरे पाँचथरबाट, अगम बान्तवा इलामबाट र आफू झापाबाट सदस्य रहेको कमिटी गठन गरेको उनले सुनाए। ‘तर २०४१ सालदेखि पाँचथर मैले नै हेर्नु पर्नेभयो। म त्यता लागेँ।’

झापाबाट पाँचथर पुगेपछिका अनुभवका पोका खोल्दै गए उनीले, ‘मेरै नेतृत्वमा पाँचथरमा दुईवटा अधिवेशन भयो। मैले नै नेतृत्व गरेँ। तर जब २०४९ सालमा पार्टीको पाँचौँ महाधिवेशन भयो त्यसपछि भने हामीमाथि विभेदको श्रृंखला शुरु भयो। हुँदाहुँदै भित्तैमा पुर्‍याइयो।’ पाँचौँ महाधिवेशनमा ‘जवज’को विपक्षमा उभिएका कारण विभेद भोग्नुपरेको तीक्तता उनी पोख्छन्।

पाँचौँ महाधिवेशनपछि उनले आफ्नै गृहजिल्ला झापामा गएर राजनीति गर्ने अनुमति पार्टीमा मागे। ‘जिल्ला सचिव भएको मान्छे एक तह घटुवा भएर मात्र जान पाउँछस् भनियो। मैले हुन्छ भनेर झापा लागेँ। तर, झापामा पनि दोस्राे अधिवेशन गराएर पाँचथर गएर आउँदासम्म अर्को अधिवेशन भएको रहेनछ। त्यसपछि अधिवेशन आयोजक समितिमा रहेर अधिवेशन गराइयो।

महाधिवेशनदेखि शुरु भएको विभेदको श्रृंखला त्यहाँ पनि देखियो कि साथीहरूले जिल्ला कमिटीमा सदस्यसमेत राख्न आवश्यक ठान्नुभएन। महाधिवेशनमा जबजको विपक्षमा उभिँदाको बदला लिएजस्तो लाग्यो। त्यसपछि भूमिकाविहीन भइयो, सामान्य मतदाता र शुभेच्छुकमा सीमित पारिएपछि के गर्नु र गाउँ घरमै बसियो’ भूमिगत कालको नेता खुल्ला राजनीतिमा नेपथ्यमा पुग्नुको बेलिविस्तार सुनाएपछि लामो खुइ काडे उनले।

कम्युनिस्ट भएर कुनै पछुतो छैन

आफूहरूले भूमिगतकालमा ज्यान दाउमा राखेर पार्टी बनाए पनि खुल्ला राजनीतिपछि धेरै अवसरवादीहरूको फाइदा लिने थलो भएको उनको टिप्पणी छ। शक्तिका पछि लाग्नेहरूको बोलवाला पार्टीमा बढेको र उनीहरूले नेतृत्वलाई पनि घेराबन्दीमा पार्दै लगेको बताउने उनी कुनै अवसर नपाए पनि कम्युनिस्ट भएको प्रति भने गर्व गर्छन्।

‘कस्ता कस्ता संघर्ष गरेर कम्युनिस्ट पार्टीलाई यो स्थान सम्म ल्याइयो तर बीचमा भूमिकाविहीन बनाउँदा पनि कतै लाग्ने सोचाइ आएन, बरु एमालेबाट माले गठन भएपछि त्यता लागियो। कम्युनिस्ट नै भइयो। तर, २०७० देखि त फेरि एमालेमै छु।’ तत्कालीन नेतृत्वले पार्टीभित्र कुनै भूमिका नदिएकाले पहिलो संविधानसभाको निर्वाचनमा मालेबाट उम्मेद्वारसमेत भएको बताउने उनी हाल पारिवारिक खुसी र खेतीपातीमै रमाएका छन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बने पनि नेतृत्वको कार्यशैलीप्रति भने उनको चित्तबुझाइ छैन। ‘पार्टी एकता भयो। खुसीको कुरा हो। तर,आकार ठूलो भएर मात्रै हुँदैन। कार्यशैली पनि कम्युनिस्ट जस्तै हुनुपर्‍यो नि’ नेतृत्वको कार्यशैली पनि असन्तुष्ट देखिएका उनले भने,‘नेतृत्व कहिल्यै पनि कार्यकर्ताको प्रश्नबाट तर्किनुहुँदैन। कार्यकर्तालाई प्रश्न गर्न प्रोत्साहित गर्ने पार्टी मात्र मार्क्सवादी रहन्छ। कम्युनुनिस्‍ट रहन्छ। तर, अहिले कुनै प्रश्न राख्नासाथ भित्तैमा पुर्‍याउने चलन देखिएको छ। यो विगतमा पनि थियो। यसलाई सच्याउनुपर्छ।’

नेतृत्वले पनि सवै कुरा थाह नपाउने हुँदा कार्यकर्ताबाटै जनस्तरसम्म पार्टीको प्रभावबारे जानकारी पाउने हुन्। त्यसैले अहिलेको नेतृत्वलाई ‘चुकिल्याङ’ नबन्न उनको सुझाव छ। ‘चुकिल्याङ’ भनेको के हो त? उनैले अर्थ्याए,‘चुकिल्याङ भएको चिनियाँ लोककथाको एउटा पात्र हो। उसलाई संसारभरीका सबै कुरा थाहा छ भन्ने भ्रम थियो। हरेक कुराको निर्णय लिन सक्ने क्षमता छ भन्ने थियो। दूरदर्शी हुँ भन्ने थियो।

तर, तीनजना गलत नियत राखेका उसका विश्वासपात्रहरूले आपसमा सल्लाह गरेछन्। कि अब कुनै विषयमा चुकिल्याङले प्रश्न गरेछन् भने हामी सबैले एकै प्रकारको उत्तर दिऊँ तर त्यो सत्यभन्दा ठीक विपरीत होस्। अनि चुकिल्याङले ती गलत नियत राखेका तीन विश्वास पात्रलाई अलग-अलग गरेर जे जे प्रश्न गर्थे उल्टो-उल्टो बताउँथे। तर, तीनैजनाको उत्तर एकै हुन्थ्यो। यसरी सबैको उत्तर सत्यताविपरीत तर एउटै आउन थालेपछि चुकिल्याङलाई पनि साँच्चै यी तीनजनाले भनेको कुरा नै सही हो त नत्र कसरी सबैको उत्तर एकै हुन्थ्यो भन्ने लागेछ। अनि ऊ आँफैमा ज्ञानी हुँदा हुँदै मुर्खको उत्तरले सत्यभन्दा ठीक विपरीत अवस्थामा पुगेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.