थाहा संवाद : स्थानीय सरकार

'जडीबुटीबाट नै समृद्ध गाउँपालिका बनाउँछौं'
SHARES

फागुन ६, २०७५

    मुगु : कर्णाली प्रदेशको दश जिल्लामध्येको एक जिल्ला हो मुगु। मुगु जिल्लामा एक नगरपालिकासहित चार स्थानीय तह छन्। त्यसमध्येको एक हो  मुगुम कार्मरोंग गाउँपालिका। जसमा चारधाममध्ये एक छायाँनाथ धाम पर्दछ। यहाँ कोइकी, कान्जीरोवा हिमाल, तालतैलया, बौद्ध गुम्बालगायत पर्यटकीय सम्भावना रहेका क्षेत्र छन्।

    मुगुमा मुख्यतया: क्षत्री, ब्राह्मण, ठकुरी, लामा, कामी जातिको बाहुल्यता रहे पनि मुगुम कार्मरोंग गाउँपालिकामा लामा, कामी, क्षत्रीको बसोबास रहेको छ। २०६८ को जनगणनाअनुसार मुगुम कार्मरोंग गाउँपालिकाको जनसङ्ख्या ५ हजार ३९६ रहेको छ। यसको क्षेत्रफल २ हजार १०६ दशमलव ९१ वर्ग किलोमिटर छ। यो गाउँपालिका अन्य ४ वटा स्थानीय तहहरूमध्ये भौगोलिक हिसाबले ठुलो छ। यहाँ जडीबुटी व्यापार, पर्यटन, कृषि र पशुपालनको उच्च सम्भावना छ। यस क्षेत्रका समुदायले नेपाली र तिब्बेटियन भाषा प्रयोग गर्दछन्।

    भौगोलिक विकटता र भिरालो जमिनले भएकाले यहाँ बसोबास गर्नेको जीविकोपार्जनको मुख्य स्रोत जडीबुटी, व्यापार तथा पशुपालन हो। उनीहरूले जडीबुटी सङ्कलनलगायत व्यापार व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका छन्।  स्थानीय सरकार गाउँगाउँमा आएको पनि डेढ वर्ष भइसकेको छ। कस्तो रह्यो डेढ वर्ष? यो अवधिमा निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धता कति पूरा भएका छन् त? भन्ने विषयमा मुगुम कार्मरोंग गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामासँग थाहाखबरकर्मी नन्दबहादुर रोकायाले गरेको कुराकानी:

    डेढ वर्षभन्दा बढी भयो सिंहदरबार गाउँगाउँमा आएको, स्थानीयले कस्तो अनुभूति गरेका छन्?

    सिंहदरबार गाउँमा आएको त जनतालाई राम्रै भएको छ। तर जनताले यसलाई कसरी बुझेका छन्। त्यसमा भर पर्ने हो। जे होस् जनतााई सोध्ने हो भने स्थानीय सरकार भएसँगै अहिले विकास भएको छ। जनताले पनि राम्रै अनुभूति गरेका छन्।

    यहाँको डेढ वर्ष कसरी बित्यो त?  

    डेढ वर्ष त जनताको सेवा गर्दै, विकास निर्माणका काम गर्दै बित्यो। तर कहिलेकाहीँ  प्रदेश सरकाले गोष्ठीमा बोलाउने भएकाले तलमाथि आउने बढी भएको छ। त्यसैमा पनि दुई भागको एक भाग कर्णाली प्रदेशले बोलाउने, केन्द्र सरकारले बोलाउने भएकाले त्यसमा पनि समय खर्च भएको छ।

    स्थानीय सरकार गठनपछि स्थानीयलाई के कस्तो सजिलो भयो?

    धेरै भयो नि! पहिला सचिवको भरमा हुन्थ्यो। सचिवले मनोमानी रूपमा काम गरेका थिए। सचिव पनि स्थानीय हुँदैनथेँ। बाहिर जिल्लाका हुन्थेँ। भनेको बेला सचिव नभेटिने समस्या थियो। हरेक सेवा सुविधा सचिवको हातमा हुन्थ्यो। सचिवले मनोमानी रूपमा विकास निमार्णका काम गरेका थिए। तर अहिले स्थानीय सरकार भएपछि स्थानीय जनप्रतिनिधि छन्। कहाँ विकास गर्नुपर्छ, के गर्नुपर्छ भन्ने कुरा जनतालाई सोध्छन्। योजना छनोटमा पनि स्थानीयको सहभागिता हुन्छ।

    पहिला सचिवले कसरी योजना छनोट गर्थे। जनतालाई थाहा हुन्थेन। थाहा हुन्थ्याे त दुई चार जना टाठाबाठालाई। त्यसैले स्थानीय सरकार बनेदेखि हरेक विषयमा स्थानीयलाई सहज भएको छ।

    कर्मचारी गाउँमा बस्दैनन् भन्ने गुनासो अझै छ नि?

    हुम्लाको नाम्खा गाउँपालिका पछि क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो गाउँपालिका हाम्रो हो। जम्मा बजेट ६ करोड रुपैयाँ मात्र छ। अपेक्षित विकास गर्न सम्भव देखिँदैन। तिब्बत जोड्ने नाग्चा लाग्न सडकमा नेपाल सरकारले प्राथमिकता दिएन। हामीले त्यो सडकको लागि ६६ लाख रकम छुटाएका छौँ।

    हो, यस्तो समस्या पनि छ। यसका केही कारण छन्। पहिलो हो गाउँमा बैङ्क छैन। अर्को कारण नागरिकता बनाउने काम गाउँमा नभई जिल्लामा हुनुले पनि कर्मचारी गाउँमा नबसेका हुन्। योजनाको सम्झौता गर्दा, खाता सञ्चालन गर्दा रकम निकास गर्नुपर्दा अथवा बैङ्कको कारोबार गर्न सदरमुकाममै जानु पर्छ। नागरिकता बनाउन सदरमुकाममै जानुपर्छ। त्यसैले सेवाग्राहीको काम सबै जिल्लाबाट हुने भएकाले कर्मचारी पनि गाउँमा बस्दैनन्। अनि कर्मचारी पनि पर्याप्त छैनन्। मुगुम कार्मरोंग गाउँपालिकाको ९ वडामध्ये तीनवटामा मात्र सचिव छन्। इन्जिनियर छैनन्। स्वास्थ्यकर्मी दरबन्दी अनुसार छैनन्। 

    योजना छनोटमा र बजेट वितरणमा स्थानीयको सहभागिता कस्तो छ। के चाहन्छन् स्थानीय?

    सहभागिता नहुने त कुरै छैन। किनभने  स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले योजना छनोट तथा वितरण गर्दा स्थानीयको आम भेलाबाट गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैले गाउँस्तरमा योजना छनोट गर्नु पूर्व गाउँमा के समस्या छ? त्यो त जनताबाट आउनु पर्‍यो नि! त्यसैले योजना छनोट तथा वितरण स्थानीयको भेलाबाट हुने गरेको छ। छनोट भएर आएका योजनालाई विशेष प्राथमिकताका साथ हामीले स्थान दिएका छौँ। तर सीमित स्रोत र बजेटले स्थानीयले अझै भने जस्तो योजना पाउन सकिरहेको अवस्था भने छैन।

    जस्तो कुनै गाउँमा बाक्लो बस्ती छ। खानेपानी छैन। त्यहाँ खानेपानी ल्याउन करोडौँ रुपैयाँ लगानी आवश्यक छ। त्यसका लागि स्थानीय सरकारको बजेट मात्र पर्याप्त हुँदैन। प्रदेश र केन्द्र सरकारलाई गुहार्नु पर्छ। त्यसैले सीमित बजेट भएकाले अझै जनताको चाहे अनुसारको विकास भएको छैन।

    तपाईँले चुनावका बेला गरेका प्रतिबद्धताअनुसार काम गर्नुभएको छ?

    चुनावमा भौगोलिक हिसाबले ठगिएको यस मुगुम कार्मरोंग गाउँपालिकामा सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, पर्यटन र सञ्चारको व्यवस्था गर्छु भन्ने प्रतिबद्धता गरेको थिएँ। अहिले तिनै प्रतिबद्धता कार्यान्वयन गर्दै छु। सबै पूरा भएका छैनन् तर सुरुवात भने गर्दैछु। शिक्षाको अवस्था केही सुधारिएको छ। चुनाव जितेको ३ महिनाभित्रै सबै विद्यालयका प्रधानअध्यापक र व्यवस्थापन समितिका अध्यक्षको भेला गराई २१बुँदे प्रतिबद्धता गराएका छौँ।

    सरकारको दरबन्दीबाहेक गाउँपालिकाले ३० लाख छुट्याएर भाषा शिक्षक राखेका छौँ। काम सकिएको छैन। गर्न अझै बाँकी नै। स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नबस्ने अवस्था थियो। औषधि नपाउने अवस्था थियो। सिटामोल पाउनलाई सदरमुकाम गमगढी धाउनु पर्थ्यो। अहिले त्यो अन्त्य भएको छ। भर्खरै ५ लाखको औषधि खरिद गरेका छौँ। पहिले ५ नम्बर वडामा मात्रै सञ्चार सुविधा भएकोमा अब ९ वटै वडामा सञ्चार सम्पर्कको व्यवस्था भएको छ।

    गाउँगाउँमा सडक खन्ने काम भइरहेको छ। भौगोलिक विकटताले सडक विस्तारमा समय लाग्ने छ। तर यो काम मेरो कार्यकालभित्रै सम्भव हुन्छ। विद्युततर्फ चाम्नी गाडमा बत्ती बलिसक्यो। मह र रिउसमा एक सय  किलोवाट क्षमताको जलविद्युत आयोजनाको सुरुवाती भएको छ। अब करान भेगमा २ वर्षभित्र सबै वडामा बत्ती बल्छ।

    पर्यटनको सम्भावना भएको यस गाउँपालिकामा धेरै तालतलैया, कोइकी हिमाल, छायाँनाथ धामलगायत धेरै क्षेत्र छन्। तर ती गुमनाम जस्तै छन्। तिनीहरूको प्रचार प्रसार गरी पर्यटक भित्र्याउने काम भइरहेको छ।

    आजसम्म कति वटा कानुन निर्माण गर्नुभयो। कार्यान्वनको पक्ष के छ?

    आजसम्म ४० वटा कानुनको मस्यौदा तयार भइसक्यो। आवश्यक कानुन निर्माण भइसकेका छन्। बाँकी ३० वटा कानुन राजपत्रमा प्रकाशन गर्नु पर्ने भएकाले छापाखानामा पठाएका छौँ। 

    मुगुका दुई स्थानीय तहले मदिरा निषेधित क्षेत्र घोषणा गरिसके। तपाईँहरूको पनि त्यस्तो योजना छ कि?

    हामी त्यस्तो तयारीमा छैनौँ। यहाँ बौद्ध धमावलम्बीको बाक्लो बसोबास छ। बौद्ध धर्मले कुनै पनि शुभकार्य, विवाह, पूजापाठ जाँडरक्सीको प्रयोग अनिवार्य जस्तै मानेको छ। अशुभ कार्यमा पनि जाँडरक्सी चढाउनुपर्ने हुन्छ। त्यसैले यो गाउँपालिकामा मदिरा निषेध गर्न सकिँदैन। तर चीनबाट आउने अवैध मदिरामा रोक लगाउन तथा उत्शृंखल काम जो कोहीलाई कारबाही गर्न गाउँपालिका कटिबद्ध छ।

    मुगुम कार्मरोंग गाउँपालिका समृद्ध बनाउने आधार के छन् तपाईँसँग?

    गाउँपालिकालाई समृद्ध बनाउने आधार थुप्रै छन्। पहिलो गाउँपालिकाको जनसङ्ख्या कम छ। तिब्बत जोड्ने गमगढी नाक्चा लाग्ने हाम्रै गाउँपालिका हुँदै जान्छ। सबैभन्दा बढी जडीबुटी यहीँ पाइन्छ। पर्यटकीय सुन्दरता बोकेका कान्जीरोवा हिमाल, कोइकी हिमाललगायत थ्रुपै हिमाल छन्। डोल्फु तामखानी पनि यहीँ छ। 

    काम गर्दाका चुनौती चाहिँ के के छन्?

    चुनौती र अवसर उस्तै छन्। मुख्य चुनौती त कर्मचारी नहुनु नै हो। भौगोलिक विकटता छ। ३ वटा वडामा मात्र सचिव छन्।  स्वास्थ्यकर्मी दरबन्दी अनुसार छैनन्। बजेट कम छ। 

    चालू आर्थिक वर्षमा कुन क्षेत्रका विकासलाई प्राथमिकतामा राख्नु भएको छ?

    हुम्लाको नाम्खा गाउँपालिका पछि क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो गाउँपालिका हाम्रो हो। जम्मा बजेट ६ करोड रुपैयाँ मात्र छ। अपेक्षित विकास गर्न सम्भव देखिँदैन। तिब्बत जोड्ने नाग्चा लाग्न सडकमा नेपाल सरकारले प्राथमिकता दिएन। हामीले त्यो सडकको लागि ६६ लाख रकम छुटाएका छौँ। गाउँपालिका र वडा कार्यालय भवनलाई पनि प्राथमिकतामा राखेका छौँ। विद्युतमा लगानीको विशेष योजना बनाएका छौँ।

नन्दबहादुर रोकाया

रोकाया थाहा खबरका लागि मुगु संवाददाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]